coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अरुणको पानी तुम्लिङटारमा

तुम्लिङटारमा निर्माण गरिएको डेढ लाख लिटर क्षमता भएको ट्याङ्की ।    तस्बिरः मेघराज/नागरिक

संखुवासभा – खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा सिँचाईका लागि सुरु गरिएको लिफ्टिङ सिँचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

अरुण नदिको पानी लिफ्टिङ प्रणालीबाट तुम्लिङटार ल्याउने काम सम्पन्न हुन लागेको हो। चैत्र महिनामा सुरु गरिएको आयोजनाको हालसम्म ईनार निर्माण, तुम्लिङटारमा ट्याङ्की निर्माण, पाईप जडान, पम्प सञ्चालन गर्न सोलार जडान लगायतका काम सम्पन्न भइसकेको छ भने प्रणाली मार्फत ट्याङ्कीमा पानी समेत आइपुगेको छ।

अरुण नदिबाट तुम्लिङटार स्थित पानी ट्याङ्कीसम्म ९ सय ५० मिटर पाईप जडान गरिएको र ट्याङ्कीमा पानीको सफल आपूर्ति परिक्षण भइसकेको उपभोक्ता समितिका अध्यक्ष डेगराज बस्नेतले बताए। अरुण नदिबाट प्रतिसेकेण्ड ५ लिटर पानी आउने उनले बताए। अब केही प्राविधिक त्रुटीको अध्ययन र केही कृषकहरूको बारीमा धारा जोड्न मात्र बाँकी रहेको अध्यक्ष बस्नेतको भनाई छ।

अरुण नदिको किनारमा विद्युत नपुगेको कारण २० किलोवाटको सौर्य उर्जा जडान गरि पानी तान्ने पम्प जडान गरिएको सोलार कम्पनीका प्राविधिक राजेन्द्र केसीले बताए। सामान्य प्रकाशबाट पनि बढी उर्जा निकाल्ने ‘भेरिएबल फ्रिक्वीन्सी ड्राईभ’ प्रविधी जडान गरिएकोले थोरै घाम लाग्दा पनि जडित सौर्य विद्युत प्रणालीले राम्रो विद्युत उत्पादन हुने प्रविधिक केसीले बताए।

करिब १ करोड लागतको आयोजनाबाट दुई सय रोपनी जमिन बाह्रै महिना सिन्चीत हुनेछ। दुई सय रोपनी क्षेत्रफल जमिनको लागि सय वटा धारा जडान गरिने उपभोक्ता समितिले जनाएको छ। हालसम्म ७४ वटा धारा जडान भइसकेको छ भने बाँकी २५ वटा धारा केही दिनमा नै जोडिसक्ने योजना रहेको उपभोक्ता समितिले जनाएको छ। प्रत्येक धाराबाट ‘फिर्के’को प्रयोग गरी जमिन सिन्चीत गर्ने व्यवस्था गरिएको छ।

सिँचाईको व्यवस्था भएपछि तुम्लिङटार क्षेत्रमा व्यवसायिक तरकारी खेती र माछा पालन गर्ने योजना रहेको स्थानीय कृषकहरूले बताएका छन्। हिउँद महिनामा सुख्खा रहने तुम्लिङटार क्षेत्रमा बाह्रै महिना सिँचाईको व्यवस्था हुनलागेपछि स्थानीय कृषक उत्साहित बनेका छन्। 

प्रकाशित: २ भाद्र २०७५ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App