२६ असार २०७७ शुक्रबार
समाज

जोखिममा परिवार टुटेका बालिका

काठमाडौं - कञ्चनपुर र कास्कीमा बलात्कारपछि हत्या गरिएका क्रमशः १३ र १० वर्षीया बालिकाको पारिवारिक पृष्ठभूमि केही समान देखिन्छ । त्यो समानता हो– दुवै घटनाका पीडितको विशृंखलित परिवार।

दुवै परिवारका आमा पतिबाट अलग्गिएको अवस्था थियो । दुवैका आमाले दुःखजिलो गरी सन्तान पालनपोषण गर्दै आएका थिए। कास्कीमा बलात्कृत बालिका आमा र दिदीसँगै मामाघर बस्दै आएकी थिइन् । बाबुले अर्की श्रीमती ल्याएपछि उनकी आमा माइत बसेकी थिइन्। कञ्चनपुरमा हत्या गरिएकी निर्मलाका बाबु पनि अर्कै पत्नी ल्याएर अलग्गिएर बसेका थिए । पहिलो पत्नीसँग सम्बन्ध बिग्रिएपछि अर्की पत्नीका साथ भारत बस्दै आएका उनी घटनापछि मात्र नेपाल फर्किएका थिए । यी दुई घटनाले संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला सबैभन्दा बढी बलात्कारको जोखिममा रहेको देखाएको छ।

पीडकले संकटमा परेका र कमजोर परिवारका कलिला बालिका र किशोरीलाई बलात्कारको निशाना बनाएको पाइन्छ। समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्री अपराधीले कमजोरमाथि निशाना लगाइरहने हुँदा पारिवारिक एकता कमजोर भएकाहरु बलात्कारको जोखिममा पर्ने सम्भावना बढी हुने तर्क गर्छिन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री सुरक्षाको अनौपचारिक एकाइका रुपमा रहेका परिवार, अभिभावक, समाजमा संकटमा परेकाहरु बलात्कारको जोखिममा परेको बताउँछन्। उनी भन्छन्, ‘अपराधीले जहिले पनि कमजोरमाथि निशाना लगाउँछ ।’

‘अविवाहित पुरुषको तुलनामा विवाहित पुरुष बलात्कारका घटनामा बढी संलग्न हुनु थप अध्ययनको विषय हो । यस आधारमा यौनप्यासभन्दा पनि आपराधिक मानसिकतालाई पनि बलात्कारको कारण बुझ्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा भएका १४ सय ८० बलात्कार घटनामा आधाभन्दा बढी पीडित १८ वर्षमुनिका बालिका रहेको प्रहरी तथ्यांक छ। तथ्यांकले १८ वर्षमाथिका महिला पनि बढी जोखिममा रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार बलात्कारपछि हत्या भएका घटनामा पीडित र पीडकबीच चिनजान भएको देखिन्छ। घटना बाहिर आई कारबाहीको भागिदार बन्नुपर्ने अवस्थाबाट जोगिन पीडकले हत्या गरेको तथ्य छ।

बलात्कृत हुनेमा अधिकांश अविवाहित रहेको तथ्यले देखाउँछ। बलात्कारीले कम उमेरकालाई बढी निसाना बनाएका छन्। कम उमेरका बालिकालाई चाँडै लोभलालचमा पार्न सकिने भएकाले पनि बलात्कारीले उनीहरूलाई निसाना बनाएका हुन्। समाजशास्त्री क्षेत्री भन्छिन्,‘सहजै लोभ्याउन सकिने, प्रतिकार गर्ने सम्भावना कम हुने र डराउने भएकाले कम उमेरकालाई बलात्कारीले निसाना बनाउँछन्।’ कास्कीमा बालिका बलात्कार घटनामा पनि चकलेट देखाएर लोभ्याएको बयान पीडकले दिएका छन्। प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार पनि लालचमा सजिलै पर्ने र तत्काल प्रतिकार गर्न नसक्ने भएकाले बालिका सिानामा पर्ने खतरा रहन्छ।

विपन्न आर्थिक अवस्थाको पारिवारिक पृष्ठभूमिका बालिका र महिला बलात्कारको जोखिममा परेका छन्। प्रहरी तथ्यांकले कृषि तथा मजदुरीमा संलग्न अभिभावकका बालिका पनि जोखिममा रहेको देखाएको छ। यस्तो परिवारका अभिभावकले हत्तपत्ति उजुरी नगर्ने भएकाले पनि उनीहरूका नानी बढी बलात्कारको जोखिममा रहन्छन्।

बलात्कार घटना सबैभन्दा बढी तराईमा भएको देखिन्छ। तराईपछि क्रमशः पहाड र हिमाली क्षेत्रमा बलात्कारका घटना दर्ता भएको प्रहरी तथ्यांक छ। प्रदेशगत आधारमा सबैभन्दा बढी बलात्कारका घटना संघीय राजधानीसमेत रहेको प्रदेश ३ मा भएको तथ्यांक छ।

