८ वैशाख २०८१ शनिबार
समाज

हत्यारा ठम्याउने सहारा डिएनए परीक्षण

उल्टाखाम (कञ्चनपुर) - निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन। निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निक्र्योल निकाल्न सकेको छैन। बलात्कार र हत्यामा कति जना संलग्न थिए भन्नेमा प्रहरी अनभिज्ञ छ।

जिल्लामा खटिएको प्रहरीको नयाँ टोलीले अनुसन्धान सुरु गरेको करिब तीन सातापछि यही भदौ २८ गते तत्कालीन एसपी डिल्ली बिष्ट, उनका छोरा किरण बिष्ट र मेयरका भतिजा आयुष बिष्टको डिएनए परीक्षणका लागि रगत पठाइएको छ। प्रहरीले उनीहरू कसैलाई पनि पक्राउ नगरी डिएनएका लागि रगत मागेर पठाएको हो। प्रहरीले घटनामा उनीहरू संलग्न रहेको प्रमाण फेला पारेर भन्दा पनि स्थानीयको दबाबका कारण डिएनए परीक्षणका लागि पठाएको एक प्रहरी अधिकारीले बताए। दोषी बचाउन प्रमाण नष्ट गरेको आरोप लागेका एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसीमाथि गहन अनुसन्धान गर्न स्थानीयले माग गरेका छन्।

निर्मला हत्यामा उल्टो अनुसन्धान भएको छ। आफन्तले समयमै उजुरी दिए पनि पहिलो दिन प्रहरीले खोजी गरिदिएन। शव फेला परेपछि घटनास्थल सिल गरेर प्रमाण जोगाउनुपर्नेमा प्रहरी नष्ट गर्नतिर अग्रसर भयो। अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएका अनुसन्धान अधिकारी नै दोषी बचाउन लागिपरेको स्थानीय बताउँछन्। ‘प्रहरीले योजनाबद्ध ढंगले अपराधी जोगाउनु प्रमाण नष्ट गरेको हो’, स्थानीय बिमला बिष्ट भन्छिन्, ‘प्रहरीलाई घटना ढाकछोप गर्न सक्छु भन्ने बढी आत्मविश्वास थियो।’ स्थानीयले आन्दोलन नचर्काएको भए यो घटना त्यत्तिकै ढाकछोप हुने उनी बताउँछिन्।

‘एसपी बिष्ट नेतृत्वको प्रहरी टोलीले प्रमाण नष्ट ग¥यो । पाइएका प्रमाण पनि संकलन गरेन। पानीले नभिजेको अवस्थामा फेला परेका कापीकिताबको फिंगर प्रिन्टको प्रमाण प्रहरीले संकलन गरेको छैन,’ अनुसन्धान अधिकृत कृष्ण ओझा भन्छन्। अब अनुसन्धान गर्दा घटनास्थल बुझ्ने आधार भनेको पहिलो प्रहरी टोलीले तयार पारेको मचुल्का र मिसिल हो।

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत आफ्नो टोलीलाई घटनास्थलबारे जान्न पुरानै टोलीको मुचुल्का अध्ययन गर्नुपरेको बताउँछन्। ‘हामीले शव पाइएका बेला घटनास्थल कस्तो थियो भनेर हेर्न नै पाएनौं’, उनले भने, ‘प्रमाण नष्ट हुँदा अनुसन्धान जटिल भए पनि हामी विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं।’ अहिलेसम्म अनुसन्धानबाट कुनै ठोस कुरा पत्ता लाग्न नसकेको उनी बताउँछन्। ‘अनुसन्धानमा प्रगति प्रतिशतमा हुँदैन, कि त शून्य हुन्छ, एकै पटक सय प्रतिशत पनि हुन्छ’, उनी भन्छन्। एसपी कडायतले डिएएनए परीक्षण एउटा आधार भए पनि अन्य कोणबाट पनि अनुसन्धान भइरहेको बताए।

निर्मलाको हत्या चलाखीपूर्ण ढंगले शक्तिशाली मान्छेले गरेको सुदूरपश्चिम विश्वविद्यालयका प्रा.डा. मुकुन्द कलौनीले बताए। ‘चलाखीपूर्ण ढंगले सबै प्रमाण नष्ट परिएको छ। यो सामान्य व्यक्तिले गरेको बलात्कार र हत्या नभएकाले रहस्यमय देखिन्छ,’ उनी भन्छन्, ‘बलात्कार र हत्या कसले ग-यो भन्ने किटानी हुन नसके पनि यसमा प्रहरी दोषी छ भन्ने प्रस्ट छ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुरुमै प्रहरीबाट अनुसन्धानमा भएको त्रुटिका कारण अहिले अनुसन्धान प्रक्रिया जटल भएको बताए। एसएसपी ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको सिआइबी टोली घटनास्थल अनुसन्धान गरेर फर्किएको छ।

