७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पुलको 'ज्वाईन्ट'मा क्षति

सर्लाही- पूर्व–पश्चिम राजमार्ग खण्ड अन्तर्गत लखन्देही पूलकोफलाम राखेर जोडिएको भाग (ज्वाईन्ट)मा क्षति पुगेको छ। ज्वाईन्टमा क्षति पुग्दा पूल फाट्टिएको जस्तो देखिएको छ।

मुलुककै ‘लाईफलाईन’ मानिने सबैभन्दा बढी व्यस्त पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूलको ज्वाईन्टमा पुगेको क्षति तत्काल मर्मत गर्नुको सट्टा वरिपरी ड्रमले घेरेर ‘वान वे’ गरिएको छ। एक सातादेखि आधा दर्जन ड्रम वरिपरी राखेर दैनिक हजारौं सवारी साधन गुड्ने पूलमा वान वे गरिएको हो।

केही दिन ज्वाईन्ट फाटिएको ठाउँमा बालूवा भरेको बोरा राखेर काम चलाईएपनि जोखिम बढेपछि ‘वान वे’ हिँड्न मिल्ने गरी हाल वरिपरीबाट ड्रमले घेरिएको छ। ज्वाईन्टको भाग छुट्टिदै गएर निकै फराकिलो खाडल बनेका कारण स–साना सवारी साधनका चक्का त त्यहीँ फसेर अड्किने गरेको एक सवारी चालकले बताए। तत्काल मर्मत संभार नभए हाल सञ्चालनमा रहेको भागमा समेत थप क्षति पुग्ने र सवारी आवागमन नै अवरुद्ध हुने जानकारहरु बताउँछन्।

त्यस्तै जिल्ला स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न पूलमा ठूल–ठूला भ्वाङ्ग (खाडल) परेका कारण यातायात जोखिम बढेको छ। वागमती, लखन्देही, कालिञ्जोर लगायत खोलामा रहेका पूल भ्वाङ्ग नै भ्वाङ्गका कारण क्षतविक्षत नै देखिएको छ। दैनिक हजारौं सवारी साधन गुड्ने सिंगल लेनको पूलहरुमा लामो समयदेखि ठूला ठूला खाडलहरु बनेपनि सडक विभागले मर्मत संभारका लागि कुनै चासो दिएको छैन।

‘एक त सानो पूल छ’, हरिवनका यातायात व्यवसायी बाबुराम बुढाथोकीले भने, ‘त्यही माथि ठूला–ठूला खाडलका कारण सवारी साधन चलाउन निकै जोखिम बढेको छ।’ भत्केको महिनौं भईसके पनि मर्मत संभारमा कुनै चासो नदिईँदा यातायात व्यवसायी, मजदुर र यात्रु भयभित यात्रा गर्न बाध्य छन्।

बागमती देखि बाँकेखोला सम्म ३४ किलोमिटर सर्लाही खण्डमा ठूला साना गरी डेढ दर्जन बढी पूल छन्। जसमध्ये अधिकांश पूलमा ठूला–ठूला भ्वाङ्गहरु परेका छन् । ‘एक त पूरानो पूल भएकाले त्यसैपनि अलिकति ठूलो गाडी हिँडदा पनि लरङ लरङ हल्लिन्छ’, उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष सुशिल चालिसेले भने, ‘त्यसमाथि ठूला–ठूला खाडल छिचोल्दै अत्याधिक भारबहन गरेका सवारी साधन हिँडदा त डरले सातो नै जान्छ।’

सडक विभाग अन्तर्गत डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुमन योगेशले लखन्देही पुलको ज्वाईन्टमा क्षति पुगेको र अन्य पूलहरुमा ठूला–ठूला खाडल बनेको बारे आफूलाई जानकारी भएको बताए। ‘अब वर्षायाम सकिने वितिकै सम्पूर्ण पूलहरुको खाडल पुर्ने काम हाम्रै कार्यालयबाट हुन्छ’, उनले भने, ‘लखन्देही पुलको ज्वाईन्ट मर्मतको काम भने विभाग अन्तर्गत पूल महाशाखाबाटै हुन्छ।’ पुलको अवस्था बारेमा विभागमा जानकारी गराईसकिएको समेत प्रमुख योगेशले जानकारी दिए ।

 ‘१० टन क्षमतायुक्त सिंगल लेनको पूलमा निकै धेरै भार बोकेका सवारी साधन गुड्ने गरेका कारण पनि समस्या आईरहेको छ’, उनले भने, ‘अब नयाँ पूल निर्माणका लागि नै प्रकृया अगाडी बढिसकेको छ, त्यसैले सामान्य मर्मत संभारको काम मात्र हुन्छ।’

प्रकाशित: २६ श्रावण २०७५ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App