त्यस्तै गर्मी मौसममा बलात्कार घटना बढी भएको तथ्यांकले देखाएको छ। जाडो मौसमको तुलनामा गर्मीमा बलात्कार घटना बढी हुनुमा पहिरन, खानपान, फुर्सद बढी भई नकारात्मक सोच पैदा हुने कारण पनि हो। गर्मीमा बढी मादक पदार्थ सेवन हुने तथ्यांक छ। मादक पदार्थ पनि बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाको कारक बनेको छ। मौसम र खानपानको सन्दर्भ यहाँ मिल्न जान्छ। कास्कीमा १० वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेकाले मादक पदार्थ सेवन गरेको तथ्य फेलापरेको छ।

बारगत आधारमा हेर्दा सबैभन्दा बढी बलात्कार शुक्रबार र शनिबार हुने गरेको देखिएको छ। तथ्यांक केलाउँदा शुक्रबार र शनिबार बलात्कार घटना बढी हुनुमा खानपान र मनोरञ्जन केन्द्रित हुनु देखिएको छ। अन्य दिन मानिस काममा व्यस्त हुने कारण पनि बलात्कारका घटना कम भएको तर्क छ।

सबैभन्दा बढी साँझपख बलात्कारका घटना भएको देखिन्छ । तथ्यांकले साँझ छ देखि मध्यरात १२ बजेभित्र बलात्कारका घटना बढी भएको देखाएको छ। रातको समय महिला र बालिका बलात्कारीको निसानामा परेका छन्। खुला या बन्द कोठामा बढी बलात्कार भएको देखिन्छ । खेतबारी, बाटोघाटोको छेउ, वनजंगल वा एकान्त स्थानमा बालिका बालात्कृत भएका छन्। विद्यालय गएर फर्कंदा एकान्त स्थानमा बालिका बलात्कृत भएको घटनासमेत छन्। बलात्कार कसुरमा नख्खु कारागारमा रहेका एकजनाले स्कुलबाट घर फर्किइरहेकी बालिकालाई डरधम्की देखाएर बलात्कार गरेको बताए।

बलात्कारका घटनामा पीडितभन्दा पीडक ठिक उल्टो सामाजिक र आर्थिक पृष्ठभूमिका देखिएका छन्। प्रहरी तथ्यांक केलाउँदा बलात्कारी अधिकांश १८ वर्षभन्दा माथिको उमेरका छन्। अधिकांश पीडक विवाहित देखिएका छन् भने अधिकांश पीडित अविवाहित भएको तथ्यांक छ । विवाहित पुरुष नै बढी मात्रामा बलात्कारमा संलग्न भएको पाइनुले बलात्कार यौन भोकका कारण मात्र हुन्छ भन्ने तर्क फिक्का देखिन्छ। प्रहरी प्रवक्ता क्षेत्री भन्छन्, ‘अविवाहित पुरुषको तुलनामा विवाहित पुरुष बलात्कारका घटनामा बढी संलग्न हुनु थप अध्ययनको विषय हो ।’ यस आधारमा यौनप्यासभन्दा पनि आपराधिक मानसिकताकालाई बलात्कारको कारण बुझ्न सकिन्छ। तर, समाजशास्त्री क्षेत्री भने दम्पती भेट पातलिँदै जानु र रोजगारीका सिलसिलामा विदेसिएर टाढिनुले पनि यौन प्यास मेटाउन विवाहित पुरुषले बलात्कार गर्न सक्ने औल्याउँछिन्। उनी भन्छिन्, ‘दम्पतीबीचको दुरीले पनि बलात्कारको घटनामा विवाहित पुरुषको संलग्नता बढ्न सक्छ।’

अधिकांश बलात्कारका घटना परिचित मानिसबाट भएको देखिन्छ। प्रहरी तथ्यांकले गत आर्थिक वर्षमा भएका कुल बलात्कारका घटनाको अनुसन्धानबाट ६२ प्रतिशत परिचित पुरुषबाट भएको देखाएको छ। सबै जानेबुझेको व्यक्तिले जोखिम कम हुने देखेर यस्तो गरेको देखिन्छ। आपराधिक मनोवृत्तिको चिनेजानेको व्यक्तिले सबै जानकारी पाउने हुँदा बालिका वा महिलालाई निसाना बनाउने दुष्कार्य गर्न सक्ने क्षेत्री बताउँछिन्।

कतिपय घटनामा साथी वा साथीको परिवारका सदस्य, नातागोता मात्र नभई परिवारका सदस्यबाट समेत बलात्कार भएको तथ्यांकले देखाएको छ। परिवारका सदस्यबाट बलात्कृत हुनेमा कमजोर आर्थिक अवस्था भएका वा परिवारमा कलह भएका बालिका वा किशोरी भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

