coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भक्कानिए द्वन्द्वपीडित

सिन्धुपाल्चोक आएको बेपत्ता व्यक्ति छानविन आयोगका अधिकारीलाई बयान दिँदै उजुरीकर्ता। तस्बिर : नागरिक

सिन्धुपाल्चोक - बेपत्ता व्यक्ति छानबिन आयोगसँग बयान दिनेक्रममा द्वन्द्वको घाउ कोट्याउँदै पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्। आयोगले दुई दिनदेखि सदरमुकाम चौतारामा उजुरीकर्ता बेपत्ता व्यक्तिका परिवारका सदस्य तथा आफन्तसँग बयान लिइरहेको छ।

पीडितले आफन्त बेपत्ता हनुको पीडा शब्दमा उतार्ने क्रममा थकित र चिन्तित मुद्रामा मन कुँडाउँदै भक्कानिएर बयान दिइरहेका छन्। उनीहरुले आफन्त बेपत्ता हुनुको कारण, बेपत्ता पार्ने पक्ष तथा व्यक्तिबारे भेद खोलिरहेका छन्। उजुरीकर्ता (पीडितका आफन्त) सहित आयोगले उनीहरुका साक्षीसँग पनि बयान लिइरहेको छ।

महिला तथा बालबालिका कार्यालयमा उपस्थित भएर बुधबार साँझसम्म ४० बेपत्ताका आफन्त र साक्षीले आयोगसमक्ष बयान दिएका छन्। आयोगका आयुक्त बिजुल विक दुलालसहितको टोलीले बयान लिइरहेको छ। बाँकी उजुरीकर्तासँग बिहीबार पनि बयान लिइने दुलालले बताए । बेपत्ताका आफन्त र साक्षीसँग छुट्टाछुट्टै बन्द कक्षमा बयान लिने काम भइरहेको छ।

शान्तिप्रक्रियाको १२ वर्षसम्म न्यायको अनुभूति गर्न नपाएका द्वन्द्वपीडित बयानमा थकित, चिन्तित र भावशून्य अवस्थामा देखिएको उनले बताए। उनका अनुसार पीडितले अहिलेसम्म न्याय नपाएको, न्याय पाउने आश मरेको, द्वन्द्वपीडितलाई राज्यले दिने सेवा सुविधामा विभेद भएको, त्यस्तो सुविधा अझै पाउन नसकेको, आफन्त बेपत्ता पार्नेलाई कारबाही हुन नसकेको जस्ता आक्रोशमिश्रित गुनासा गरेका छन्।

आयोग स्रोतका अनुसार कतिपय पीडितका पीडा सुनेर बयान टोली सदस्य नै भावह्विल भएका छन्। त्यतिबेला बयान कक्षमै सन्नाटा छाउँछ । आफन्त बेपत्ता भएको विषयमा पीडितको बयान भने एकै किसिमको पाइँदैन। तर उनीहरुको थकान, चिन्ता र अन्याय महसुसमा भने समानता पाइएको छ। ‘द्वन्द्वको घाउ अझै ताजै र आलै देखियो। पीडितले पुराना घाउ बिर्सन सकेका रहेनछन्,’ आयुक्त दुलालले नागरिकसँग भने।

आयोगसमक्ष बयान दिएका अधिकांश पीडितले आफन्त बेपत्ता पार्नेलाई कानुनी कारबाही माग गरेका छन्। ‘आफन्त बेपत्ता भएको पीडा पैसामा किन्न पाइँदैन । अन्यायविरुद्ध न्याय नै चाहियो,’ पीडितको बयान उद्धृत गर्दै दुलालले भने। कतिपय पीडित भने लामो समयसम्म न्याय नपाउँदा हारेको र थाकेको मनिस्थितिमा देखिए। केही पीडितले भने मन सम्हालेको शैलीमा प्रस्तुत भए । ‘यत्रा बर्ष बेपत्ता भएको मान्छे अब फर्केर आउने होइन,’ उनीहरुको भनाइ थियो, ‘राज्यले पीडितलाई दिने सुविधा दिए हुन्थ्यो । किन झुलाइ राख्नु प-यो।’

धेरै पीडितले उजुरीमा झैं आफन्त बेपत्ता पार्ने पक्ष र उक्त कार्यमा सम्बन्धित व्यक्तिको नामै किटेको बयान टोलीले जनाएको छ । बयान लिने टोलीका अनुसार त्यस्ता व्यक्ति (आरोपित) विभिन्न राजनीतिक हैसियतमा छन्। केही पीडितले भने आफन्त बेपत्ता पार्ने पक्ष बताउन सके पनि उक्त कार्यमा संलग्न व्यक्ति को हो बताउन सकेका छैनन्।

स्थानीय शान्ति समितिकी सदस्य दुर्गा आचार्यले तत्कालीन विद्रोही माओवादी र राज्य पक्षले आफन्त बेपत्ता पारेको भन्दै ५६ उजुरी परेका थिए। उनका अनुसार बेपत्तासम्बन्धी सात उजुरी द्वन्द्वसँग सम्बन्धित नरहेपछि ती उजुरी तामेलीमा राखिएको छ। बाँकी ४९ उजुरीकर्तासँग आयोगले उजुरी लिइरहेको हो। द्वन्द्वका समयमा सिन्धुपाल्चोकबाट राज्य र विद्रोही पक्षबाट कति बेपत्ता बनाइए भन्ने निश्चित तथ्यांक छैन। सरकारको सूचीमा जिल्लामा बेपत्ता बनाइएका व्यक्तिको संख्या २८ छ। आइसिआरसी र अनौपचारिक क्षेत्र सेवा केन्द्रको प्रतिवेदनमा क्रमशः २१ र २३ व्यक्ति बेपत्ता रहेको उल्लेख छ। सरकारले मान्यता दिएका २८ बेपत्ताका परिवारले राज्यले दिएको प्रतिपरिवार १० लाख रुपैयाँ सुविधा पाए पनि अरु पीडितले पाउन सकेका छैनन्।

आयुक्त दुलालका अनुसार व्यक्ति बेपत्तासम्बन्धी आयोगमा परेका २३ हजार ६३ उजुरीउपर छानबिन गर्न पहिलो चरणमा उजुरीकर्ता (पीडित) र उनीहरुका साक्षीसँग बयान लिने काम भइरहेको छ। ३९ जिल्लामा पुगेर आयोग टोलीले उजुरीकर्ता र साक्षीसँग बयान लिइसकेको छ। पछिल्लो दुई दिनदेखि सिन्धुपाल्चोक, रामेछाप, पर्वत र गोरखामा आयोगले पीडित परिवार तथा आफन्तसँग बयान लिइरहेको छ।

उजुरीकर्ता र साक्षीको बयान सकेपछि दोस्रो चरणमा आरोपितसँग बयान लिइने आयुक्त दुलाल बताउँछन्। ‘उजुरीकर्ताले शंका गरेका तथा आरोपित व्यक्तिलाई आवश्यकताअनुसार जिल्लामै पुगेर वा केन्द्रमा बोलाएर बयान लिन्छौं,’ उनले भने।

प्रकाशित: ७ भाद्र २०७५ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App