६ वैशाख २०८१ बिहीबार
समाज

निर्मला हत्या प्रकरण : अान्दाेलन चर्कदै, बिहानैदेखि अान्दाेलनकारी सडकमा

कञ्चनपुर – निर्मला पन्तको बलात्कारपछि हत्या गरेका दोषीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शनमा उत्रिएका कञ्चनपुरबासीले आन्दोलन चर्काउँदै लगेका छन्। अनिश्चितकालीन आमहड्तालसहित मंगलबार सुरु भएको आन्दोलनको आज तेस्रो दिन कञ्चनपुरको महेन्द्रनगरलगायत पूर्वपश्चिम राजमार्गका साना ठूला बजार बन्द छन्।

बिहानैदेखि कञ्चनपुरको महेन्द्रनगर बजार, सुडा, लालपुर, दैजी, चम्फापुर, सिसैया, भाँसीलगायतका बजारमा आन्दोलनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन्।

आन्दोलनकारीले ‘निर्दोष दिलीप बिष्टलाई रिहा गर’, प्रहरी प्रशासन मुर्दावाद, निर्मला पन्तका दोषी पत्ता लगा जस्ता नारा लगाउँदै ठाउँठाउँमा सवारी साधन आवतजावतमा अवरोध पारेका छन्। आन्दोलनका कारण शिक्षण पनि प्रभावित बनेका छन्।  महेन्द्रनगरबाट जिल्ला भित्र वा बाहिर चलने कुनै पनि सवारी साधन चलन सकेका छैनन्।

यस्तै कञ्चनपुरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै कैलालीबाट पनि शसस्त्र प्रहरी कञ्चनपुर मगाइएको स्थानीय प्रशासनले जनाएको छ।

गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।

निर्मलाको वलात्कार पछि हत्या गरेको अभियोगमा घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

विष्ट मानसिक अवस्था ठिक नभएको व्यक्ति रहेको बताउँदै घटनाको वास्तविक दोषी लुकाउन प्रहरीले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई पक्राउ गरी घटनालाई ढाकछोप गर्ने षडयन्त्र गरेको स्थानीएको आरोप छ। उता प्रहरीले सबै प्रमाणका आधारमा विष्ट नै दोषी रहेको दावी गर्दै आएको छ।

प्रकाशित: ७ भाद्र २०७५ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App