८ वैशाख २०८१ शनिबार
समाज

बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

महोत्तरी जिल्ला अदालत ।   तस्बिरः महेशकुमार/नागरिक

महोत्तरी – साबिकको सुन्दरपुर र हाल सोनमागाउँपालिका घर भएकी १४ वर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँचजनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ।

सुन्दरपुरकी १४ वर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका साबिकको सुन्दरपुरका रामजीवन राउत, गौरीशंकर राउत, दशरथ राउत, रामश्रेष्ठ महतो र नवीन महतोलाई महोत्तरी जिल्ला अदालतले अभियोगपत्रमा दाबी गरेअनुरूप सबुत प्रमाण नभेटिएको भन्दै सफाइ दिएको हो।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश दण्डपाणि शर्माको इजलासले अभियोग दाबीअनुरूप सबुत प्रमाणको अभावका कारण पाँचैजनालाई सफाइ दिएको अदालतका निमित्त श्रेस्तेदार महेन्द्र झाले बताए । अदालतबाट सफाइ पाएपछि घटना भएलगत्तै पक्राउ परी पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका अभियुक्तमध्येका रामजीवन पनि रिहा भएको निमित्त श्रेस्तेदार झाले जानकारी दिए।

२०७२ भदौ १२ गतेका दिन घरबाट एक किलोमिटर पर रहेको खलिहान(खलो)मा दाउरा लिन गएकी सबिता अपहरणमा परेकी थिइन् । उनी घर नफर्केपछि आफन्तले उनको खोजी गर्दै जाँदा खलिहानको बाटोमा भेटिएका रामबाबु राय यादवलाई सोध्दा केही व्यक्तिले किशोरीलाई उखुबारीतर्फ बलजफ्ती लगेको बताएका थिए । उखुबारीमा खोजतलास गरे पनि उनी भेटिएकी थिइनन् । खोजी भइरहेकै बेला २०७२ भदौ १४ गते बिहान गाउँकै कुटीमा रहेको इनारमा हत्या गरी फालिएको अवस्थामा सबिताको शव फेला परेको थियो।

इनारबाट शव निकालेर हेर्दा मृतकसँग जबरजस्ती करणीपछि नाक, मुख र घाँटी थिचेर हत्या गरी इनारमा फालिएको देखिएको थियो । तत्कालै प्रहरीले किशोरीको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाई घटनामा संलग्न रहेको आरोपमा रामजीवनलाई पक्राउ गरेका थियो । मृतकका बुवा रामएकवाल राय यादवले साबिकको सुन्दरपुर ७ का अहिले सफाइ पाएकाहरूले नै अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेर इनारमा फालेको भन्दै किटानी जाहेरी दिएका थिए।

घटनालगत्तै पक्राउ परेका रामजीवनलाई तात्कालीन न्यायाधीश प्रकाश ढुंगानाको इजलासले २०७२ असोज ११ मा पुर्पक्षका लागि कारागारमा थुनेर राख्ने आदेश दिएको थियो भने फरार रहेका अन्य अभियुक्तलाई पक्राउ गर्न आदेश गरेको थियो।

अदालतको आदेशपछि २०७२ असोज २२ मा रामश्रेष्ठ अदालतमा हाजिर भएपछि उनलाई एक लाख धरौटी लिई जिल्ला अदालतले तारेखमा छाडेको थियो । यस्तै २०७२ कात्तिक २२ गते अदालतमा हाजिर भएका गौरीशंकर र नवीनकुमारलाई पनि एक–एक लाख धरौटीमा रिहा गरिएको थियो । २०७४ कात्तिक २९ गते अदालतमा हाजिर भएका सोही मुद्दाका अभियुक्त दशरथ राउतलाई पनि एक लाख धरौटीमा छाडिएको थियो।

सो घटनामा ५ जनाले अपहरण गरी लगेकोमा मुलुकी ऐन अपहरण तथा शरीर बन्धक १ नं. विपरीत ३ नं. कसुर अपराध ३ सजाय गरी सोहि दफाको ९ बमोजिम थप सजायसमेत गरी पाऊँ भनी सरकारी वकिलले अभियोग दाबी गरेको मिसिलमा उल्लेख छ।

यसैगरी प्रतिवादीमध्ये रामजीवनले सबिताको मुख थुनेको, नवीनले चुल्ठो समातेको र गौरीशंकरले खुट्टा समाएर उखुबारीमा लगेको तथा दशरथ र रामश्रेष्ठ उभिरहेकाले पाँचजनामध्ये रामजीवन, गौरीशंकर र नवीनलाई जबरजस्ती करणीको महल १ र ३ (३) नं. कसुर गरेकाले सोही महलको ३(३) नं. अनुसार र रामश्रेष्ठ र दशरथलाई मुलुकी ऐन जबरजस्ती करणी १, ४ कसुर अपराधमा सोही ऐनको ४ बमोजिम र ३ (क) बमोजिम सजाय गर्नुपर्ने र पाँचैजनालाई ज्यानतर्फ मुलुकी ऐनको महल १ नं. अनुसार १३(३) बमोजिम सजाय मागदाबी गरिएको थियो।

निमित्त श्रेस्तेदार झाका अनुसार महोत्तरी जिल्ला अदालतले सफाइ दिए पनि सरकारी पक्षले पुनरावेदन गर्नसक्ने र त्यसका लागि म्याद दिइएको बताए।

प्रकाशित: ३ आश्विन २०७५ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App