१५ कार्तिक २०७७ शनिबार
समाज

स्वदेश फर्कने दिन कुर्दै भुटानी शरणार्थी

दमक - झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा हर्कजंग सुब्बा बस्न थालेको २७ वर्ष भइसक्यो। यस बीचमा उनले कैयौं कष्ट भोेगे, कति रात भोकभोकै बिताए। उमेरले ७० नाघिसके। परिवारमा अहिले दुई जना मात्र छन्– श्रीमान् र श्रीमती । छोराछोरी, नातिनातिना सबै अमेरिकामा छन्। आफ्ना परिवारका ८० जना अमेरिका पुगिसके । तर, उनलाई उताको मोह छैन। आफ्नो देश भुटान नै फर्कने दिन कुरेर बसिरहेका छन्। तर, भुटान फर्कन पाउने कहिले हो, कुनै टुंगो छैन।

उनले भुटान स्वतन्त्र जनमञ्च गठन गरेका छन्। त्यसमा उनीजस्तै भुटान फर्कन चहानेहरू सदस्य छन्। म पनि अमेरिका भासिएँ भने त आफ्नो घर फर्कने कहिले? उनी सोच्छन्– पारिवारका सदस्य अन्यत्र गए पनि म त भुटानै जान्छु । तर, उनले सोचेजस्तो भुटान फर्कन त्यति सहज भने छैन। भुटानबाट लखेटिएका सात हजार भुटानी नागरिक शिविरमा बस्छन् । तिनले अहिले राशनको सट्टा नगद पाउन थालेका छन् । ‘अब स्वदेश फर्कन चाहने शरणार्थी मात्रै शिविरमा छन्,’ सुब्बाले भने, ‘अरू त भविष्य बनाउन तेस्रो मुलुक भासिए।’

‘परिवारका सबैजसो सदस्य अमेरिका गए, तर म भुटानमै मर्ने हो भनेर गइनँ। अब त भुटान नपुगी यतै मरिन्छ जस्तो छ।’

शरणार्थी शिविरबाट एक लाख जना अमेरिका गइसकेका छन्। तिनले शिविरमा दुई दशकसम्म कष्टकर जिन्दगी बिताए,’ भुटानी शरणार्थी शिविर बेलाडाँगीका पूर्वसचिव डिबी सुब्बाले भने, ‘कति सपना साकार पार्न गए, कति जीविकाका लागि पनि गएका छन्।’ तीमध्ये धेरैजसो नेपालमै जन्मिएका हुन्। तर, सुब्बाजस्तै शिविर रुँगेर बस्नेको भविष्य अब के हुन्छ ? कसैले जवाफ दिन सकेका छैनन्। ‘नेपालमै राख्ने कुरामा हामी सहमत हुन सक्दैनौं, किन भने नेपालले हामीलाई आश्रय दियो,’ सुब्बा भन्छन्, ‘अब हामी हाम्रो देश भुटानै फर्कन चहन्छौं। त्यसका लागि नेपाल, भारत र भुटानबीच त्रिपक्षीय वार्ता आवश्यक छ।’

शिविरमा अहिले वृद्धवृद्धा र भुटानै फर्कन चाहने मात्रै छन्। तेस्रो मुलुक पुनर्वासका सबै कार्यक्रम सकिएका छन्। ‘अब शरणार्थी समस्या समाधानका लागि सबैले सोच्ने बेला आएको छ,’ पूर्वसचिव सुब्बाले भने, ‘अब बाँकी रहेका शरणार्थीलाई स्वदेशै फर्कन दिइनु पर्छ ।’ शिविरका अधिकतर ज्येष्ठ नागरिकको माग पनि यही छ।

भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक सन्तवीर घले पनि स्वदेशै फर्कन भनेर अड्डी कसेर बसेका छन्। ‘परिवारका सबैजसो सदस्य अमेरिका गए, तर म भुटानमै मर्ने हो भनेर गइनँ,’ उनले निराशा व्यक्त गरे, ‘अब त भुटान नपुगी यतै मरिन्छ जस्तो छ।’ उनले भुटान फर्कन पाउने आशामा पटकपटक प्रधानमन्त्री, भारतीय प्रधानमन्त्रीलाई चिठी लेखे । तर, चिठीको खासै जवाफ उनले पाउन सकेनन्। यसपटक पनि बिमस्टेक सम्मेलनका क्रममा उनले चिठी लेखे । उनले सुनाए, ‘तर, सम्मेलनमा न भुटानी शरणार्थीको मुद्दा उठ्यो न स्वदेश फिर्तीको।’

त्यसअघि पनि नेपालमै भएको सार्क सम्मेलनका बेला उनले निक्कै दौडधूप गरे। तर, भुटानी शरणार्थीको मागबारे कुनै कुरा उठेन। ‘भुटानी शरणार्थीको एउटा मात्रै माग छ, त्यो हो स्वदेश फिर्ती, ‘उनले भने, ‘अब स्थानीय तहमा समायोजन गर्ने विकल्प मान्य हुन सक्दैन। अहिले बसेकै ठाउँमा समयोजन गर्ने हो कि भन्ने पीरले झनै सताएकोे छ।’

शरणार्थी शिविरका सचिव टीकाराम रसाइलीले स्वदेश फिर्ती बाहेकका विकल्पबारे छलफल गर्न नसकिने बताए । तर, शरणार्थीहरू दातृ निकायको गतिविधीपछि शसंकित भएका छन् । शिविरमा अहिले ८ कक्षाभन्दा माथि पढाइ हुन छाडेको छ । ‘हामी भुटानै फर्कने भनेर अहिलेसम्म पर्खेर बसेका छाैं तर, भुटानले कुनै चासो दिएको छैन, ‘रसाइलीले भने, ‘नेपालले दबाब दिएर भए पनि हाम्रो माग सम्बोधन गरिनुपर्छ।’

प्रकाशित: १ आश्विन २०७५ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App