८ वैशाख २०८१ शनिबार
समाज

निर्मलाका सहपाठीको गुहार : प्रधानमन्त्री ज्यू ! न्याय कहिले मिल्छ ?

महेन्द्रनगर– सुदूरपश्चिमको सीमान्त जिल्ला, कञ्चनपुर। भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना भएको एक महिना भन्दाबढी समय बितिसक्यो। १३ बर्षिया बालिकाका परिवारमात्रै नभएर यस घटनापछि चिन्तित र सशंकित नहुने थोरै होलान्। कक्षा ९ मा अध्ययनरत बालिका निर्मलाको हत्यापछि जिल्लाबासी भन्दापनि उनका सहपाठी छात्रा बढी त्रस्त भएका छन्।

घटनामा संलग्न दोषीको खोजी र त्यसमाथि कार्वाहीको माग राख्दै लामो आन्दोलन चलिसक्यो। यही क्रममा एक जना युवकले आफ्नो ज्यानको आहुती पनि दिइसकेका छन्। केहि घाइते प्रहरीको गोलीको शिकार भएपछि उपचारका क्रममा छन्। अहिले जिल्लामा उग्र बनेको आन्दोलन केहि दिनयता शान्तप्राय भएको छ। तर, निर्मला अध्ययनरत विद्यालयका सहपाठी भने यस घटनापछि अझै त्रसित अवस्थामा छन्। 

शुक्रबार बिहान नागरिक संवाददातासंगको भेटमा निर्मलाका निकट छात्रामित्रले यस घटनाको वास्तविकता नखुल्दा सबै छात्रामा त्रासको वातावरण छाएको बताए। कक्षा २ देखिसंगै अध्ययनरत सहपाठी जानकी भट्टले भनिन्, ‘यो घटनापछि नारी जाती साँच्चिकैं असुरक्षित नै भएको हामीले महसुस गरेका छौं। यो घटनाले महिला कमजोर र असुरक्षित भएको देखाएको छ। चाँडै हत्याराको पत्ता लागोस्। परिवारसंगै निर्मलाले पनि न्याय पाओस्।’ बढीजसो निर्मला आफ्नै बेन्चमा बस्ने गरेको बताउँदै जानकीले भनिन्, ‘समय–समयमा विद्यालय र घरमा उस्कै झल्को आउँछ। उसको मृत्युपछि कक्षा सुनसानझैं बनेको छ।’

निर्मलाको बलात्कार र हत्या घटनास्थल नजिकैंबाट विद्यालय आउने उनकी सहपाठी लक्ष्मी बडु झन् त्रसित छिन्। ‘सधैं त्यहि बाटो भएर विद्यालय आउँनु पर्छ। निर्मलाको घटनापछि एक्लै हिँड्न डर लाग्छ’, सहपाठी बडुले भनिन्, ‘पहिले एक्लै विद्यालय आउँथे। अहिले डरले गर्दा भाईसंगै आउने र जाने गरेको छुृ।’

साउन १० गते आफू घरमैं भएको र निर्मला दिउँसोदेखि घर नफर्किएको भन्दै उसको आमा दुर्गादेवी आफ्नो घर खोज्नलाई पुगेको लक्ष्मीले जानकारी गराउँदै भनिन्, ‘निर्मलाको मम्मी उसको खोजी गर्न आएका थिए। तर, उ मेरो घरमा नआएको भनेपछि उनि फर्किए।’ घटनास्थल आफ्नो घरदेखि सयमिटरको दुरीमा भएपनि उनी वेपत्ता भएदेखिएको खबर पाएपछि त्यस्तो कुनै शंकास्पद गतिविधिबारे थाहा नपाएको उनले जानकारी गराए। ‘कक्षामा एकदमैं मिलनसार थिइन्। छात्रछात्रा कसैसंग विद्यालयमा विभेद गरेको थाहा छैन्’, लक्ष्मीले थपिन्।

घटनापछि उनका दाजु चन्द्रदेवलाई प्रहरीले हिरासतमा लिएर केरकार गरेका थिए। उनी अहिले हिरासत बाहिर भएपनि लक्ष्मीलाई घटनाको त्रासले भने मुक्त गरेको छैन्।

