१६ चैत्र २०८० शुक्रबार
समाज

निर्दोषलाई अपराध सकार्न ‘दबाब’

उल्टाखाम (महेन्द्रनगर) – निर्मला पन्त हत्याका वास्तविक अपराधी जोगाउन प्रहरीले निर्दोषलाई समातेर अपराध सकार्न यातना दिएको आरोप लागेको छ । प्रहरीले निर्मलाको हत्या भएलगत्तै कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो । उनीहरूमध्ये जीवन मानसिक सन्तुलन गुमाएका व्यक्ति थिए।

जीवनलाई समातेर हिरासतमा राखेकै समयमा दीपकलाई पनि पक्राउ गरिएको थियो । स्रोतका अनुसार दीपक एचआइभी संक्रमित हुन् । उनी शारीरिक रूपमा पूर्ण अस्वस्थ छन् । ‘प्रहरीले गाउँमा आएर एचआइभी संक्रमितलाई समातेर घटना कबोल गर्न लगायो,’ स्रोतले भन्यो, ‘तिमी संक्रमित हौं, कारागारमा राम्रो खानेबस्ने व्यवस्था मिलाउँछौं । घटना मैले गरेको हो भन भनेर प्रहरीले उनलाई बक्न लगायो ।’ दीपकले नमानेपछि जीवनलाई पनि प्रहरीले साउन २० गते छाड्यो।

दीपक र जीवन नै निर्मला हत्यामा संलग्न व्यक्ति भएको भन्ने प्रहरीको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापाले समेत साउन १७ गते घटनामा संलग्नलाई पक्राउ गरेको भनी नामैसहित संसद्लाई जानकारी गराए । तर पछि दीपक एचआइभी संक्रमित भएर यौन क्रियाकलाप गर्न नसक्ने पत्ता लाग्यो भने जीवन मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको पाइयो । जीवनले प्रहरीसँगको बयानमा आफूले निर्मलाको पेटमा खुकुरी प्रहार गरेर मारेको बताएका थिए । तर, पोस्टमार्टम रिपोर्टमा निर्मलाको घाँटी निमोठेर हत्या गरिएको उल्लेख छ । पोस्टमार्टम रिपोर्ट फरक देखिएपछि प्रहरीले जीवनलाई पनि छाडेको हो । प्रहरीको गलत रिपोर्टिङका कारण संसद्मा गृहमन्त्रीले झुटो विवरण पेस गरेको स्थानीय लोकेन्द्र विष्ट बताउँछन्।

जीवन र दीपक हिरासतमुक्त भएलगत्तै साउन २१ गते प्रहरी घटनास्थल उखुबारीनजिकै घर भएका चक्रदेव बडूको घरमा पुग्यो । सादा पोसाकमा गएका प्रहरीले साउन २१ गते बिहान ८ बजे सोधपुछका लागि भन्दै बडूलाई घरबाटै पक्राउ गर्याे । प्रहरीले चक्रदेवसँग उनकी १५ वर्षीया बहिनी लक्ष्मी र ११ वर्षीय भाइ गौतमलाई पनि जिल्ला प्रहरी कार्यालय पुर्यायो । बहिनी र भाइलाई सोही दिन दिउँसो छाडे पनि प्रहरीले चक्रदेवलाई भने हिरासतमै राख्यो । ‘बेलुकी पठाउँछौं भनेर दिनभर एउटा कोठामा एक्लै राखे,’ बडूले भने । तर बेलुकीतिर प्रहरीले उनलाई अस्पताल लगेर रगत निकाल्न लगायो । ११ दिनपछि मात्रै आफूलाई छाडेको बडूले बताए।

