१२ आश्विन २०७७ सोमबार
समाज

अब गर्भ भित्रकै बच्चालाई पनि अंश


काठमाडौं – हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउनेछन् । 
आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो। सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था अहिले थियो। तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ। अधिवक्ता मीरा ढुंगानाले भनिन्, ‘समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्नुप¥यो, अब गर्भकै शिशुले अंश पाउने भएका छन, त्यो निकै राम्रो व्यवस्था हो।’ आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य भएको भनाइ उनको छ । यो नयाँ व्यवस्थाले छोरालाई बढि प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ। 
वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन । 
अंशबण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ,’ पाठकले भने। 
वरिष्ठ अविधक्ता डा. चन्द्रकान्त ज्ञवालीका अनुसार हालसम्म आफँैले सक्षम भएर अंश माग्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर अब १८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । उनले भने, ‘आमाको गर्भमै रहँदा अंश पाउने भएपछि यसले समानताको सिद्धान्तलाई अनुशरण गरेको छ, जुन प्रभावकारी र उपयुक्त व्यवस्था हो।’ 

 

प्रकाशित: २२ श्रावण २०७५ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App