२६ असार २०७७ शुक्रबार
समाज

मेहनतले फेरिँदै गाउँ

तस्बिर : भीम/नागरिक

इलाम – इलामको सूर्याेदय नगरपालिका–१२ का मित्र राई स्नातकोत्तर तहसम्मको अध्ययन गरेर घर फर्के। उनलाई पैसा कमाउन फलानो जागिर खानुपर्छ, फलानो व्यापार गर्दा मनग्य पैसा कमाउन सकिन्छ भन्नेजस्ता ‘अर्ति’ दिनेको संख्या थोरै थिएन। तर, उनले निर्णय गरे–अर्गानिक तरकारीको व्यावसायिक खेतीले जति आम्दानी अरू केहीले पनि दिँदैन। र, अठोट गरे– तरकारी खेतीलाई नै पेसा बनाउँछु।

मित्रले जे योजना बनाएका थिए, तरकारीले पनि त्यसैअनुसार उनलाई पछ्यायो। भएभरको अरू बाली ‘हापिदिए’ र गोलभेंडा, अकबरे, रुख टमाटर, बन्दा, इस्कुस, काँक्रा खेती गरे। ‘काम गर्न भ्याउने हो भने तरकारी खेतीले निकै राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले सुनाए, ‘थोरै जमिनमा पनि धेरै राम्रो आम्दानी गर्न सकिने बाली तरकारी नै रहेछ।’ मित्रले जस्तै योजना बनाएका यो गाउँका धेरै युवा अहिले तरकारी खेतीलाई नै मुख्य आम्दानीको स्रोत बनाइरहेका छन्। र, तरकारीले नै लोभ्याएर हुनुपर्छ–यो वडाबाट वैदेशिक रोजगारीमा जाने युवा पनि औंलामा गन्न सकिने मात्रै छन्। किसानको आर्थिक आयस्तर बढेपछि बिस्तौ गाउँको मुहार फेरिँदैछ।

आठघरेका अर्का युवक मदन राई केही वर्षअघिसम्म अर्काको मेलापात जान्थे। आफ्नो थोरै जमिनमा मकै, तोरी, सिमी, भटमास, कोदो, आलु, तरकारी, गहुँलगायतका बाली लाउँथे। थोरै जमिमा यतिका धेरै बाली लगाउँदा न उनलाई खान–लाउन पुग्थ्यो, न कुनै बाली राम्रोसँग फस्टाउनै पाउँथ्यो। तर, उनले सोच बदले र सुरु गरे तरकारी मात्रैको खेती गर्ने तर ठूलो मात्रामा।

उनले आफ्नो केही बारीमा मौसमी र बेमौसमी तरकारी उत्पादन थाले। काँक्रा, अकबरे, अदुवा, कोपी गोलभेंडा र धनियाँ खेती गरे। करिब १० रोपनीमा गरेको तरकारी खेतीले उनलाई उल्लेख्य आम्दानी दिएको छ। ‘बेलैमा बुद्धि पुगेनछ,’ उनले भने, ‘घरमा खाने र गाउँतिर इस्टमित्रलाई बाँड्ने मात्रै तरकारी खेती गरिन्थ्यो, तरकारीले नै भात खुवाउँछ भन्ने के थाहा र !’ तर, उनलाई अहिले तरकारीले भात मात्र खुवाएको छैन। वर्षको १२ लाख रुपैयाँसम्म कमाउने पेसा पनि यही भएको छ।

सूर्याेदय नगरपालिकाकै माघे, आइतबारे, ढोडेलगायत क्षेत्रका किसान काँक्रा र इस्कुस बेचेर वर्षमा ५ देखि १३ लाख रुपैयाँसम्म कमाउन थालेका छन् भन्दा धेरैलाई पत्यार लाग्दैन। तर, यहाँको तरकारीले झापाका बजार मात्र नभएर भारतका दार्जिलिङ, मिरिक, सिलिगुडीसम्मका उपभोक्ता लोभ्याएको छ। यहाँ किसानले उत्पादन गरेको तरकारी लिन भारतीय नम्बरका गाडी किसानसम्मै आउन थालेपछि निर्वाहमुखी तरकारी खेती अब व्यावसायिक बनेको छ। अलैंची, अदुवा, कुचो, मटरलगायतलाई मात्रै आम्दानीको मुख्य स्रोत सम्झने किसान आफ्नै परिश्रमले आम्दानीका नयाँ पेसामा सफल बन्दैछन्। 

