coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय तह मातहतमा विद्यालय परीक्षा भद्रगोल

रौतहट- स्थानीय तहलाई विद्यालय शिक्षाको जिम्मा दिइएपछि जिल्लाका सार्वजनिक विद्यालयको शैक्षिक अवस्था झनै खस्किन थालेको छ । शैक्षिक सत्र सुरुभएको पाँचौँ महिनापछि बल्ल रौतहटको विभिन्न पालिकाहरुले प्रथम त्रैमासिक परीक्षा लिन सुरु गरेका छन् । स्थानीय तहको मातहतमा रहेर सुरु भएको पहिलो त्रैमासिक परीक्षा पनि भद्रगोल देखिएको छ ।

विभिन्न स्थानीय तहले विद्यार्थीबाट परीक्षा शुल्क उठाउन नपाउने गरी निर्देशन दिएपछि परीक्षा भद्रगोल देखिएको हो । शैक्षिक सत्र सुरु भएको पाँचौँ महिनामा बल्ल १० पूर्णांकको परीक्षा सञ्चालनमा आए पनि परीक्षाको कुनै पनि मर्यादा पालन हुन नसक्दा विद्यालय तहको परीक्षा भद्रगोल हुन पुगेको देखिएको छ ।

शैक्षिक सत्र सुरु भएको पाँचौँ महिनामा बल्ल १० पूर्णांकको परीक्षा सञ्चालनमा आए पनि परीक्षाको कुनै पनि मर्यादा पालन हुन नसक्दा विद्यालय तहको परीक्षा भद्रगोल हुन पुगेको देखिएको छ ।

रौतहटका विभिन्न स्थानीय तहले विद्यार्थीसित परीक्षा शुल्क उठाउन रोक लगाएको र स्थानीय तहले पनि परीक्षाको लागि कुनै योगदान नदिने तर परीक्षा लिनैपर्ने बताएपछि अझ कतिपय नगरपालिकामा विद्यार्थीको परीक्षा अनिश्चित बनेको छ । रौतहटको मौलापुर नगरपालिकामा विद्यार्थीसित परीक्षा शुल्क उठाएर समयमै प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरिएको एकजना शिक्षक दिनदयाल साह बताउँछन् । रौतहटकै परोहा नगरपालिकामा प्रथम त्रैमासिक परीक्षामा लाग्ने नियमानुसार सम्पूर्ण खर्च उपलब्ध गराएकोले समयमै प्रथम त्रैमासिक परीक्षा भएको एकजना शिक्षक बताउँछन् ।

रौतहटकै गढीमाई नगरपालिकाले विद्यालयको प्रथम त्रैमासिक परीक्षा सञ्चालन सम्बन्धमा कुनै ठोस निर्देशन दिन नसकेकोले प्रथम त्रैमासिक परीक्षा अन्योलमा रहेको छ । गत वर्ष नगरपालिकाले परीक्षाको सम्पूर्ण खर्च बेहोरेको थियो तर अहिलेसम्म कुनै ठोस निर्देशन केही नपठाएकोले परीक्षा सञ्चालनमा अन्योल देखिएको एक विद्यालयका प्रधानाध्यापकले बताए । नगरपालिकाका मेयर श्यामप्रसाद यादवले शिक्षा समितिलाई तत्काल सक्रिय बनाएर परीक्षा सञ्चालन गराउने बताएका छन् ।

रौतहटको गरुडा नगरपालिका र यमुनामाई नगरपालिकामा प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । गरुडा नगरपालिकाका प्रशासकीय प्रमुख उपसचिव टेकराज पन्थीले विद्यार्थीसित कुनै पनि शुल्क नलिई बोर्डमा प्रश्नपत्र लेखाएर परीक्षा लिन र एक प्रति प्रश्नपत्र नगरपालिकामा बुझाउन निर्देशन दिएपछि शिक्षाको इतिहासमा कहिल्यै नदेखिएको भद्रगोल परीक्षा संचालन भएको शिक्षकहरुले बताएका छन् । सम्बन्धित विषयका शिक्षकले बोर्डमा प्रश्नपत्र लेखिदिने र सबै विद्यार्थीले त्यहीँ हेर्दै परीक्षा दिनु परेकोले एक अर्काबाट सार्ने मौका पाएकाले अलिकति पनि मर्यादित परीक्षा हुन नसकेको शिक्षकहरुको भनाइ छ । उपसचिव पन्थीले आफूले चारवटा विषयमा डिग्री पास गरेको बताउँदै मलाई सबै कुरा थाहा भएकोले आफूले भनेजस्तै गरी परीक्षा सञ्चालन नगरे कारबाही गर्ने धम्की दिएको बताइएको छ । विद्यार्थी बस्ने कोठामै परीक्षा दिनु परेकोले एउटै बेन्चमा एकै कक्षाका चारजनासम्म परीक्षार्थी बस्ने गरेको र एकले अर्काबाट सार्ने मौका पाउने गरेको देखिएकोले परीक्षा भद्रगोल भएको हो ।

यमुनामाई गाउँपालिकाले पनि परीक्षा शुल्क नउठाइकन कक्षामै बोर्डमा प्रश्नपत्र लेखिदिएर परीक्षा लिन निर्देशन दिएपछि परीक्षा भद्रगोल भएको शिक्षकहरू बताउँछन् । स्थानीय तहले विद्यालयमा गरेको अनावश्यक हस्तक्षेपका कारण परीक्षा भद्रगोल भएको र यसले गर्दा शिक्षा नै तहसनहस हुने अवस्था आउने सम्भावना बढेको नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले बताएका छन् । एउटा कक्षाका सबै विद्यार्थी एउटै कोठामा बसेर परीक्षा दिनुपर्ने हुनाले जति सुकै गरे पनि मर्यादित हुन नसक्ने भएकोले विद्यार्थीमा पढाइप्रति अरुचि उत्पन्न हुने सम्भावना बढेको अध्यक्ष सिंहको भनाइ छ ।

प्रकाशित: २० भाद्र २०७५ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App