६ वैशाख २०८१ बिहीबार
समाज

बलात्कार घटना मिलाउन स्थानीयले नै पीडितलाई बन्धक बनाएपछि...

रौतहट– रौतहटमा एकै हप्तामा दुई बालिका बलात्कृत भएका छन्। भदौ १९ र २३ गते ८ र १२ वर्षकी बालिकाकाे बलात्कार भएको हाे।

गढीमाई नगरपालिका ३ गम्हरियाकी १२ वर्षीया बालिकालाई १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले ललाइफकाइ बलात्कार गरेको प्रहरीले जनाएकाे छ। अन्सारीले बालिकालाई बलात्कार गरेको घटनालाई स्थानीयले गाउँमै मिलाउन बलात्कारीलाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको र पीडितलाई गाउँमै बन्धक बनाएर गाउँबाहिर जान नदिएको घटनाले सनसनी मच्चाएको छ। तोकिएको दिनमा अन्सारीले पीडितलाई रकम नदिएपछि पीडित पक्षले प्रहरीलाई जानकारी गराएको थियो। पीडितको तर्फबाट इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। उनी पक्राउ गरेपछि पीडकका समर्थकले इप्रका गरुडा अगाडि प्रदर्शन गर्दै ढुंगामुडा गरेका छन्।

प्रदर्शनकारीले ना १ ज ६१९२ नम्बरको म्याजिक भ्यानलाई तोडफोड गरेका छन्। सोही क्रममा इलाका प्रहरी कार्यालय समनपुरबाट थुनुवा लिएर ना.१ झ. ५४२ नम्वरको जिप गौरतर्फ जान लाग्दा उक्त गाडीलाई पनि तोडफोड गरेका छन्। जिप तोडफोडमा संलग्न रहेका गढीमाई नगरपालिका वडा नम्वर ३ का सहिद अन्सारी, अबुसैद अन्सारी र अजय साहलाई नियन्त्रणमा लिएको जानकारी दिँदै प्रहरी प्रवक्ता डिएसपी महेन्द्र प्रसाद मरासिनीले प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी हवलदार अनिल कुश्वाहा घाइते भएको बताएका छन्।

यसैगरी गरुडा नगरपालिका ८ विर्तामा एक अर्की बालिका बलात्कृत भएकी छन्। गत शनिवार साँझ  ईशनाथ नपा १ औरैयाका १७ वर्षका विकास राज यादवले ८ वर्षकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएकाे छ। घटनामा संलग्न यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। 

बलात्कृत दुवै बालिकाको उपचारपछि अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई अदालतमा बुझाएर बयान लिने काम भइरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताएका छन्।

प्रकाशित: २६ भाद्र २०७५ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App