१६ चैत्र २०८० शुक्रबार
समाज

निर्मला हत्या प्रकरण: कञ्चनपुरमा गोली चल्यो, ८ घाइते (अपडेट)

महेन्द्रनगर-  बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप हुँदा आठ जना घाईते भएका छन्।

विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप हँदा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका हुन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

जिल्ला प्रशाशन कार्यालय उत्तर तर्फ ट्राफिक चोकमा सयौंको संख्यामा रहेका आन्दोलनकारी र प्रहरीबीच तनावपूर्ण अवस्था सृजना भएपछि प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का १७ बर्षीय अर्जुन भण्डारी घाईते भएका छन्। उनको बाँया खुट्टामा गोली लागेको छ। महाकाली अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकालागि भण्डारीलाई कैलालीको सेती अञ्चल अस्पताल पठाईएको अञ्चल अस्पतालले जनाएको छ।

घटनामा अन्य पाँच जना आन्दोलनकारीलाई गोलीको छर्रा लागेर घाईते भएको महाकाली अञ्चल अस्पतालले जनाएको छ। घाईते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन्।

त्यस्तै आन्दोलनकारीको ढुंगामुढा प्रहारबाट प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते भएका छन्। घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ।

भीमदत्त नगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव भीनपा – १९ को एक उखुबारीमा फेला परेको थियो।

 घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ बर्षीया दिलिपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो। मानसिक अवस्था कमजोर भएका बिष्टलाई हत्याराभनि सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो। आन्दोलनमा स्थानीय, नागरिक समाज, नागरिक संघर्ष समिति, व्यापार व्यवसायी उत्रेका छन्। तीन दिनदेखि महेन्द्रनगर बजार पूर्णरुपमा बन्द छ। बुधबारदेखि सदरमुकारम महेन्द्रनगरसंगै वरपरका विद्यालय र क्याम्पसमा पठनपाठन बन्द छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले आन्दोलनकारी र प्रहरीबीच झडप भएको जानकारी गराउँदै क्षतीबारे जानकारी लिइरहेको बताए।

आन्दोलनकारीले दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। एसपी डिल्ली बिष्टको सरुवाको माग राख्दै उनको पुत्लाको शवयात्रा निकाल्दै दुई हजार बढी आन्दोलनकारी जिप्रका पुगेका थिए। दैजीदेखि निकालिएको पुत्लाको जिप्रका अगाडि दहन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय अगाडि आन्दोलनकारीले नाराबाजी गर्दा प्रहरीले तीन दर्जन बढी अश्रृग्याँस प्रहार गरेको छ । समाचार तयार पारुजेलसम्म अश्रृग्याँस प्रहार जारी रहेको छ।

घटनाको छानविनकालागि प्रदेश नं. ७ प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दलाई कञ्चनपुर खटाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक चन्दले विहीबार नै घटनाको छानविन थाल्ने प्रहरी स्रोतले जनाएको छ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन मागसहित बिहीबार प्रदर्शन गर्दै विद्यार्थी। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/ रासस

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App