संखुवासभा - शिकार खेल्न गएका एक युवकको आफ्नै भाईले चलाएको गोली लागि ज्यान गएको छ। ज्यान जानेमा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङ रहेका छन्। तामाङ सहित उनका भाई रत्न बहादुर तामाङ र कृष्णबहादुर तामाङ शिकार खेल्न आइतवार राती फाबिङको जंगलमा शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा हस्तवहादुरका भाई रत्न बहादुरले मृगलाई हानेको गोली आफ्नै दाईको निधारमुनी लाग्न पुग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ।
एक थान भरुवा बन्दुकसहित निधारमा गोली लागेर मृत अवस्थामा तामाङलाई मादी नगरपालिका वडा नम्बर.९ फाबिङमा प्रहरीले फेला पारेको थियो। प्रहरीले कृष्ण र रत्न बहादुरलाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुबाट प्रहरीले २ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको टुक्रा १० थान, २ थान खुकुरी, टर्चलाइट बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित: ४ भाद्र २०७५ १०:४७ सोमबार