तरकारी खेती मात्र होइन, पशुपालन पनि यहाँका किसानको व्यवसाय बन्दैछ। केही वर्षअघिसम्म घरमा एउटा–दुईटा गाई पालेर दूध खाने किसान अब एकैपटक दर्जनभन्दा माथि गाई पालेर यसैमा व्यवसाय गर्दैछन्। नेपाल प्रहरीका जागिरे अशोक राई यस्ता किसान हुन्–जो छँदाखाँदाको जागिर छाडेर पशुपालनमा लागे। यही व्यवसायबाट उनी जागिरभन्दा तेब्बर आम्दानी गर्दैछन्। २०४८ सालदेखिको स्थायी जागिर ०६० साल वैशाखमा छाडेका उनी अहिले गाईपालनबाटै महिनाको ५० हजार रुपैयाँ कमाउँदैछन्। ‘अब चाहिँ गाईको संख्या घटाएको छु,’ उनले भने, ‘काम गर्ने मान्छे नपाएर आफूलाई रहर लागेको व्यवसाय सधैं उसैगरी थामेर खान गाह्राे भएको छ।’  

उनले आफ्नो फार्ममा होलिस्टिन जातका गाई पालेका छन्। उनले दूध मात्र होइन, उन्नत मानिने होलिस्टिन जातको एउटै १ लाख ४२ हजार रुपैयाँसम्ममा बेचेका पनि छन्। भारतको पूर्णिया र गाजियावादमा पालिने होलिस्टिन र साइवाल जातका गाईबाट उनी व्यावसायिक बनेका हुन्। यो जातको एउटा गाईले दिनको २६ लिटरसम्म दूध दिने गरेको उनले सुनाए। ‘पहिला गाई पालेर दूध खान मात्र काम दिन्थ्यो, अहिले यही व्यवसाय जागिर, व्यापार सबैथोक भएको छ,’ उनले भने, ‘गाईको संख्या घटाएर ७ वटामा झारेको छु तर गाईपालनमा भिजेको रस सुकेको छैन।’ भालुखोपका कुमार रेग्मीका तीन दाजुभाइ पनि गाईपालनलाई नै मुख्य व्यवसाय बनाएर बर्सेनि लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्।  

पशुपालन त छँदैछ। साग होस् वा काँक्रा, इस्कुस, मुला र टमाटर खेती गरेर नै। चमैता, साखेजुङ, बरबोटे, जस्बिरे, कन्याम, पशुपतिनगर, गोदक, फिक्कल, पञ्चकन्यालगायतका गाउँका किसान कोहीभन्दा कोही कम देखिँदैनन्। आफूले उत्पादन गरेको तरकारी मेची राजमार्गमा निकालेर बेच्दा सडकमा आउ–जाउ गर्नेले नै उठाइदिन्छन्। झापादेखिका व्यापारीले गाउँमै आएर तरकारी किनेर लैजान थालेपछि सयौं किसान अहिले तरकारीलाई नै मुख्य आम्दानीको स्रोत बनाउन सफल छन्। 

पशुपालन र कृषि उत्पादनले छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि किसान तरकारी र पशुपालनमा बढी आकर्षित भएका हुन्। यातायातको सुगमता, बजार पहुँच र आधुनिकउन्मुख खेतीप्रणालीले किसानको आम्दानी सुध्रिँदैछ। आम्दानी बढेपछि किसानले व्यावसायिक खेतीमा लगानी बढाएका हुन्। किसान मदन राई भन्छन्, ‘सरकारले नारा लगाइरहेको कृषिमा समृद्धि खोज्न टाढा जानै पर्दैन। किसानलाई खेतीमा मल–बीउ, भरपर्दाे र सुलभ प्राविधिक सहयोग तथा बजार सुनिश्चितता भए पुग्छ।’

प्रकाशित: १० भाद्र २०७५ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App