७ वैशाख २०८१ शुक्रबार
समाज

गुण्डा नाइके समीरमानलाई  मुस्ताङ लगियो, सुरक्षाबारे परिवार त्रसित

पोखरा- नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई नख्खु कारागार ब्लक ए बाट रातारात मुस्ताङ कारागार पठाईएको छ। गतवर्ष असोज २३ गते व्यवसायी गौचनको हत्या भएको थियो भने केन्द्रिय अनुसन्धान व्युरोले बस्नेतलाई मंसिर १६ गते पक्राउ गरेको थियो।

कारागार स्रोतका अनुसार चालचलन शंकास्पद देखिएकोले बस्नेतलाई मुस्ताङ पठाईएको हो। सोमबार बिहान सवा १० बजेको बुद्ध एयरको जहाजबाट बस्नेतलाई पोखरा ल्याईएको थियो। हत्कडी लगाएको उनको हात खैरो रङको ज्याकेटले छोपिएको थियो भने विमानमा बस्नेतसँग नेपाल प्रहरी पनि साथमै आएका थिए। पोखरा विमानस्थलबाट उनलाई पोखरा–बेनी–कोराला सडकमार्गबाट मुस्ताङ लगिएको छ। उनलाई मुस्ताङसम्म नै कास्की प्रहरीले सुरक्षा दिने जिम्मा लिएको छ।

‘काठमाण्डौले दिन नसकेको सुरक्षा मुस्ताङले कसरी देला, केही सम्बन्ध नै नभएको ठाउँमा किन सरुवा गरियो, चालचलन शंकास्पद देखिए गोलघर सार्नुपर्नेमा हिमालपारि किन पुर्याईयो?'

कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार कास्की प्रहरीले बस्नेतलाई मुस्ताङ पुराएर मात्र फर्कनेछन्। सुरक्षाको जिम्मा पाएको कास्की प्रहरीले पनि घटनाबारे (मुस्ताङ लैजानेबारे) सोमबार बिहानमात्रै थाहा पाएको थियो।

व्यक्तिसँग हामीलाई सरोकार छैन्ः प्रजिअ

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले व्यक्तिसँग भन्दा पनि सुरक्षासँग आफ्नो सरोकार रहेको बताए। ‘विभागबाट कैदी सरुवा गर्नुपर्ने भएको हुँदा सुरक्षाको लागि जानकारी आएको थियो, कैदी को हो, के हो हामीलाई थाहा छैन्, यो बेलाबेलामा भईरहन्छ,’ उनले भने। समीरमानसिंह बस्नेतको अपराधभन्दा पनि उसलाई सुरक्षित रुपमा तोकिएको ठाउँमा पुर्याउनको लागि प्रहरीलाई निर्देशन दिएको बुढाले बताए। कास्की प्रहरी आफै पनि जान सक्छ, अन्यथा जिल्ला सीमानाबाट अर्को जिल्लालाई जिम्मा पनि दिन सक्ने उनले बताए।

परिवार त्रसित

बस्नेतलाई रातारात मुस्ताङ सार्ने खबर पाएपछि उनकी श्रीमती माया शेरचन राती १ बजे नै पोखरा आईपुगिन्। उनले आईतबार साँझ मात्र बस्नेतलाई सार्ने खबर पाएकी थिईन्। खबर कसले दियो भन्ने विषयमा भने उनले केही बताईनन्। ‘काठमाण्डौले दिन नसकेको सुरक्षा मुस्ताङले कसरी देला, केही सम्बन्ध नै नभएको ठाउँमा किन सरुवा गरियो, चालचलन शंकास्पद देखिए गोलघर सार्नुपर्नेमा हिमालपारि किन पु¥याईयो, घरमा दुईवटा साना बच्चा छन्, तीनिहरुलाई रातमा घरमै छाडेर यहाँ आएँ,’ उनले थपिन्, ‘केही अन्यथा नहोस भनेर नै म पोखरा आएकी हुँ, कैद प्रमाणित भए सो अनुसारको सजाय दिईयोस्, अन्यथा यसरी सारिँदा म आफै त्रसित भएँ, म पनि सँगसँगै मुस्ताङ जान्छु ।’

प्रहरीले केही बहाना बनाएर जे पनि गर्न सक्ने भन्दै मुस्ताङ नै हिँडेको पत्नी शेरचनले प्रष्टिकरण दिईन्। बस्नेतलाई ना १ झ १४२८ नम्बरको नीलो भ्यानमा मुस्ताङ लगिएको छ। उक्त गाडीमा नेपाल प्रहरी भने लेखिएको छैन् । शेरचनसँगै बस्नेतका भाई पर्ने श्याम शर्मासहित ६ जना अर्को गाडीमा मुस्ताङ गएका छन्। 

नख्खु कारागारमा शंकास्पद चालचलन देखाएको भनेर हिमालपारिको जिल्ला मुस्ताङमा पठाउँदा त्यसले जिल्लाको सुरक्षा निकायमाथि चुनौती थपिदिएको जिल्लास्थित सुरक्षा निकायको भनाई छ । ‘निकै नै कमजोर अवस्थाको यहाँ कारागार छ । ‘भीआईपी’ को रुपमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई काठमाठौंमा चुनौती थपियो भनेर मुस्ताङ पठाइएको छ,’ एकजना वरिष्ठ सुरक्षा अधिकारीले भने, ‘जवकी मुस्ताङ कारागारबारे कसैले चाँसो लिएको छैन । कारागारको अवस्थै नबुझि एकाएक बस्नेतलाई पठाइएको छ ।’ 

ती सुरक्षा अधिकारीका अनुसार निकै नै जिर्ण बनेको कारागारमा माटोको पर्खालभित्रको सामान्य कोठा छन्। जहाँ अहिले पनि अप्ठेरो अवस्थामा कैदिले कैद भुक्तान गरिरहेका छन्। 

मुस्ताङ कारागारमा अहिले कर्तव्य ज्यानका २, जर्बजस्ती करणी उद्योगको १, जर्बजस्ती करणीका ३, गौ वध (गाई मारेको) २ जनाले त्यहाँ कैद भुक्तान गरिरहेका छन् । मुस्ताङ कारागारका जेलर अवदेश आचार्यका अनुुसार कारागारको क्षमता बढीमा ८–९ जनाकै हो। अहिले ९ जना त्यहाँ छन् । कैदीका लागि रात कटाउने र दिउँसो बस्ने भिन्दाभिन्दै ठाउँ छन्। अहिले पुरुष कैदीको सुरक्षार्थ ६ र महिलाको सुरक्षार्थ २ जना गरि ८ जना सुरक्षाकर्मी कारागारमा खटिन्छन् । त्यसको नेतृत्व एकजना असईले गरेका छन् । 

 

प्रकाशित: १५ आश्विन २०७५ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App