२१ असार २०७७ आइतबार
समाज

मधुश्रावणीमा झुम्दै मिथिला

महोत्तरी–मिथिलाञ्चलका नवविवाहिता मिथिलानी(महिला)हरूले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणीको रौनकमा मिथिलाक्षेत्र रमाइरहेको छ।
१५दिनसम्म मनाइने यो पर्वमा नवविवाहिता महिलाहरू १५ दिनसम्म गृहस्थी कसरी चलाउने भन्ने शिक्षा दिने कथाहरू सुन्दछन। पतिको दिर्घायुको कामना गर्दै उनीहरू गौरी, विषहरालगायतका पूजा पनि गर्दछन् ।
‘सखी फूल लोढ चलु फूलबरिया, सीताके संग सहेलिया, कोई बेली फूल लोढे चमेली फूल लोढे, कोई लोढेला चम्पाके कलिया, सीताके संग सहेलिया .. ’ लगायतका गीतहरू गाउँदै निस्कने महिलाहरूको समूहको मनमोहक दृश्यमा महोत्तरी रंगिन बनिरहेको छ अहिले।

नवविवाहिताहरूले आफ्नो पतिसँगका मधुर अनुभूति साथीसंगीमाझ साटासाट गर्दा नवविवाहिताका अनुहारमा उठ्ने लाजका छाल र उत्सुकताका रङले मिथिला क्षेत्रमा यौवना छाएजस्तै लाग्छ। 

हरेक श्रावण कृष्णपञ्चमीमा सुरु भई श्रावण शुक्ल द्धितियासम्म चल्ने यो पर्व मिथिलाञ्चलका कायस्थ, बा्रहमण, सोनार र देवजातिका नवविवाहिता महिलाहरूका लागि विशेष रहँदै आएको छ।
साउने झरी, कालो वादल र न्यानो घामको स्पर्शमा युवतीकोे स्वच्छन्द नाचगान जति लोभलाग्दो हुन्छ, त्यतिनै कौतुहलता पूर्ण पनि हुन्छ यो पर्व। विवाहिताहरूले आफ्नो पतिसँगका मधुर अनुभूति साथीसंगीसँग साटासाट गर्दा नवविवाहिताका अनुहारमा कोरिने लाजका छाल र उत्सुकताका रङले मिथिला क्षेत्रमा यौवना छाएजस्तै लाग्छ। त्यसैले भनिएको हो यो पर्वलाई मधुश्रवणी।

यौवनपूर्ण यो माहोललाई पूर्णता दिन चार दिशामा छरिएका पति पनि मिथिला आइपुग्छन्। अनि बन्छ यो पर्व हनिमुनमय। 


यो पर्वमा नवविवाहिताले नागपञ्चमी सम्बन्धि कथा सुन्नुका साथै नागको अर्थात विषधरको पुजा गर्ने गर्दछन्।पतिप्रेम बढोस र पति प्रति आदर भाव जागोस भनी यो पर्व अवधिभर शिवगौरी, विषहारा, शिवलिला र श्रवणकुमारलगायतको कथा सुनाउने गरिन्छ । यो पर्व माईतमै मनाउने प्रचलन रहे पनि आज भोलि यो पर्व ससुरालमा समेत मनाउन थालिएको छ।
यो पर्वको विशेषता भनेको विषघरको पूजा बासी फूल र पातबाट गर्नु र पुजा अवधि भर नवविवाहिताले खानेकुरा सबै ससुरालीकै खानुपर्ने रहेको छ । सोही कारण ससुरालीबाट नवविवाहिताहरूको लागी पुजा अवधिभरको लागी सबै सामान जोहो गरी पठाईने गरेको हुन्छ। 

यो पर्व टेमि (आगोले पोल्ने कार्य) दिएर सकिन्छ । महिलाहरूलाई अग्नि परिक्षा स्वरुप घुँडामा टेमि दिईन्छ र जति ठूलो फोका उठ्छ त्यत्ति बढी नै पति प्रति माया र पतिको दिर्घायु हुन्छ भन्ने विश्वास यहाँका स्थानीयले राख्छन्। यसलाई सतित्व र सहनशीलताको परीक्षण पनि मान्ने गरिन्छ। शरीरलाई क्षति पुग्ने गरी टेमि दिनु कति जायज? पत्नीमात्र किन प्रेमको परीक्षामा? बहसको पाटो भने बाँकी नै छ।

विवाहको पहिलो वर्षमा खास महत्व राख्ने यो पर्व एकातर्फ सांस्कृतिक धरोरहर त हो नै दाम्पत्य जीवनको आधारशीलालाई बलियो, चहकिलो र गहकिलो बनाउन मद्दतभने पक्कै पुग्छ। भावनात्मक र शारीरिक सम्बन्धलाई मजबुत गराइदिन्छ यो पर्वले।

यस्तो हुन्छ पूजा 

दुलहीले ससुरालीबाट आएको साडी, लहठी, चुरालगायतका वस्त्र तथा आभूषणबाट सुसज्जित हुनुका साथै ससुरालीबाट आएको पूजा सामग्री सजाउँछिन्। पूजाको आसनमा बस्नुभन्दा पहिले कुलदेवतालाई आराधना गरी भगवतीको गीत श्रवण गर्ने गर्छिन्। भगवतीको गीतपछि पार्वतीको गीत विषहरा नाग देवताका गीत र अन्य विधिविधान गीत सुन्छिन्।

यो प्रदपको पर्व भएकाले पनि प्रदप केराको पातमा राखी अक्षता, चन्दन, बेलपात, दीयो, नैवेद्य, प्रसादआदि व्यवस्था गरी देवीदेवताको आराधना गरेर गौरीको पूजा गरेपछि कलशको पूजा सुरु हुन्छ। विभिन्न मन्त्रउच्चारण गरि चन्द्र, सूर्यलगायत सम्पूर्ण ग्रहको पनि पूजा गरिन्छ । तत्पश्चात नागपूजा सुरु हुन्छ। नाग पूजाका साथसाथै अन्य चनाई, कृसमावतिक, पिङ्गला, लिली, शतभागिनी, सठिक पूजा आदिमा विभिन्न किसिमका प्रेरणादायी कथाको वर्णन हुन्छ। कथाहरूमा खास गरेर सति, पृथ्वीको जन्म, समुद्र मन्थन, पतिव्रता, धर्मको महत्त्व, गंगा, पार्वती लगायतको चर्चा हुन्छ। मधुश्रावणी कथाका क्रममा महिलाहरूले असंख्य गीत गाइरहन्छ गाइन्छ।

 

प्रकाशित: १९ श्रावण २०७५ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App