बिष्ट, सेठी र जिसीमाथि गहन अनुसन्धान गर्न माग
प्रहरी अनुसन्धानमा अहिले पनि लापरबाही भइरहेको निर्मलाका आफन्त तथा स्थानीय बासिन्दाले बताएका छन्। घटना अनुसन्धानमा सुरुमा खटिएका एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुर सेठीले सबै प्रमाण नष्ट गरेकाले उनीहरूमाथि कडा अनुसन्धान गरिनुपर्ने संघर्ष समिति संयोजक हेलेन श्रेष्ठले बताइन्। उनले भनिन्, ‘हामी सबै बासिन्दाको माग एसपी बिष्ट, डिएसपी सेठी र बबिता बमलाई हिरासतमा राखेर गहन अनुसन्धान गरिनुपर्छ भन्ने हो । तीनजनामाथि अनुसन्धान भए निर्मलाको हत्यारा पत्ता लाग्छ।’ घटनालगत्तै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई निर्मलाको हत्याराबारे जानकार रहेको स्थानीय बताउँछन्। ‘घटनालगत्तै अनुसन्धानमा खटिएका एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिबिआईका डिएसपी अंगुर जिसीमाथि अनुसन्धान गरेमा दोषी पत्ता लाग्छ भन्ने हाम्रो माग हो’, नगारिक समाजका कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी भन्छन्, ‘सरकारले यी चारजनामाथि अनुसन्धान गर्न ढिलाइ गर्नुको कारण बुझ्न सकिएको छैन।’ प्रहरीले योजनाबद्ध रूपमा प्रमाण नष्ट गरेकाले उनीहरूको प्रत्यक्ष नभए पनि अप्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको स्थानीय बताउँछन्। ‘त्यतिबेला एसपी बिष्टले सबै प्रमाण नष्ट गर्नुको कारण के हो? उसले आफैं प्रमाण नष्ट गरेको हो कि माथिल्लो तहको कसैको संरक्षणमा गरेको हो?’ निर्मलाका मामा केशव भण्डारी भन्छन्, ‘एसपी आफैंले बलात्कार गरेको नभए पनि हत्यामा संलग्नता हुन सक्छ। प्रमाण नष्ट गरेर दोषी बचाउनु खोजेबाट उनको संलग्नता प्रस्ट भएको छ। एसपी बिष्ट र डिएसपी सेठीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने उनले बताए।

‘हत्यामा संलग्नता भएको कुरा डिएनए परीक्षण प्रतिवेदनले कसरी थाहा हुन्छ?’ डा. कलौनी भन्छन्, ‘सबै प्रमाण योजनाबद्ध ढंगले नष्ट गरेकाले तत्कालीन अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई दोषी को हो भन्ने थाहा हुनुपर्छ। उनीहरूलाई गहन रूपमा अनुसन्धान गरेर दोषी पत्ता लगाउन सकिन्छ।’ प्रहरी अधिकारी र उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका नेताबीच साँठगाँठका कारण शक्तिशाली व्यक्तिले गरेको यो हत्याको अनुसन्धान सही रूपमा हुन नसकेको उनी बताउँछन्।

सरकार प्रभावकारी अनुसन्धान गर्न चुकेको पूर्वप्रहरी नायब महानिरीक्षक शरद चन्द बताउँछन्। ‘सरकारले अनुसन्धान प्रभावकारी गर्न सकिरहेको छैन’, चन्द भन्छन्, ‘माथिल्लो पदमा रहेका व्यक्तिको संयोजकत्वमा छानबिन समिति गठन गरेर मात्र काम हुँदैन।’ सरकारले निर्मला पन्तको हत्या विषयमा देशभित्र र आवश्यक परे बाहिरका विज्ञ झिकाएर अनुसन्धान गराउनुपर्ने उनले बताए। द्वन्द्वकालमा जनकपुरमा सात जनाको हत्या भएको विषयमा अनुसन्धान गर्न बाहिरबाट बिज्ञ ल्याएको स्मरण उनले गरे। ‘देशभित्रै पनि विज्ञ छन, सरकारले तिनीहरुलाई प्रयोग गर्नसक्छ’, उनले भने। अपराधशास्त्रबारे विज्ञता हासिल नगरेका कर्मचारी नेतृत्वमा बनाइने छानबिन आयोग वा समितिबाट अपराधी पत्ता लाग्ने आशा गर्न नसकिने उनी बताउँछन्। ‘घटनास्थलमा कुनै प्रमाण बाँकी छैन, पानीमा १२÷१४ घण्टा शव राखेकाले प्रमाण नष्ट भएका छन, फिंगर प्रिन्ट, फुट प्रिन्ट लिन पनि प्रहरी चुकेको छ’, उनी भन्छन्,‘ अव विज्ञ समूहको अनुसन्धान आवश्यक छ।’

प्रकाशित: १ आश्विन २०७५ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App