८ वैशाख २०८१ शनिबार
समाज

निर्मला हत्या प्रकरणः छानबिन टोली स्थलगत अनुगमनमा

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ। 

दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ। 

टोली यहाँ आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। 

यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए। 

आन्दोलनरत पक्षले बमको घरमा बढी अनुसन्धान केन्द्रित हुनुपर्ने र मानसिक सन्तुलन गुमाएका व्यक्तिले बलात्कारी गरी हत्या नगरेको दाबी छ। भीमदत्तनगरमा जिल्ला प्रशासनले स्थिति जटिल बन्न नदिन लगाएको कफ्र्युका बीच छानबिन समिति भने अनुसन्धानमा जुटिरहेको छ। छानबिन समितिसहित स्थानीय प्रशासनले आन्दोलन बन्द गरेर छानबिन सहज बनाउन आग्रहसहित यहाँका सर्वदलीय÷सर्वपक्षीय बैठकसमेत डाकेको थियो। 

सोही घटनाको यथार्थ छानबिनको माग गर्दै प्रदर्शन गर्दा शुक्रबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको गोली लागेर मृत्यु भएको थियो। सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्दै परिवारलाई रु १० लाख आर्थिक सहायता दिने घोषणापछि आइतबार बिहान महाकाली नदीमा उनको दाहसंस्कार गरिएको छ। रासस

प्रकाशित: १० भाद्र २०७५ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App