८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरी बोक्न डोजर भरोसा!

शैलुंगेश्वरको भैंसेस्थित स्वास्थ्यचौकीमा सुत्केरी भएर मंगलबार बिहान डोजरमा घर फर्कदै मनगाउँकी शान्ति श्रेष्ठ परिवारका सदस्यसहित। तस्बिर सौजन्य : दीपेश श्रेष्ठ

दोलखा - जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका–८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो। सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयारी थाले। तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलाई स्वास्थ्यचौकी लैजाने निधो भयो । तर जाने कसरी? झरी रोकिएको थिएन। ग्रामीण सडक हिलाम्मे थियो। सवारीसाधन चल्न छाडेको धेरै भएको थियो। व्यथाले च्याप्दै लगेकाले पिठ्युँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो।

यस्तै अप्ठेरोमा स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो। वर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो। शान्ति, उनका परिवार र आफन्त गरी पाँचजना डोजरमा चढे । साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरू राति १० बजे शैलुंगेश्वरको भैंसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे। राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराइन्। शान्तिले छोरी जन्माइन्। छोरी बोकेर मंगलबार बिहान मिलनकै डोजरमा उनी घर फर्किइन्। सुरुमा त अनमी मगरले डोजरमा नचढ्न र बोकाएर लैजान कर गरेकी थिइन्। तर अन्य साधन केही नभएपछि शान्तिले डोजरकै सहारा लिनुप-यो।
...

घरमै सुत्केरी गराउन गाह्रो परेपछि शान्तिलाई स्वास्थ्यचौकी लैजाने निधो भयो। तर जाने कसरी ? झरी रोकिएको थिएन। सडक हिलाम्मे थियो। व्यथाले च्यापेकाले पिठ्युँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो। कुनै सहज विकल्प नभएपछि डोजरमा राखेर भैंसेबजारस्थित स्वास्थ्यचौकी लगेर सुत्केरी गराइयो।

मनगाउँका युवक मिलनले डोजरमा राखेर बिरामीलाई स्वास्थ्यचौकीसम्म लगेर घर ल्याएको यो घटना पहिलो भने हैन। ‘यसअघि चारजना बिरामी यसैगरी स्वास्थ्यचौकी लगिसकें’, उनले भने। गाउँबाट स्वास्थ्यचौकी आठ किलोमिटर दुरीमा छ । खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण डोजरलाई मनगाउँबाट स्वास्थ्य संस्था रहेको भैंसेबजार छिचोल्न तीन घन्टा लाग्छ। बिरामी बोकेर आउजाउ गरेका उनी १० हजार रुपैयाँसम्म लिन्छन्। ‘बाटो साह्रै अप्ठेरो छ, भैंसे पुगेर गाउँ फर्किंदा ७० देखि ८० लिटरसम्म तेल सकिन्छ’, उनले भने, ‘गाउँलेलाई तेलको खर्च मात्र सुनाउँछु, उहाँहरूले नौदेखि १० हजार रुपैयाँसम्म दिनुहुन्छ।’

तीन हजार आठ सय मिटरको उचाइमा पर्ने शैलुङका थुम्काको पुछारमा पर्ने मनगाउँका यस्ता घटना शैलुङ गाउँपालिकाको प्रतिनिधि कथा हो। जिल्लाको दक्षिणी भागको आधाभन्दा बढी हिस्सा ओगटेको यो गाउँपालिकाका बासिन्दा भरपर्दो सडक सुविधा नहुँदा बर्खाका बेला गाउँमै थुनिएसरह हुन्छन्।

लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत सिन्धुपाल्चोकको मुडेबाट सुरु हुने मुडे–मेलुङ सडक ठेकेदारको लापरबाहीले अस्तव्यस्त हुँदा बर्खाका बेला गाउँलेले सास्ती बेहोर्नुपरको छ। चार वर्षअघि नौ करोड रुपैयाँमा ठेक्का लिएको कञ्चनजंगा एन्ड लामा बिल्डर्सले भत्काएर अलपत्र पार्दा यो सडकमा बर्खामा गाडी आउजाउ गर्न सक्दैन। ‘सडकभरि यति धेरै खाल्डाखुल्डी छन् कि बस, ट्रक, जिप, मोटरसाइकल केही गुड्नै सक्दैनन्’, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने, ‘हिलाम्मे भएका कारण मानिसलाई पनि हिँड्न हम्मेहम्मे पर्छ।’ उनका अनुसार ठेकेदारले चार वर्षसम्म काम नगरेपछि सडक विभागले ठेक्का तोडिदिएको छ।

बर्खाका बेला सडक अस्तव्यस्त हुँदा शैलुङ गाउँपालिकाका ८ र छिमेकी मेलुङ गाउँपालिकाका तीनटा वडाका बासिन्दा हिँडेरै मुडे र चरिकोट पुग्न बाध्य छन् । गाउँपालिकाको केन्द्र देउरालीबाट मुडे पुग्न साढे दुई घन्टा हिँड्नुपर्छ। सदरमुकाम चरिकोट जाने छोटो मार्ग पवटी–नयाँपुल सडक खण्डसमेत पहिरोले अवरुद्ध भएको छ।

दक्षिण भेगलाई जोड्ने मुख्य सडकमार्गको खराब अवस्थाले त्यस भेगका सबैको जनजीवन अस्तव्यस्त बनेको छ। ‘यो मुख्य मार्गबाट हामीले प्रत्येक बस्तीमा सहायक सडक पु-याइएका छौं’, अध्यक्ष दुलालले भने, ‘मुख्य मार्ग नै नचलेका कारण सहायक सडकबाट मनगाउँकै जस्तो डोजर र ट्र्याक्टरमा बिरामी बोक्न गाउँले बाध्य हुनुपरेको छ ।’ भैसेंबजारका स्थानीय दीपेश श्रेष्ठका अनुसार सडक अवरुद्ध हुँदा खाद्यान्नसहित दैनिक उपभोग्य सामानसमेत महँगो बनेको छ । शैलुङको आलु मुडे पु¥याउनै सकस परेको छ।

ग्रामीण सडकसहित मुख्य मार्ग नचल्दा गाउँपालिका केन्द्रबाट वडा र बस्तीमा पुग्न दुईदेखि सात घन्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था आएको छ। ‘मुख्य मार्गै नचलेका कारण वडाबाट गाउँपालिका पुग्न नागरिकलाई सात घन्टासम्म लागेको छ’, गाउँपालिका अध्यक्ष दुलालले भने, ‘वर्षायाममा साह्रै कष्ट भयो।’

२०५२ सालमा ट्र्याक खुलेको उक्त सडक विस्तारमा तत्कालीन स्थानीय निकायले लगानी गर्दै आएका थिए। २०७१ सालमा सडक विभागले १८ करोड रुपैयाँमा सडकमार्गको ३५ किलोमिटर खण्डमा वाल, नालालगायत पूर्वाधार बनाएर ग्राभेल बिछ्याउने गरी ठेक्का आह्वान गरेको थियो। तर ठेकेदारले ५० प्रतिशतभन्दा तल झरेर नौ करोडमा ठेक्का हालेका कारण काम गर्नै सकेन । जिल्लावासीको दबाबपछि यो ठेक्का सम्झौता असार ५ गते विभागले खारेज गरिदिएको छ । गाउँपालिका अध्यक्ष दुलालका अनुसार प्रदेश सरकारले उक्त सडक निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘नयाँ ठेक्का लाग्न बाँकी छ’, उनले भने, ‘अबचाहिँ राम्रो काम गर्ने ठेकेदारले ठेक्का पाए राम्रो हुन्थ्यो।’

प्रकाशित: ३१ श्रावण २०७५ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App