६ वैशाख २०८१ बिहीबार
समाज

निर्मला हत्या प्रकरण : विष्टमाथि अनुसन्धानका लागि म्याद थप

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या आरोपमा केही समयअघि सार्वजनिक गरिएका आरोपी दिलीपसिंह विष्टमाथि अनुसन्धानका लागि अाइतबार दुई दिन म्याद थप गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत भदौ ४ गते भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई बालिका निर्मलाको हत्या आरोपमा सार्वजनिक गरेको थियो। लगत्तै यहाँका स्थानीय बासिन्दाले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई सार्वजनिक गरेर घटनाको यथार्थ लुकाउन प्रहरी लागेको भन्दै आन्दोलन सशक्त बनाएका थिए। आन्दोलनले उग्ररुप लिँदा भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका–१८ का भगतपुरका सनी खुनाले शहादत प्राप्त गरेका थिए। 

जिल्ला प्रहरीमा आएको नयाँ नेतृत्वले अभियुक्त विष्टको मानसिकलगायत शारीरिक अवस्था जाँचका लागि काठमाडौँ पठाएको थियो। शनिबार भीमदत्तनगर पु-याइएका विष्टमाथि थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत कञ्चनपुरले दुई दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

“विष्टसँगै अस्पतालका सबै कागजात सिल गरेर यहाँ ल्याइएको छ”, उक्त काण्डको अनुसन्धान अधिकृतसमेत रहेका ओझाले भने, “हामीले अनुसन्धान सकेपछि सबै कागजातसहित अदालतमा पेश गर्छौं ।” रासस

प्रकाशित: २४ भाद्र २०७५ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App