विकाससँगै रोपिएको विष
समाज जति भौतिक विकासतर्फ बढ्छ उति नै आपराधिक घटना बढ्छन्। भौतिक विकासको चुली चुमेका न्युयोर्क, लन्डन, मुम्बई जस्ता सहरमा बलात्कार सबैभन्दा चुनौती बनेर तेर्सिएको छ। अमेरिकाको औद्योगिक नगरी न्युयोर्क विश्वमा सबैभन्दा बढी अपराध हुनेमध्येमा पर्छ । न्युयोर्क सहरमा सन् २०१८ को मेमा मात्र एक सय ८१ बलात्कारका घटना दर्ता भएको तथ्यांक छ, जुन १६ वर्षयताकै सबैभन्दा बढी हो। मुम्बई प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६ मा ७१२ र सन् २०१७ मा ७५२ बलात्कारको घटना दर्ता भएका छन्। बलात्कृतमध्ये ६० प्रतिशत कम उमेर समूहका छन्।

भौतिक विकासले बलात्कार जस्ता गम्भीर अपराध बढाएको विकसित देशहरुको अपराध तथ्यांकले प्रष्ट पार्छ । नेपालको सन्दर्भमा पनि सबैभन्दा बढी बलात्कारका उजुरी काठमाडौं उपत्यकामा पर्ने गरेको तथ्यांक छ। विकासले भौतिक सुख दिइरहँदा बलात्कार जस्तो गम्भीर अपराध पनि निम्त्याएको छ । सहरी समाजमा जतिसुकै सुरक्षा निकायको निगरानी भए पनि पीडक लुक्न र लुकाउन सजिलो हुने भएकाले बलात्कार जस्ता घटना पनि बढी भएका छन्। विकासले विलासितामा वृद्धिसँगै अपराधको विष पनि फिजाएको छ। भौतिक विकासको चुलीमा पुग्दै गरेको चीनमा अन्य अपराध तुलनामा बलात्कारका घटना पाँच गुणा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ। भारतमा निर्भया बलात्कार र हत्याकाण्डले त्यहाँको सहरी समाजको भयावह चरित्र बाहिर ल्यायो।

कानुन दुरुपयोग
बलात्कार घटनामा वास्तविक पीडितले कमैमात्र उजुरी गर्छन्। कतिपय घटना पीडितको हत्या वा गम्भीर घाइते भएपछि मात्र सार्वजनिक हुने गरेका छन् । पछिल्लो समय बलात्कारपछि हत्या गरिएका घटना सार्वजनिक भएका धेरै छन्, जसले चर्चा पन पाएका छन्। तर, छिद्र प्रयोग गरी बलात्कारीविरुद्धको कानुन दुरुपयोग समेत भइरहेको छ । फौजदारी कानुनका ज्ञाता प्राध्यापक रञ्जितभक्त प्रधानांगा बलात्कारीविरुद्धको कानुन दुरुपयोग गरी फाइदा लिने घटनासमेत बढेको तर्क गर्छन्। उनी भन्छन्, ‘कुन प्रयोगशालाको रिपोर्ट मान्य हुने र नहुने भन्नेसमेत विवादास्पद बनेको छ ।’ कारागारमा कतिपय निर्दोषहरु बलात्कारको अभियोगमा सजाय काटिरहेका छन्। प्रेम सम्बन्धमा खटपट भएपछि प्रेमिकाले प्रेमीलाई जेल हाल्ने अस्त्रका रुपमा बलात्कारको आरोप लगाउने गरेको पनि पाइएको छ।

महिला हिंसाबारे अनुसन्धान गर्दै आएकी सुजाता गोथोस्कारले ‘बलात्कारको राजनीति’ शीर्षकको लेखमा भनेजस्तै बलात्कार महिलालाई त्रसित र कमजोर बनाउने अस्त्र बनेको छ। त्रसित र कमजोरमाथि नै बलात्कार बढी हुने गरेको छ। समाजमा जो बोल्न डराउँछ उसको मुख थुनिएको छ र उसैलाई बलात्कारको सिकार बनाइएको छ। विशेषगरी अभिभावकबीचको फाटोको फाइदा अपराधीहरुले लिइरहेका छन्। यसप्रति हरेक घरपरिवारले गम्भीरता देखाउन जरुरी छ।

परिवारको आन्तरिक एकता र आमाबाबुबीचको मेल र प्रेमले बालबालिकामाथिको जोखिम न्यून बनाउन सक्छ। बलात्कार जस्तो गम्भीर अपराधविरुद्धको पहिलो शक्ति नै परिवार हो। यस्ता घटनाविरुद्ध तत्काल आवाज उठाउन जरुरी छ। आवाज उठाउन परिवार र समाजको साथ पीडितलाई मिल्नुपर्छ। समाजशास्त्री डा. क्षेत्री बलात्कार रोक्न समाजका औपचारिक र अनौपचारिक सुरक्षाका एकाइ सबै उत्तिकै दायित्व भएको बताउँछिन्।

प्रकाशित: १३ आश्विन २०७५ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App