१५ चैत्र २०८० बिहीबार
समाज

कुटिएको ८ वर्षपछि होस खुल्दा...!

कुटपिटबाट बेहोस भई आठ वर्षपछि होसमा आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका कर्ण राई। तस्बिर : नागरिक

खोटाङ – आठ वर्षअघि खोटाङ बाम्राङका कर्ण राई कुटपिटबाट बेहोस बनेको अवस्थामा फेला परे। हालको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको आहालडाँडामा २०६७ साल असार ८ गते बिहान मरणासन्न अवस्थामा फेला परेका राईलाई तत्काल हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगियो तर गम्भीर अवस्थाका उनको होस नखुल्दा कुटपिटमा संलग्न दोषीको पहिचान हुन सकेन। फलस्वरुप राई परिवारले किटानी जाहेरी दिन सकेन। घाइतेको होस खुलेपछि मात्र कुटपिटमा संलग्न दोषीको पहिचान हुने अवस्था भएपछि परिवार उनको होस खुल्ने प्रतीक्षामा बस्यो। नभन्दै प्रतीक्षा सार्थकमात्र भएन, दोषीसमेत कारबाहीको दायरामा आउने वातावरण बन्यो। कुटिएको आठ वर्षपछि राईको होस खुल्यो अनि कुटपिटमा संलग्नको पनि पहिचान खुलेको उनका भतिज युगसन किरातले बताए।

२०७६ साल असार ७ गते राति राईलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने गोपीकृष्ण बस्नेत र कुमार भनिने रामकुमार थापा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेपछि प्रहरीले उनीहरुमाथि कारबाही अघि बढाइसकेको छ। होस खुलेपछि राईले कुटपिट गर्ने व्यक्तिबारे बताएका थिए। त्यसलगत्तै गत साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो। पीडितले उपचारका क्रममा खर्च भएको १५ लाख रुपैयाँ बिगो भराउन समेत माग गरेको प्रहरीले जनाएको छ।

‘घाइतेको होस खुलेको थिएन, त्यसले गर्दा कसले कुटपिट ग-यो भन्ने थाहा पाउने कुरै भएन’, किरातले भने, ‘होस खुलेपछि मात्र राईले कुटपिट गर्ने मान्छेको नाम भनेपछि दोषीका बारेमा हामीलाई थाहा भएको हो।’

गाउँकै सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष रहेका राई काम विशेषले सदरमुकाम दिक्तेल आएका थिए। काम सकेर फर्कने क्रममा सँगै मदिरा सेवन गरेका साथीले उनलाई कुटपिट गरेको खुलेको आफन्तको भनाइ छ । दुईजनाले लात्ती, मुड्की र ढुंगाले टाउकोमा प्रहार गरेर राईलाई बेहोस बनाएको पीडित परिवारको भनाइ छ। घटनास्थलमा भेटिएको टोपीका आधारमा थापालाई उति बेलै प्रहरीले ३५ दिन थुनामा राखेर छाडेको थियो।

आफन्तका अनुसार राईलाई काठमाडाैंस्थित मोडेल अस्पतालमा २२ दिनसम्म आइसियुमा राखिएको थियो । उपचारका लागि उनलाई तीन महिनासम्म अस्पतालमै राखिएको थियो। घाउ निको भए पनि मनपरी चल्ने, हिँड्ने र बेठेगान बोल्न नछाडेपछि उनलाई अस्पतालमा डोरीले बाँधेर राखिएको थियो। पूर्णरुपमा होस खुल्न समय लाग्ने बताइएपछि स्वास्थ्यकर्मीकै परामर्शमा उनलाई घर ल्याइएको थियो। राईको शारीरिक अवस्थामा अझै पनि पूर्णरुपमा सुधार आउन सकेको छैन । उनको दाहिने हातका औंलाले अझै काम गर्दैन।

राईले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका बस्नेत ५ लाख धरौटीमा छुटेका छन् भने थापा पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

प्रकाशित: ५ आश्विन २०७५ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App