८ वैशाख २०८१ शनिबार
समाज

बाढीले ड्याममा क्षति पु-याएपछि काम प्रभावित

रसुवा - गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ। गत सोमबार राति आएको बाढीले कफर ड्याममा क्षति गरेपछि आयोजनाको काम प्रभावित भएको हो। चीनको स्वशासित क्षेत्र तिब्बतमा अविरल वर्षापछि लेन्दे खोलामा आएको बाढी भोटेकोसी नदीमा मिसिएपछि आयोजनाको संरचनामा क्षति पुगेको हो।

बाढीले आयोजनाको कफर ड्याममा ठूलो क्षति पु-याएको छ भने संरचना र उपकरण डुबाएको छ। बाढीका कारण बाँध भत्किएपछि दुई दिनदेखि अन्डर स्लुसको काम रोकिएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए।

बाढीले बाँध भत्किएपछि दुई दिनदेखि अन्डर स्लुसको काम रोकिएको छ। वर्षा अवधिभर काम अघि बढ्ने सम्भावना कम छ।

‘बाँध भत्किए पनि सबै काम रोकिएका छैनन्, ‘आयोजना प्रमुख गैरेले भने, ‘पानीको सतहभन्दा माथि रहेको इन्टेकमा काम भइरहेको छ।’ पानीको बहाव कम भएपछि अन्डर स्लुपको काम पनि अघि बढ्ने उनले बताए। वर्षा अवधिभर अन्डर स्लुसको काम अघि बढ््ने सम्भावना नभएको आयोजनाले जनाएको छ।

बाढीले आयोजना निर्माणमा प्रयोग हुने ठेकेदारको उपकरण डुबाएको छ। ठेकेदारले उपकरणको बिमा दाबी प्रक्रिया अघि बढाइएको साइड इन्चार्ज गौतम खड्काले बताए। बाँध भत्किएपछि खोला फर्काउने काम पनि प्रभावित भएको छ। कामदार खाना खान गएका बेला बाढी आएका कारण मानवीय क्षति भने हुन पाएन।

६५ प्रतिशत काम सकियो
२०७० माघदेखि सुरु आयोजनाको ६५ प्रतिशत काम सकिएको छ । एक सय ११ मेगावाट क्षमताको उक्त आयोजना चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले निर्माण गरिरहेको छ।

आयोजनाका अनुसार सुरूङको काम ९८ प्रतिशत, टेलरेस सुरुङको काम ७५ प्रतिशत र भूमिगत विद्युत्गृहको काम ४५ प्रतिशत सकिएको छ। चार हजार २ सय मिटर मुख्य सुरूङ (हेडरेस) मध्ये ५५ मिटर सुरुङ खन्न बाँकी छ। भूमिगत विद्युत्गृह खन्ने काम पनि सकिएको छ।

दुई हप्ताभित्र मेसिन जडान सुरु हुनेछ । सन् २०१९ डिसेम्बर सम्ममा तीनवटै युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ । बाढीले बाँधमा क्षति पु¥याएपछि तथा घट्टेखो पुल भत्किएका कारण सामग्री ढुवानी गर्न नसक्दा तोकिएको समयमा विद्युत् उत्पादन गर्न सकिने अवस्था देखिँदैन।

प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक अधिकृत तोकियो
प्रसारण लाइन निर्माणका लागि जग्गा व्यवस्था गर्न प्रारम्भिक अधिकृत तोकेर काम अघि बढाइएको आयोजनाले जनाएको छ । उत्पादन भएको विद्युत् ‘राष्ट्रिय प्रसारण लाइन’ मा जोड्न सर्वे र डिजाइन भइसकेका छन्।

आयोजनाका अनुसार विद्युत्गृहदेखि चिलिमे हबसम्म प्रसारण लाइन विस्तारका लागि ठेक्का सम्झौता भएको छ।

‘१० किलोमिटर प्रसारण लाइन विस्तारका लागि मुडबरी एन्ड जेसी कम्पनीसँग ठेक्का सम्झौता भएको छ,’ आयोजना प्रमुख गैरेले भने, ‘तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ।’ आयोजनाबाट उत्पादन भएको १३२ केभी विद्युत् प्रसारण लाइनमा जोडिने छ।

टिमुरेको तातोपानीदेखि गोल्जुङबेंसीसम्म लाइन विस्तार गरी सान्जेन जलविद्युत कम्पनीले उत्पादन गरेको विद्युत् आयोजनाले चिलिमे हबमा जोड्ने र त्यसपछि प्राधिकरणले थाम्बुचेत–गतलाङ–ग्रे–हाकु हुँदै गोगने–मैलुङ–त्रिशूली सम्मको राष्ट्रिय प्रसारण लाइन बनाउनुपर्ने छ।

यो आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सवा करोड रुपैयाँ आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सक्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण केही ढिला भएको आयोजनाका जनसम्पर्क अधिकृत साउदले बताए।

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेको थियो। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३ दशमलव ५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ।

प्रकाशित: २४ श्रावण २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App