प्रहरीले हिरासतमा राखेर घटना भएको दिन कुन्कुन् लुगा लगाएको थिइस् भनेर सम्झन नसकिने कुरा सोध्ने गरेको बताउँदै उनले भने, ‘प्रहरीले मलाई घटना भएको दिन बिहान कति बजे उठिस्, खाइस्, के को तरकारी खाएको थिइस् भनेर सम्झन लगाउँथ्यो ।’ आफूलाई हिरासतमा राखेर प्रहरीले पटकपटक मानसिक यातना दिएको उनले बताए । प्रहरीले निर्मलाको हत्या मैले गरेको हुँ भनेर भन्, सजाय कम हुन्छ भनेर बक्न लगाउने गरेको उनले बताए । उनले भने, ‘घटना मैले गराएको हुँ भनेपछि सजाय कम हुने र पैसा पनि पाउने प्रलोभन देखाउँथे । रक्सी खाएर आई रातिराति यातना दिन्थे । तैंले बलात्कार गरेको देख्ने मान्छे पनि हामीसँग छ भन्थे । खै कहाँ छ भनेर सोध्दा उनीहरू तँलाई देखाउन मिल्दैन भन्थे ।’ ‘मैले हत्या गरेको हुँ भन्, नत्र महाकाली नदीमा लगेर भाला घोचेर मार्छौं भनी प्रहरीले धम्की दिनेगरेको उनले बताए।

बडू दबाबबमोजिम कायम नभएपछि प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा लगाएर पाँच हजार धरौटी लिई साउन ३१ गते छाडेको थियो । ‘मैले हत्या स्वीकार नगरेपछि प्रहरीले सार्वजनिक मुद्दा लगाएर छोड्यो,’ उनले भने । हत्यारा खोज्न जाने क्रममा बडूले प्रहरीलाई गालीगलौज गरेको भन्ने मुद्दा बनाई अर्कै कागजमा हस्ताक्षर गर्न लगाएको उनले बताए । ‘बलात्कार गरी हत्या गरेको अभियोगमा बक्नु भन्दा गालीगलौजको कागजमा हस्ताक्षर गरिदिएँ,’ बडूले भने । बडूको गत वैशाखमा मात्रै विवाह भएको थियो।

तेस्रो प्रयास पनि असफल भएपछि प्रहरीले मानसिक सन्तुलन बिग्रेका दिलीपसिंह विष्टलाई भदौ ३ गते पक्राउ ग¥यो । अनि भदौ ४ गते पत्रकार सम्मेलन गरेर विष्ट नै दोषी भएको दाबी गर्याे । तर, यो कुरा स्थानीयले पत्याएनन् । निर्मलाका बुवाले पनि विष्ट दोषी भएको भनी पत्याएनन् र प्रहरीले भनेअनुसार किटानी उजुरी दिन मानेनन् । त्यसपछि स्थानीयले वास्तविक दोषी लुकाउने प्रयास भएको भन्दै चर्काएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो । ‘निर्दोष व्यक्तिलाई दोषी करार गरेर देखाउन सक्छु भन्ने प्रहरीलाई विश्वास थियो,’ स्थानीय मन्जु भट्टले भनिन्,‘जनताको आन्दोलनको तागतले नयाँ शैलीले अनुसन्धान सुरु गर्न प्रहरी बाध्य भएको छ।’

प्रहरीले विष्टलाई पनि अपराध कबुल गर्न यातना दिएको उनका बाबु ८२ वर्षीय कमल सिंह विष्टले बताएका छन् । ‘पक्राउ परेको दोस्रो दिन भेट्न गएका बेला छोराले मैले हत्या गरेको होइन, प्रहरीले बलात्कार गरेर मारेको हुँ भनेर जबरजस्ती भन्न लगाइरहेका छन् भनेको थियो,’, उनले भने । दिलीपले अदालतमा आफूले निर्मलाको हत्या नगरेको बयान दिएका छन्।

प्रहरीले यसअघि पक्राउ परेका जीवन र दीपकलाई पनि सार्वजनिक अपराध मुद्दा लगाएको छ । दिलीपलाई मानसिक सन्तुलन ठीक भए नभएको जाँच्न मंगलबार काठमाडौं पठाइएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। उनले सुरुदेखि नै अनुसन्धान थालिएको र वास्तविक दोषी पत्ता लगाइछाड्ने दाबी गरे । कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान गर्ने उनको भनाइ छ । ‘इमानदारीपूर्वक अनुसन्धान गर्छु, भोलि नै फर्किनुपरे पनि तयार छु ,’ उनले भने । उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले घटना र प्रहरी अनुसन्धानबारे छानबिन भइरहेको बताए । निलम्बित एसपी डिल्ली विष्टलाई गृह मन्त्रालयले काठमाडौं झिकाएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०७५ ०१:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App