६ वैशाख २०८१ बिहीबार
समाज

घरमै असुरक्षित बालिका

इलाम - देउमाई नगरपालिकाकी १३ वर्षीया बालिकालाई घरज्वाइँ बसेकै फुपाजुसमेतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको उजुरी शुक्रबार जिल्ला प्रहरी कार्यालय इलाममा प-यो। आफ्नी नातिनीमाथि फुपाजुसहित ११ जनाले विभिन्न समयमा बलात्कार गरेको भन्दै हजुरबुबाले उजुरी दिएपछि प्रहरीले नौजनालाई पक्राउ गरेको छ। आठ महिनाको गर्भ बोकेकी ती बालिका सुरक्षा खोज्दै सदरमुकाम आएकी छन्। बलात्कार आरोपमा पक्राउ परेका पुरुष १९ देखि ६० वर्षसम्मका छन्। आठ महिनाको गर्भपतन गराउन नमिल्ने भएकाले उनलाई सुरक्षित प्रसूति गराउनुपर्ने बाध्यता आइलागेको प्रहरीले जनाएको छ।

गत जेठमा इलाम नगरपालिका–९ का ३० वर्षे सूर्यमान बस्नेत आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परे। बस्नेतले ११ वर्षीया छोरीमाथि गरेको कुकृत्य लुकाउन अर्की ६ वर्षीया छोरीलाई निर्घात कुटपिट गरी गम्भीर घाइतेसमेत बनाए। बस्नेत अहिले पुर्पक्ष थुनामा छन्। आर्थिक रूपले ज्यादै दयनीय परिवारका दुवै दिदीबहिनीलाई माइती नेपालले उद्धार गरी काठमाडौं लगेको छ। ‘घरमा बस्ने वातावरण नभएपछि दुवै छोरीलाई पढाउने जिम्मेवारी माइती नेपालले लिएको छ,’ पहिला बालिकाले पढ्ने गरेको पोखरी आधारभूत विद्यालयका एक शिक्षकले भने।

त्यस्तै बलात्कारका कारण ६ महिनाको गर्भ बोकेकी सूर्याेदय नगरपालिकाकी १४ वर्षीया बालिका जेठमै महिला तथा बालबालिका कार्यालयको शरणमा पुगिन्। उनको किटानी उजुरीपछि प्रहरीले पक्राउ गरेका चार पुरुषमा उनका हजुरबुबादेखि दाजु–भाइसमेत छन्। पीडितकी आमाले छोरीलाई उनकै मामा, हजुरबुबा, काका–बडाबाका छोरालगायतले पटकपटक बलात्कार गरी गर्भवती बनाएको बयान दिइन्। केही समय इलाम सदरमुकामस्थित आकस्मिक उद्धार गृहमा बसेकी ती बालिकाको गर्भपतन गराइयो। भदौ ९ गते ती बालिकालाई काठमाडौंस्थित रक्षा नेपालले लगेको छ।

बालिकाहरू घरपरिवारका सदस्यबाटै बलात्कृत भएका घटना पछिल्लो समय बढ्दै गएका छन्। बुबा, हजुरबुबा, दाजुभाइ, छिमेकी, मामा, फुपाजुलगायतबाट बालिका बलात्कृत भइरहेका छन्। आर्थिक अभाव र चेतनास्तर निम्न भएका परिवारका बालिका परिवारकै सदस्यबाट बलात्कृत भएको प्रहरीमा परेको उजुरीबाट देखिन्छ । प्रहरी तथ्यांकअनुसार शिक्षा र चेतनाका दृष्टिले अन्यभन्दा अघि रहेको इलामका बालिका घरपरिवारकै पुरुषबाट सुरक्षित देखिँदैनन्। बालिकालाई फकाएर, धम्क्याएर र सहमतिमै करणी गर्नु पनि बलात्कार नै हो भन्ने चेतना नहुँदा यो समस्या झन्–झन् गम्भीर बन्दै गएको जानकार बताउँछन् । जो आफू पीडित भएको आवाज उठाउन सक्दैन, अन्याय र अपराध भएको थाहा पाउँदैनन्, त्यसैको फाइदा अरूले उठाउने गरेको अधिकारकर्मी बताउँछन्। जबसम्म समाजमा चेतनाको विकास हुँदैन तबसम्म यस्ता घटना बढेर जाने उनीहरूको भनाइ छ।

जिल्ला सहन्यायाधिवक्ता ऋद्धि निरौला कानुनी उपचारले मात्रै बलात्कारका घटना नियन्त्रण नहुने बताउँछन्। ‘१८ वर्षमुनिका किशोरीलाई सहमतिमै यौनसम्पर्क गर्नु पनि अपराध हो। सहमतिमा भए पनि यो बलात्कार नै हो भन्ने नबुझ्दा जिल्लामा यस्ता घटना बढिरहेका छन्, त्यो पनि घरपरिवारकै पुरुषबाट,’ उनले भने, ‘घटना भइसकेपछि पीडकलाई कानुनी कारबाही गरेर मात्र यस्तो घटना नियन्त्रण हुँदैन।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकले इलाममा बालिका बलात्कारका घटना बर्सेनि बढेको देखाउँछ। सन् २०१७ मा १८ बालिका र आठ महिला बलात्कृत भएकोमा त्यसयता यो संख्या बढिरहेको छ। नेपाल प्रहरी प्रदेश एकाइ कार्यालयअन्तर्गत (साबिक मेची अञ्चल) का अपराध तथ्यांकमा पनि बालिका बलात्कार संख्या नै धेरै छ । बालिकालाई बलात्कार गर्ने बालकको संख्या पनि बढ्दै गएको निरौला बताउँछन्। ‘यस्ता घटनामा अपराध गर्ने बालक यति छन् कि विराटनगरस्थित बाल सुधारगृहमा उनीहरू अटाउन सकेका छैनन्,’ निरौलाले भने, ‘बाल सुधारगृहले राख्ने ठाउँ नभएर पीडक भनिएका बालकलाई अब नपठाउन अदालतलाई पत्राचार गरेको छ।’

परिवारकै सदस्यबाट बलात्कृत भएर पनि बाहिर आउन नसकेका घटना गाउँघरमा धेरै हुनसक्ने उनले बताए।

बालिका बलात्कारका घटना संख्या बढ्न थालेपछि जिल्लाका सरकारी तथा गैरसरकारी निकायले एक महिने चेतनामूलक अभियान थालेका छन्। जिल्ला प्रशासन, प्रहरीलगायत कार्यालयसहित गैरसरकारी संघसंस्थाले १० वटै स्थानीय तहसम्म गएर बालिका बलात्कारविरुद्ध चेतना फैलाउन थालेका छन्। जिल्ला बालकल्याण समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले यस्ता अपराधका घटना हुन नदिन चेतनामूलक अभियान थालेको बताए। ‘बालिका आफन्त र परिवारकै सदस्यबाट बलात्कृत हुनु ज्यादै संवेदनशील हो,’ उनले भने, ‘कहिले पीडकमा कानुनी ज्ञान नहुँदा र कहिले बालिका तथा परिवारमा चेतना नहुँदा बलात्कारका घटना बढेको पाइन्छ।’ उनले सबै स्थानीय तहसँग समन्वय गरेर बलात्कारविरुद्ध चेतना जगाउनुपर्ने बताए।

प्रकाशित: ६ आश्विन २०७५ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App