coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अर्कैको जग्गा बेचबिखन

काठमाडौं - सर्लाही हरिपुर नगरपालिका–१ स्थित २ बिघा १५ कठ्ठा जग्गा अलगअलग मितिमा फरकफरक व्यक्तिले मालपोत कार्यालयमा आफ्नो दाबी गर्दै आएका छन्। र, अहिले जग्गा वास्तविक जग्गाधनीबाट अर्काे व्यक्तिले उछिट्ट्याएका मात्रै छैनन्, उनले समेत तेस्रो व्यक्तिलाई बिक्री गरिसकेका छन्। केशवनारायण श्रेष्ठले केकसरी किर्ते कागजात आधारमा जग्गा हडप्ने काम गरे?

घटना १
सर्लाही हरिपुर नगरपालिका १ स्थित २ बिघा १५ कठ्ठा जमिनको लालपुर्जा २०३१ सालदेखि केशवनरसिंह श्रेष्ठसँग छ। प्रजातन्त्र सेनानी केशवनरसिंहलाई राजनीतिपीडित भन्दै ५ वर्ष मालपोत तिर्न नपर्नेगरी सरकारले उक्त जग्गा उपलब्ध गराएको लालपुर्जामा उल्लेख छ । त्यसयता बर्सेनि मालपोत तिरेका रसिद उनीसँग छन्। हाल ललितपुरमा बस्दै आएका केशवनरसिंहको लालपुर्जामा ठेगाना चितवन भरतपुर वडा २ लेखिएको छ।

घटना २
अघिल्लो असोज २६ गते चितवन भरतपुर महानगरपालिका २ को स्थानीय भन्दै वडा कार्यालयको सिफारिस लिएर हरिपुर नगरपालिका वडा १ स्थित सोही २ बिघा १५ कठ्ठा जग्गाको लालपुर्जा आफ्नो नाममा निकाल्न र तस्बिर टाँस्न भनेर सर्लाही गए अर्कै केशवनरसिंह श्रेष्ठ। वडाको सिफारिसका आधारमा मालपोत कार्यालय बरहथवाले असोज २९ गते उनका नाममा लालपुर्जा निकालिदियो। उनले लालपुर्जामा भएको मध्ये २ बिघा छठियादेवी र गायत्रीदेवीका नाममा त्यही दिन पास गरिदिए। १५ कठ्ठा आफैंले राखे।

कात्तिक २२ गते मालपोत कार्यालय बरहथवाले भरतपुर महानगरपालिका २ लाई पत्राचार ग-यो, ‘असोज १८ गते तीनपुस्ते खुलाई पठाएको केशवनरसिंहका बारेमा कार्यसम्पादन गर्दा शंका उब्जिएकाले जाँच गरी पठाउन अनुरोध गरिन्छ।’ मालपोत कार्यालयले ताकेता गरेर वडा कार्यालयलाई मंसिर ११ गते पुनः पत्राचार ग-यो। वडा कार्यालयले मंसिर २९ गते मालपोत कार्यालयलाई दिएको जबाफमा भनिएको छ, ‘उक्त सिफारिस पत्रको चलानी नम्बर, जारी मिति वडाध्यक्षको दस्तखत र छाप यस वडा कार्यालयको नभएको र पत्रमा उल्लिखित जग्गाधनीको तीनपुस्ते, नागरिकता नम्बर जारी मितिसमेत फरक देखिएको हुँदा उक्त सिफारिसपत्र किर्ते देखिन्छ।’ मंसिर २९ गते कागजपत्र किर्ते भएको थाहा भएपछि मालपोत कार्यालयले असोज २९ गतेको जग्गा बेचबिखन रद्द गरिदियो। मालपोत कार्यालयका प्रमुख विन्देश्वर महतोका अनुसार केशवनरसिंह, छठियादेवी र गायत्रीदेवीका नाममा पास भएको जग्गा रद्द गरिएको छ।

घटना ३
जग्गा पास रद्द भएको १८ दिनपछि भरतपुर महानगरपालिका २ बाटै केशवनरसिंह भन्ने व्यक्ति नै केशवनारायण हो भनेर अर्को व्यक्तिले सर्जमिन गराए। उनले माघ १० गते भरतपुर महानगरपालिका वडा कार्यालय २ बाट सिफारिस गराई सर्लाहीको उक्त जग्गा आफ्नो भन्दै केशवनारायणले मालपोत कार्यालयमा निवेदन दिए । मालपोत कार्यालयले केशवनारायणबारे बुझ्न चैत १८ गते वडा कार्यालयलाई पत्राचार ग-यो। वडा कार्यालयले वैशाख ११ गते सो पत्रको जबाफमा सोही जग्गाबारे यसअघि यही वडाको नाममा किर्ते कागजपत्र जारी गराई त्यस कार्यालयबाट लालपुर्जा निकालेकाले केशवनारायणबारे पनि गहिरिएर अध्ययन गर्दा शंकास्पद देखिएकाले वडाको सिफारिसअनुसार कार्य नगरिदिनुहुन अनुरोध गर्दै पत्र पठायो।

