coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उडायो सपना सबै हुरीले...

निर्मलाले बनाएको भगवान कृष्णको चित्र।

महेन्द्रनगर - उडायो सपना सबै हुरीले...
निश्चल आँखामा चोखो मायोको कस्तो अठोट थियो...
चर्चित गायक मुरलीधरद्वारा स्वरबद्ध गीत हो यो। पछिल्लो पुस्ताका संगीतपे्रमी श्रोताले सायदै यो मन छुने गीत सुन्न छुटाएका छैनन् होला। सामान्य परिवारमा जन्मेहुर्केकी निर्मला पन्तको बाल्यकालले पनि यस्तै सपना बुनेको थियो। तर, दैवले उनको जीवनमा तल्लो हरफ नभएर माथिल्लो हरफलाई प्राथमिकता दिएको रहेछ।

कक्षा ९ मा अध्ययनरत निर्मला सधैं अब्बल नतिजा ल्याउन सफल हुन्थिन्। उनको सपना थियो, कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षामा विज्ञान विषय पढ्ने। तर, साउन १० गते उनको १३ वर्षीय जीवनमा हुरी नआएर त्योभन्दा पनि ठूलो ‘आँधी’ नै आयो । जसले किशोरी निर्मलाको जीवन चुँडिएको छ भने जन्म दिने आमाबुबाको सपना चकनाचुर भएको छ।

आफ्नो घरदेखि करिब डेढ किलोमिटर पर बस्ने सहपाठी रोशनी बमको घर गएकी निर्मलाको सास नभएर लासमात्रै उनका परिवारका सदस्यले देख्न पाए। भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला बलात्कार र हत्याको सिकार भइन्। घटना भएको सोमबार एक महिना बितिसक्यो । कसैको आँखामा नबिझ्ने निर्मलाले यो संसार मात्र छाडिनन्, जनजनको मुटुमा बसेकी छन् । यतिका दिनसम्म उनको यो दुर्दशा गर्ने व्यक्ति कानुनी दायरामा नआउनु परिवारका लागि थप पीडाको विषय बनेको छ।

‘पढाइमा सधैं राम्री थिई। उसको ठूलो आकांक्षा थियो,’ आमा दुर्गादेवीले भनिन्, ‘कक्षामा राम्रै श्रेणीमा पास हुन्थी। कुन शत्रुको आँखा लाग्यो।’ एक महिनाअघि भएको घटनापछि सोध्न आउने सबैलाई जबाफ दिँदादिँदै दुर्गादेवी थाकित भइसकेकी छन्। तर, उनको छोरीमाथि भएको अपराधीले सजाय पाउने र परिवारले न्याय पाउने आशा भने मरेको छैन। तीन बहिनीमध्येकी माइली निर्मला आकर्षक जीउडाल र मृदुभाषी भएको आमा दुर्गादेवीले बताइन्। उनले भनिन्, ‘घरमा पाहुना आउँदा स्वागतसत्कार गर्न कुनै कसर बाँकी राख्दैन थिई।’

सानैमा विज्ञान विषय पढ्ने सोच राखे पनि समयसमयमा पैसा अभावले अन्य विषय पढ्नुपर्ला भनेर आफूसँग कुराकानी गर्ने गरेको उनले बताइन्। ‘कक्षामा सधैं दोस्रो र तेस्रो हुन्थी,’ आमा दुर्गादेवीले भनिन्, ‘एसइईपछि राम्रै विषय पढाैंला भन्थी।’ बाँचेकी भए ऋण खोजेर पनि उसको सपना पूरा गर्ने आफ्नो सोच रहेको उनले बताइन्। निर्मला भान्साको काममा पनि उत्तिकै सौखिन थिइन् । निर्मला घरमा हुँदा खानपिनको चिन्तै नहुने गरेको बताउँदै आमाले भनिन्, ‘मबाहिरको काम गर्दा निर्मला घरमा खानपिनको व्यवस्थापनमा राम्रै थिई।’ छोरी र आफ्नो कसैसँग रिसिइबी नभएको बताउँदै उनी भन्छिन्, ‘कसैसँग रिसिइबी थिएन, कताबाट दुस्मन खडा भयो थाहै भएन।’

विद्यालयमा हुने प्रतियोगितामा पनि निर्मला अघि सर्ने गरेको दिदी मनीषाले बताइन् । ‘विभिन्न प्रतियोगितामा पुरस्कार पनि जित्थी,’ मनीषाले भनिन्,‘विद्यालयका अतिरिक्त क्रियाकलापमा उसकै संयोजकत्वमा समिति गठन हुन्थ्यो ।’

निर्मला हस्तकलामा पनि उत्तिकै पोख्त थिइन्। ‘दिदीलाई चित्र बनाउने पनि ठूलो सोख थियो,’ उनकी कान्छी बहिनी सरस्वतीले निर्मलाले बनाएको भगवान कृष्णको चित्र देखाउँदै भनिन्, ‘यो निर्मला दिदीले बनाएको चित्र हो।’

प्रकाशित: १२ भाद्र २०७५ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App