८ वैशाख २०८१ शनिबार
समाज

बोलबमको बहानामा ‘बियर बम’ बढ्दै

बिनाहेल्मेट मोटरसाइकलमा सर्लाहीको वाग्मतीमा जल लिन आइपुगेका भारतीय बोलमब तीर्थयात्री। तस्बिर : टंक/नागरिक

सर्लाही - साउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजाआजा गर्ने भक्तजनहरूको भीड लाग्ने गरेको छ। त्यस्ता भक्तजन एवं तीर्थयात्रीहरूलाई बोलबम, डाकबम, दण्डवत बमलगायत विभिन्न उपनामले चिनिन्छ र पुकारिन्छ। तर पछिल्लो समय बमको अगाडि अर्को उपनाम थपिन थालेको छ– ‘बियर बम’।

बोलबम तीर्थयात्रीको भेषमा नेपाल आउने कतिपय भारतीयहरूले नेपालतर्फ बियर लगायतका मदिरा पिउने गरेका छन्। भारतको सितामाढीनजिक मढिया मन्दिरमा चढाउन भन्दै जिल्लास्थित वाग्मती नदीमा जल लिन आउने कतिपय बोलबम तीर्थयात्री मदिरा पाइने कोल्डस्टोर तथा होटलहरूमा पसेर बियर पिउने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मढिया मन्दिरमा साउनको हरेक आइतबार चढाउने जल लिन शुक्रबार र शनिबार वाग्मती नदीमा सयौं भारतीयको भीड लाग्ने गर्छ।

जल लिन आउने बहानामा कतिपय भारतीयहरूले गत वर्षदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर, हरिवन, नयाँरोड एवं वाग्मतीका होटल तथा कोल्डस्टोरहरूमा बियर लगायतका मदिरा पिउन थालेका हुन्। भारतको बिहार राज्यभर त्यहाँको सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि भारतीयहरूले बोलबम यात्रालाई नेपाल आएर मदिरा पिउने अवसरका रूपमा उपयोग गर्ने गरेका हुन्।

‘दुई सय रुपैयाँमा पहेलो रङको भेस्ट र कट्टु किन्यो, अनि साउनका हरेक शुक्रबार र शनिबार बोलबम भन्दै मोटरसाइकलमा नेपाल आएर बियर खानेहरू बढ्दै गएका छन्,’ भारत घर भई हरिवनमा कपाल काट्ने पेसा गर्दै आएका राजेश ठाकुरले भने, ‘बोलबमको ड्रेस लगाएपछि भारत र नेपाल कतै चेकजाँच हुँदैन, अनि मज्जाले ‘दारु’ (रक्सी) खाएर फर्कन सजिलो भएको छ ।’ बोलबम भनेपछि नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले कडाइ नगर्ने हुँदा मदिरा पिउनकै लागि पनि बोलबम बनेर उनीहरू वाग्मती आउने गरेको ठाकुर बताउँछन्।

विशेषगरी मोटरसाइकलमा आउने भारतीय तीर्थयात्रीले मदिरा खाने गरेको वाग्मतीस्थित एक होटल व्यवसायीले बताए। ‘एउटै मोटरसाइकलमा चार जनासम्म बिनाहेल्मेट आएका हुन्छन्,’ नाम नबताउने शर्तमा उनले भने, ‘कोही कोही त बोलबमको ड्रेस लगाएर मदिरा खानका लागि मात्र आएका हुँदारहेछन्, कोही भने जल लिएर पनि जाने गरेका छन्। जे होस्, हाम्रो व्यापार बढेको छ।’

उताबाट सार्वजनिक सवारीसाधनमा आउने तीर्थयात्री भने वाग्मतीको जल झन्डै ५० किलोमिटर पैदल यात्रा गरेर मढिया पुगेर चढाउने गर्छन्। पैदल आउने–जानेले भन्दा पनि मोटरसाइकलमा आउनेहरूले मदिरा पिउने गरेको प्रत्यक्षदर्शी बताउँछन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बोलबमको बहानामा निकै विकृति देखिएको बताए। ‘भारतीय मोटरसाइकलको लाम लाग्दोरहेछ, एउटै मोटरसाइकलमा पनि नियमविपरीत बढी मान्छे चढेर आउने वर्षौंदेखिको प्रचलन रहेछ,’ उनले भने, ‘डिजे बाजा रातभर घन्काउँदै लावालस्कर लागेर वाग्मतीको जल लिन आउने रहेछन्।’ कतिपय भारतीय बोलबम यात्रीले अनियन्त्रित ढंगले मोटरसाइकल चलाउने गरेका कारण दुर्घटनासमेत हुने गरेका छन्।

अघिल्ला वर्षहरूमा बिना कागजातका मोटरसाइकल नियन्त्रणमा लिने, बिनाहेल्मेट बढी जना चढ्नेजस्ता गतिविधिमा प्रहरीले कडाइ गर्न खोजे पनि जिल्लाका राजनीतिक दलका नेताहरूले त्यसो नगर्न दबाब दिएका कारण अहिले चेकजाँच फितलो बनाइएको छ।

प्रकाशित: २१ श्रावण २०७५ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App