२९ असार २०७७ सोमबार
समाज

‘न्याय पाउनेमा पूरै विश्वास छैन’

उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तका आमा दुर्गादेवी र बुवा यज्ञराज काठमाडाैंमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेटर छोरीले न्याय पाउने झिनो आशाका साथ एक सातापछि घर फर्किएका छन् । पन्त दम्पती भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमा सोमबार साँझ आइपुगेका हुन्।

यज्ञराजले प्रधानमन्त्रीले जुनसुकै हालतमा पनि निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्ने आश्वासन दिएकाले न्याय पाउनेमा आशा जागेको बताए ।‘प्रधानमन्त्रीले निर्मलाको म पनि अभिभावक हुँ । दुई महिना भनेको धेरै ढिलो होइन, जसरी पनि दोषीलाई पत्ता लगाएरै छाड्छु भनेर हामीलाई आश्वासन दिनुभएको छ’, उनले भने, ‘प्रधानमन्त्रीको आश्वासनले अलि आशा जागेको छ।’

देशको प्रधानमन्त्रीले जसरी पनि दोषी पत्ता लगाएर न्याय दिलाउँछु भनेकाले छोरीले न्याय पाउने आशा बोकेर घर फर्केको उनी बताउँछन् । सुरुदेखि विश्वास टुटेकाले छोरीले न्याय पाउनेमा पूर्ण विश्वास भने हुन नसेको उनी बताउँछन्। ‘सुरुबाटै हाम्रो विश्वास टुटेको छ । देशको प्रधानमन्त्रीले भनिसकेपछि अलिक आशा त पलाएको छ तर अझै पनि छोरीले न्याय पाउनेमा पूरै विश्वस्त हुन सकेका छैनौं’, उनले भने । प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर आफ्ना व्यथा सुनाउन पाउँदा मन हलुको भएको उनीहरू बताउँछन्।

‘सुरुबाटै हाम्रो विश्वास टुटेको छ । देशको प्रधानमन्त्रीले भनिसकेपछि अलिक आशा त पलाएको छ तर अझै पनि छोरीले न्याय पाउनेमा पूरै विश्वस्त हुन सकेका छैनौं ।’ —यज्ञराज पन्त

प्रहरीले सुरुकै दिनमा छोरीलाई खोज्न सहयोग नगरेको, सुरुमा अनुसन्धान गर्नुको साटो उल्टै धम्की दिएको, प्रमाण नष्ट गरेको र न्यायका लागि प्रधानमन्त्रीलाई भेटन् आएको भनेर आफ्ना कुरा राखेको दुर्गादेवीले बताइन् । ‘अहिलेसम्म दोषी पत्ता लागेन र न्याय नपाएकाले न्याय माग्न तपार्इंकहाँ आएका हौं भनेर मैले प्रधानमन्त्रीलाई भनें’, उनले भनिन्, ‘प्रधानमन्त्रीले निर्मलाको अभिभावक म पनि हुँ, ढुक्क भएर घर फर्किनुहोस्, म दोषी पत्ता लगाएरै छोड्छु भन्ने आश्वासन दिएका छन्।’

उनलाई प्रधानमन्त्रीको आश्वासनले निर्मलाको हत्या गर्ने अपराधी पत्ता लागेर न्याय पाइला जस्तो पनि लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर छोरीको न्यायका लागि कुरा राख्ने धोको भने उनको अधुरै रह्यो । राष्ट्रपति महिला छिन् । छोरीको बलात्कारपछि हत्या भएको घटनाको न्याय नपाउँदा आमालाई कस्तो पीडा महसुस हुन्छ ? तपार्इं पनि छोरीकी आमा हो, छोरीको बलात्कारपछि हत्या भएको घटनामा न्याय दिलाइदिनुहोस् भनेर भन्ने मेरो चाहना थियो’, उनले भनिन, ‘हामीले भेट गर्ने मौका पाएनौं।

निर्मलाको हत्या भएको ५४ दिनसम्म हत्यारा पत्ता लागेको छैन । अनुसन्धानको उपलब्धि शून्य छ । सरकारले घटना अनुसन्धानका लागि एकपछि अर्को समिति गठन गर्दै गएको छ । निर्मला हत्याको अनुसन्धानका लागि अहिलेसम्म ८ वटा समिति बनेका छन्।

जिल्लामा सबैतिर धाउँदा र आन्दोलनमा घाँटी सुकाउँदा पनि न्याय पाउने आस मरेपछि पन्त दम्पती १८ घन्टाको बसयात्रा गरेर गत साता भदौ २६ गते काठमाडाैं पुगेका थिए । आठ दिनपछि सोमबार साँझ उनीहरू जहाजबाट धनगढी हुँदै महेन्द्रनगर फर्केका हुन् । ‘काठमाडाैंमा प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्यौं, हत्या गर्ने पत्ता लगाएर न्याय दिन्छौं भनेका छन् । खै अलिअलि आस पनि लागेको छ, पूरै विश्वास पनि छैन भनेर आमबुवाले हामीलाई भन्नुभयो’, जेठो छोरी मनीषाले नागरिकसँग भनिन् । बहिनीको हत्या गर्ने पत्ता नलागेसम्म मनको त्रास नहट्ने उनी बताउँछिन्।

प्रकाशित: ३ आश्विन २०७५ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App