कक्षा १ देखिकी सहपाठी पुजा चन्द कक्षा कोठामा पुग्दा अझै पनि निर्मलाको झल्को आउने गरेको र आँखाले उसलाई वरपर खोज्ने गरेको भावुक भएर बताउँछिन्। ‘सरले, कक्षामा पाठ पढ्न लगाउँदा निर्मला सधैं अग्रसर हुन्थी। उनको पढ्न शैलीले सर उनिलाई नै पाठ पढ्न लगाउँथे’, पुजाले भनिन्। 

सहपाठीमात्रै नभएर निर्मला अध्ययनरत सरस्वती माध्यमिक विद्यालयका शिक्षकपनि यस घटनापछि त्रासमय वातावरण भएको बताउँछन्। विद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेय भन्छन्, ‘बालबच्चा यो घटनापछि त्रसित नै छन्। धेरै विद्यार्थीको घटनास्थल नै विद्यालय आउने बाटो भएकाले त्रास कायम रहेको अवस्था हो।’ करिब २५ प्रतिशत विद्यार्थीको विद्यालय आउने बाटो घटनास्थल नै भएकाले उपराधि नखुलेसम्म त्यसक्षेत्रका विद्यार्थी त्रसित छन्। ‘वार्ड नम्बर २ र १८ का धेरै विद्यार्थी छन्’, प्राध्यापक पाण्डेयले भने, ‘आफूहरु यो घटनाले असुरक्षित भएको उनिहरु बताउँछन्।’ मुख्यतया छात्रालाई विद्यालयमा यस घटनापछि परामर्श दिन थालिएको उनले जानकारी गराए।

निर्मलाको हत्यामा संलग्न रहेको आशंका दिदीबहिनी बबिता र रोशनी बमलाई प्रहरीले हिरासतमा लिएको छ। विहीबार जिल्ला अदालतबाट एकसाता उनिहरुलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिएको कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए।

साउन १० गते वेपत्ता भएकी निर्मलाको शव दोस्रो दिन घर नजिकैं भीनपा–१९ बागफाँटाको उखुबारीमा फेला परेको थियो। उनि दिउँसो साथी रोशनीको घरमा गृहकार्य गर्ने भन्दै हिँडेकी थिइन्। 

सहपाठीले रोशनी कक्षा ६ देखि संगै अध्ययनरत रहेको र उनको व्यवहार कुशल रहेको बताए। ‘व्यवहार राम्रै थियो। उनको त्यहि आचरणले क्लास मोनेटर थिइन्’, जानकीले थपिन्।
नागरिककर्मीसंगको भेटमा चारै सहपाठीले संयुक्त रुपमा निर्मला घटनापछि सरकार प्रमुख प्रधानमन्त्रीलाई पनि भार शब्द लेख्ने भन्दै कोरे। 

यसअघि पक्राउ गरिएका दीलिप बिष्टलाई स्वास्थ्य परक्षिणका लागि काठमाडौंको शिक्षण अपस्ताल पु¥याईएको छ। ४१ बर्षिय बिष्ट त्यहाँबाट फर्केपछि म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ। मानसिक अवस्था कमजोर भएका बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेपछि आन्दोलन झन चर्केको थियो।

गोली लागेर घाइते भएका चार जनालाई उपचारपछि काठमाडौंको टिचिङ्ग अस्पतालबाट डिस्चार्ज गरेको जानकारी गराउँदै प्रजिअ अधिकारीले जिल्ला फर्किसकेपछि पनि उनिहरुको स्वास्थ्यमा केहि समस्या आए स्थानीय अस्पतालमैं सहज उपचारको व्यवस्था मिलाउन विहीबार बसेको सरक्षा समितिको बैठकले निर्णय गरिसकेको बताए। 

मञ्जु गिरी, चेतन भट्ट, तेजराज भट्ट र उमेश तिरुवाको उपचार भइसकेको र घाइते उमेश देउवाको भारतमा उपचार भइरहेको उनले जानकारी गराए। घाइते मध्येका भण्डाराको अवस्था जटिल बनेपछि टिचिङ्गमा उनको दाहिने खुट्टा तिघ्रादेखि अलि तल काट्नु परेकाले अहिले उपचारकैं क्रममा रहेको उनले बताए।

प्रकाशित: १५ भाद्र २०७५ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App