यो बीचमा उक्त जग्गाको लालपुर्जा रहेका प्रजातन्त्रसेनानी केशवनरसिंहले जानकारी पाए। हाल बस्दै आएको ललितपुर महानगरपालिका ९ बाट सिफारिस र आफूले २०३१ सालमा पाएको लालपुर्जा बोकेर उनी चैत १६ गते मालपोत कार्यालय सर्लाही पुगे। मालपोत कार्यालयले वडालाई प्रजातन्त्र सेनानी केशवनरसिंहबारे बुझ्न असार ५ गते पत्रचार ग-यो। वडाले उक्त सिफारिस सही भएको जानकारी साउन १ मा मालपोत कार्यालयलाई पठायो।

मालपोत कार्यालयका प्रमुख महतोका अनुसार प्रजातन्त्र सेनानी केशवनरसिंहसँग भएको लालपुर्जासँग स्रेस्तामा भएका सबै कुरा मेल खाएनन्। प्रजातन्त्र सेनानी केशवनरसिंहसँग भएको लालपुर्जाको ठेगाना र हालको ठेगाना फरक देखियो। उनी चितवनबाट बसाइँ सरेको तर चितवनमा बसोबास रहेको कुनै आधार खुलेन। जग्गा कसको भनेर टुंगो नलागेपछि यो विवाद मालपोत कार्यालयको मुद्दा फाँटमा पुग्यो। मुद्दा फाँटले वैशाख ११ मा वडाले आफ्नो सिफारिस कार्यान्वयन नगर्न भनिएको पत्रभन्दा पनि सोही वडाले जारी गरेको सर्जमिनलाई आधार बनायो। मुद्दा फाँटले केशवनारायण श्रेष्ठको नाममा स्रेस्ता कायम रहेको फैसला गरेको महतोले जानकारी दिए। साउन १५ गते फैसला भएर सोही दिन जग्गा केशवनारायण श्रेष्ठको लालपुर्जा कायम गरियो। लगत्तै उनले साउन २९ गते प्रेमबहादुर प्रधानलाई जग्गा बिक्री गरे। जग्गा बेच्ने क्रममा पनि हरिपुर १ बाट घरबाटोको सिफारिस लिनुपर्नेमा बरहथवा ३ बाट सिफारिस लिइयो। ‘यसरी एउटा नगरपालिकाको जग्गा अर्को नगरपालिकाबाट सिफारिस लिएर पास गरिँदैन,’ मालपोत कार्यालय बरहथवाका सुशीलकुमार दासले भने, ‘त्यो जग्गा गल्तीवस फरक नगरपालिकाको सिफारिसमा पास हुन गएछ।’ दासले रजिस्टे«सन फाँटमा नयाँ कर्मचारी रहेकाले जानकारी नभएर त्यस्तो हुन गएको बताए।

यता, जग्गाको लालपुर्जा रहेका प्रजातन्त्र सेनानी केशवनरसिंह प्रमाण जुटाउन लाग्दा जग्गा अर्कैको नाममा पास भएपछि मुद्दा हाल्ने तयारीमा थिए। तर, उनले भन्दा पहिला सो जग्गा सार्वजनिक भन्दै केशवनारायणले अर्कै वडाको व्यक्ति लगाएर मुद्दा हाल्न लगाए।

सर्वोच्च अदालतमा दिएको निवेदनपत्रअनुसार धादिङ जिल्ला घर भएका हाल बरहथवा नगरपालिका ४ बस्ने प्रकाशचन्द्र पाण्डेले मुद्दा हालेका छन्। जग्गा सर्लाही हरिपुर १ मा पर्छ। पाण्डेले साउन २० गते सर्वोच्चमा मुद्दाका लागि निवेदन दिएका हुन्। प्रजातन्त्रसेनानी केशवनरसिंह भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्नेदेखि अदालत जाने तयारीमा छन्। एउटै जग्गा फरकफरक व्यक्तिले दाबी गर्दै लालपुर्जा निकालेर बिक्री गर्नुमा भूमाफियाको खेल भएको स्रोत बताउँछ।

प्रकाशित: २२ भाद्र २०७५ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App