coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लम्सुवा पुलः ८ वर्षमा ७ पिलर

लुम्सुवा पक्की पुल निर्माणको अवस्था ।    तस्बिरः मेघराज/नागरिक

संखुवासभा – भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीस्थित लम्सुवा घाट पुल निर्माण कार्य सुरु भएको ८ वर्ष बितेको छ। वि.स.२०६७ मा तत्कालिन उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए। पुल निर्माणको ८ वषए बित्दा ७ वटा पिलर मात्र ठड्याइएको अर्थात ३० प्रतिशत मात्र भएको छ। 

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते  सम्झौता गरेपनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको थियो। लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाइन परिर्वतन गरेर समय पनि थपिएको थियो।

२०७० असार २५ सम्ममा काम सक्नुपर्ने भएपनि विभिन्न कारण देखाउँदै काम नगरेपछि २०७४ असार २४ सम्म समय थप गरिएको थियो। यसरी थपिएको समय भित्रपनि निर्माण कम्पनीले आयोजना सम्पन्न गर्न सकेको छैन। अझै निर्माण कम्पनी भने समय थपको अपेक्षामा छ।

पछिल्लो डिजाइन अनुसार ४ वटा पिलर १६ मिटर गहिराइसम्म गाडिनु पर्नेमा आधा खन्दा नै ठुला चट्टान भेटिएको भन्दै पुन काम रोकिएको थियो। सोही चट्टानको कारण थप गरिएको समयमा पनि काम नभएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ। 

१३ करोड ५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता गरिएपनि समय थप्ने क्रममा पिलरको डिजाइन परिर्वतन गरेसँगै उक्त पुलको लागत १६ करोड ६३ लाख पुर्याइएको थियो। १ सय ५७ मिटर लम्बाई रहेको सो पुलको निर्माण कार्य नहुँदा उक्त पुलसँगै जोडिने ९० मिटरको अर्को खण्डको पुलको ठेक्का लागाउन सकिएको छैन्।

करोडौंको लागतमा निर्माण हुने भनिएको पुल अहिलेसम्म नबन्दा स्थानीय नागरिक सास्ती भोग्न बाध्य छन्। भोजपुर र संखुवासभा आवतजावत गर्ने नागरिकहरू हिउँदको समयमा जोखिमपूर्ण डुङ्गाको सहारा लिनुपर्छ भने वर्षातको समयमा करिब अढाई घण्टाको बाटो घुमेर सतिघाट झोलुङ्गे पुलबाट वारपार गर्नु परेको छ।

जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलबाट नै मोटरसाइकल समेत वारपार गर्ने गरेका छन्। निर्माण हुनुपर्ने समयमा पुल नबनेपछि महँगो शुल्क तिरेर सामान ढुवानी गर्न बाध्यता रहेको स्थानीय नागरिक बताउँछन्। यसरी एउटै आयोजना सम्पन्न गर्न वर्षौ लगाउँदा नागरिकहरु सेवाबाट बञ्चित त हुन्छन् नै त्योसँग जोडिएका अनेकौ विकासे आयोजनाहरु पनि प्रभावित हुँदै आएको छ।

प्रकाशित: ९ भाद्र २०७५ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App