१६ चैत्र २०८० शुक्रबार
समाज

चार महिनामा ६ हजार तीर्थयात्री मानसरोबर प्रस्थान

मानसराेवर जाने तिर्थयात्रीहरु। तस्विर : हिमनाथ/नागरिक

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ४ महिनामा ६ हजार तीर्थयात्री मानसरोबर गएका छन्। 
चीन सरकारले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै पहिलो पटक यो नाका प्रयोग गरेर भारतीय तथा विदेशी तीर्थयात्री मानसरोबर गएका हुन्। तिब्बतको ल्हासामा रहेको कैलाश मानसरोबरमा बैसाखदेखि हालसम्म एक हजार पाँच सय विदेशी र चार हजार पाँच सय भारतीय तीर्थयात्री मानसरोबर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ।  

भदौ २५ गतेसम्म तीर्थयात्री आउने क्रम जारी रहने कार्यालयका सूचना अधिकारी मान बहादुर बरालले जानकारी दिए। अंग्रेजी महिनाको मे देखि सेप्टेम्बर सम्म तीर्थयात्री मानसरोबर जाने गरेका छन्। कार्यालयले दिएको जानकारी अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड र रुसका नागरिकसमेत मानसरोबर गएका छन्। 

तीर्थयात्री बढेपछि जिल्लाको धुन्चे, स्याफ्रु र टिमुरेमा कारोबर बढेको छ। तीर्थयात्रीहरू जिल्लामा अधिकतम दुई दिनसम्म बस्ने गरेका छन्। रसुवागढी नाकाको प्रयोग गरेर जाँदा शुल्क तिर्न नपर्ने तर भिसा एक्सटेन्सन गर्न परेमा दैनिक ३ डलर र जरिवाना बापत ३० डलर शुल्क लाग्ने सूचना अधिकारी बरालले बताए। 

कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा विदेशीको भिसा एक्सटेन्सन गरेर ३५ लाख राजश्व उठाएको छ। भिसा एक्सटेन्सन गर्दा १५ दिनको २५, ३० दिनको ४० र ९० दिनको एक सय डलर लाग्ने कार्यालयले जनाएको छ। मानसरोबर कैलाश यात्राका लागि करिब दुई दर्जन नेपाली कम्पनीले सेवा दिँदै आएका छन्। मानसरोबर जानका लागि हुम्ला र सिन्धुपाल्चोक तातोपानीको नाका प्रयोग हुँदै आएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि अहिले हुम्ला रसुवाको नाका प्रयोगमा आएको छ।

समुद्री सतहबाट करिब ६ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर रसुवागढी नाकाबाट करिब ६ सय किलोमिटर टाढा पर्छ। कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्ने बताइएको छ। साधारणतया ४० देखि ७० बर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन्। 

नेपालको पशुपतिनाथपछि कैलाश मानसरोवरलाई पवित्र तीर्थस्थल मानिने गरिएको छ। मानसरोबर जानेमध्ये करिब १५ देखि २० प्रतिशत तेस्रो मुलुकका पर्यटक हुने कार्यालयले जनाएको छ। 

 

प्रकाशित: १७ श्रावण २०७५ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App