१ श्रावण २०७७ बिहीबार
समाज

सिक्टा सिँचाइमा चुनौतीका चाङ (भिडियो)

नेपालगन्ज - करिब ६ वर्षअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण गर्ने क्रममा ढकेरी, बालापुरका स्थानीय बासिन्दा र आयोजनाका परामर्शदाता तथा प्राविधिकबीच कुरा बाझ्यो। स्थानीय बासिन्दाले सिक्टाको मूल नहरलाई परुवाखोलाबाट घुमाएर बालापुर र ढकेरी गाउँको उत्तरतिरबाट लैजानुपर्ने सर्त राखे।

घुल्ने माटो भएका कारण भविष्यमा नहरमा समस्या निम्त्याउन सक्ने र यही माटोका कारण गाउँ नै जोखिममा पर्न सक्ने आशंका स्थानीय बासिन्दाको थियो। नहर गाउँभन्दा उत्तरतिरबाटै खन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले केही दिनसम्म आन्दोलन चर्काए। उनीहरूका मागलाई आयोजनाका परामर्शदाता र इन्जिनियरले चासो दिएनन्। अन्ततः मूल नहर सीधै घुलनशील माटो रहेको क्षेत्रमा निर्माण गरियो। अहिले स्थानीय बासिन्दाका आँखैअगाडि नहर भत्किन थालेको छ।

ढकेरीका बासिन्दा एवम् पूर्वसांसद अशोक रोकाय विगतमा आयोजना कार्यालयले नहरको ‘डिजाइन र रेखांकन’ मा गम्भीर गल्ती गरेको बताउँछन् । प्राविधिकको एकोहोरो निर्णयको परिणामस्वरूप अचेल मूल नहर भत्किने समस्या बल्झिएको उनले बताए। ‘निर्माणक्रममा हामीले नहरलाई गाउँभन्दा उत्तरतिरबाट लैजानुपर्ने माग गरेका थियौं। यस विषयमा गाउँलेले आन्दोलन चर्काएका थिए’, रोकायले भने, ‘आयोजनाका प्राविधिकले आफ्नो हठ छाडेनन्, घुलनशील माटोलाई कतै कटान र कतै पटान गर्ने काम भयो। त्यसैले अहिले नहरमा पटकपटक समस्या बल्झिरहेको छ।’

बालापुर र ढकेरी गाउँको उत्तरतिरबाट नहर खनेको भए त्यस क्षेत्रमा घुलनशील माटो नपर्ने र भत्किने समस्या नदोहोरिने उनी बताउँछन्। ‘गाउँभन्दा उत्तरतिरबाट नहर घुमाएर लगेको भए त्यहाँ घुलनशील माटो थिएन। करिब दुई किलोमिटर जति नहर बढी खन्नुपथ्र्यो’, रोकायले भने। आयोजनाको गलत डिजाइनकै कारण विभिन्न चुनौती देखापरेको उनले बताए।

परीक्षणका क्रममा पहिलोपटक २०७५ असार १४ मा आयोजनाको ढकेरीस्थित झिझरी खोलाछेउमा पश्चिम (दायाँ) मूल नहर भकिएको थियो। अघिल्लो साता साउन ७ गते पनि ढकेरीस्थित चंगाई नाला नजिक मूल नहरको २२.८९० किलोमिटर क्षेत्रमा भत्कियो। दुईदुई पटक नहरको संरचना भत्किएर ठूलो क्षति हुँदा सिक्टाको गुणस्तरमाथि प्रश्न उठिरहेको छ । मूल नहर भत्किएको ११ दिनपछि शुक्रबार आयोजना कार्यालयले विज्ञप्तिमार्फत सिक्टामाथि उत्पन्न भएका समस्या र चुनौतीलाई आधिकारीक रूपमा बाहिर ल्याएको छ।

आयोजनाको पश्चिम मूलअन्तर्गत २० किमिदेखि ३५ किमिसम्मको नहर अत्यधिक कटान र पटान रहेको, मूल नहरको उक्त खण्डमा विषम प्रकृतिको घुलनशील (डिसपर्सिभ) माटो प्रयोग भएको, पूर्वपश्चिममा फैलिएको मूल नहर चुरे र सोको ‘फोथिल’ क्षेत्रबाट भएर गएको तथा नहरको रेखांकनमा अत्यधिक संख्यामा उत्तरदक्षिण बग्ने खोलानाला नै आयोजनाका लागि चुनौतीको मुख्य कारक बनेको कार्यालयले प्रस्ट पारेको छ।

विज्ञप्तिमा आयोजना निर्देशक रमेश बस्नेतले सिक्टा सिँचाइ आयोजना चुनौतीपूर्ण अवस्थामा रहेको जानकारी दिँदै पश्चिम मूल नहरका केही ठाउँमा प्राविधिक समस्या देखिन गई नहरमा क्षति पुग्ने गरेको प्रस्ट पारेका छन्। ‘यी समस्या समाधानका लागि आयोजनाले माटो परीक्षणलगायत विज्ञहरूबाट रायसमेत लिई आवश्यक सुधार गर्नका लागि डिजाइन, नक्सासहितको प्रतिवेदन तयार गरिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ।

परीक्षणका क्रममा यही साउन ७ गते पश्चिम मूल नहरको २२.८९० किलोमिटर क्षेत्रमा करिब १० मिटर लम्बाइमा बायाँ डिलमा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ। क्षति भएको उक्त खण्डको तत्काल मर्मतसुधार गरिसकिएको र सो घटनाबारे प्राविधिक प्रतिवेदन तयार गर्न आयोजना स्तरमा एक समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ। समितिको प्रतिवेदन आएपछि हाल देखापरिरहेका प्राविधिक समस्या निराकरण गरी सहज तरिकाबाट नहर सञ्चालन गर्न जलस्रोत तथा सिँचाइ विभागसँग समन्वय गरी विज्ञहरूको सुझावअनुसार कार्यसम्पादन गर्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ।

दायाँ मूल नहरको उक्त खण्डको निर्माण कार्य ठेक्का नम्बर ‘एसआइपी/एमसी/आइसिबी–२’ मार्फत १७.७ किमिदेखि ३५ किमिसम्म सम्पन्न भएकोमा उक्त ठेक्का सम्झौताको अन्तिम प्रतिवेदन आयोजनाबाट नापजाँच गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ। उक्त ठेक्काको धरौटीबापतको रकम आयोजनाकै खातामा रहेको छ।

प्रकाशित: २० श्रावण २०७५ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App