१६ चैत्र २०८० शुक्रबार
समाज

संरक्षणको पखाईमा बेलायती महारानी र जंगबहादुरको हौदा

बेलायती महारानी एलिजावेथ द्वितियले नेपालमा बाघ र गैंडाको सिकार गर्न इङ्गल्याण्डबाटै ल्याईएको भनिने बिशेष सिकारी हौदा । तस्बिर : नागरिक

मकवानपुर– बेलायती महारानी एलिजावेथ द्वितिय सन् १९६१ मा नेपाल आइन्। नेपालका तत्कालिन राजा महेन्द्रको निमन्त्रणामा आएकी उनले चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडाको सिकार समेत गरिन्। तर बेलायतकी शक्तिशाली महारानीले सिकार गर्दा प्रयोग गरेको विशेष सिकारी हौदा भने संरक्षणको पखाईमा छ। महारानी एलिजावेथ चढ्ने हौदा इङ्गल्याण्डबाट ल्याइएको दस्तावेज पाईए पनि त्यसको पर्याप्त प्रमाण भने पाइँदैन्।

महारानी एलिजावेथ द्वितियका साथै शिकारका सौखिन राणा प्रधामन्त्री श्री ३ जंगबहादुरले प्रयोग गरेको सिकारी हौदालाई हात्तीसार संग्राहलयमा राखिएको छ। संग्रहालय हेटौंडा–काठमाडौं सडक नजिकै मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–६ चोकबजारमा रहेको छ।

राजधानी काठमाडौं र तराईको मुख्य नाकाको रुपमा भीमफेदी रहेकाले हात्तीसार संग्रहालय त्यहाँ बनाइएको जानकारहरु बताउँछन्। भीमफेदीसम्म सडक बनेकाले काठमाडौंबाट लावा लस्करसहित तराई जाने क्रममा प्रधानमन्त्री जंगबहादुरले भीमफेदीस्थित हात्तीसारमा हात्ती बाँध्ने गर्दथे। ३२ रोपनी क्षेत्रफलमा फैलिएको हात्तीसारमा राणा प्रधानमन्त्रीसहित राजा वीरेन्द्र, ज्ञानेन्द्र र उनका भाई धिरेन्द्र लगायत राजपरिवारले प्रयोग गरेका हौदा र अन्य सामाग्री छन्। राज परिवारका सदस्यहरु चितवनमा बस्ने गरेको भएपनि सवारीका बेला सामान चाँही हात्तीसार संग्रहालयबाटै लैजाने गरेको चितवन राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी एवम् संग्रहालयका हेरालु भरत सिं लामाले बताए।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–६ चोकबजारमा रहेको ऐतिहासिक तथा पर्यटकीय हात्तीसार संग्राहलय ।

हेटौंडा, चितवन लगायतका क्षेत्रमा त्यत्तिबेला औलो रोगको प्रकोप हुने भएकाले विशिष्ट ब्यक्तिहरुका लागि चिसापानी गढीको फेदीमा रहेको भिमफेदी सुरक्षित बसोबासको गन्तब्य बनेको देखिन्छ। सिकार खेल्न तराईका जंगल पुगेपनि चिसो हावापानी रहेको भीमफेदीमा बस्ने गरेकाले बिदेशी पाहुना, राणा प्रधानमन्त्री, राजपरिवारले हात्तीमा प्रयोग गरेका सामाग्री त्यही राख्ने गरेको भीमफेदीका बृद्धहरु बताउँछन्। त्यसबेला घोडाहरु भने अहिले क्षेत्रीय कारागार रहेको स्थानमा बाँध्ने गरिन्थ्यो।

हेरालु लामाका अनुसार संग्रहालयमा ४२ वटा हौदा छन् जसमध्ये महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा सिकारी हौदा र जंगबहादुर राणाले प्रयोग गरेका पिंजडा हौदा छन्। विशिष्ट ब्यक्तिहरु हात्तीमाथि बस्ने २२ वटा फलाम र छालाको काठी, हात्तीको ढाँडमा राख्ने १८ वटा खरगद्दा, सिकारका बेला घेर्ने सेतो कपडा समेत संग्रहालयमा रहेको उनको भनाई छ। विशिष्ट ब्यक्तिको सवारीका बेला भाइभारदार, सुसारे, सिपाही र विशिष्ट ब्यक्तिहरु चढ्ने हौदाहरु समेत संग्रहालयमा रहेको लामाले बताए।

वि.सं. २०४५ सालसम्म राजपरिवारले सिकार खेल्न संग्राहलयबाटै सामग्रीहरु लैजाने गरेको बताउँदै भिमफेदी गाउँपालिका ६ का वडा अध्यक्ष सीताराम थापा तत्कालिन राजा र राजपरिवारका सदस्यहरु सिकार खेल्न चितवन, कोशी, शुक्लाफाटा र बर्दिया राष्ट्रिय निकुन्जमा यहाँबाटै हौदा र सामग्री लाने गरेको बताउँछन्। बहुदल आएपछि सिकार खेल्ने क्रम घटेपछि हौदा र हात्तीसारको प्रयोग खासै भएको पाइँदैन्।

नेपाल भ्रमण वर्ष १९९८ को सन्दर्भमा भीमफेदी हात्तीसार संग्राहलयमा मत्स्य प्रदर्शनी कक्ष समेत बनाइएको थियो। तत्कालिन सांसद हिरण्यलाल श्रेष्ठको पहलमा वि.सं. २०५५ साल पौष १५ गते मत्स्य प्रदर्शनी कक्षको उद्घाटन गरिएको थियो। त्यसयता यो संग्रहालयका संरक्षणमा कसैले चासो दिएका छैनन्।

बेलायती महारानी एलिजावेथ द्वितियले नेपालमा बाघ र गैंडाको सिकार गर्न इङ्गल्याण्डबाटै ल्याईएको भनिने बिशेष सिकारी हौदा देखाउँदै हेरालु भरत सिं लामा ।

‘मैले बर्षौदेखि हात्तीसार संग्राहलयको निःशुल्क हेरचाह गर्दै आएको छु’, हेरालु लामाले भने, ‘यहाँ आएका बेला प्रमुख जिल्ला अधिकारीदेखि नेताहरुलाई अनुरोध गरे पनि कतैबाट संरक्षणको प्रयास नहुँदा ज्यादै दुःख लागेको छ।’

हात्तीसार संग्रहालय चितवन राष्ट्रिय निकुञ्ज मातहतमा रहे पनि निकुञ्जले वेवास्ता गर्दै आएको छ। ईटा र सिमेन्टले बनेको तथा जस्ता पाताले छाएको संग्राहलय भवन ३४ फिट लम्बाई र १६ फिट चौडाई रहेको छ। २०४० सालमा जिल्ला सदरमुकाम भीमफेदीबाट हेटौंडामा सारिए पछि हात्तीसार संग्रहालय समेत छायाँमा परेको स्थानीय अगुवाको भनाई छ। तर राजपरिवारले हौदाका सामग्रीहरु प्रयोग गर्न छाडेपछि निकुञ्जले समेत हात्तीसार संग्रहालयलाई बेवारिसे अवस्थामा छाडेको छ। 

यता गाउँपालिका अध्यक्ष हिदम लामाले हात्तीसार संग्रहालयलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चालु आर्थिक वर्ष २०७५/७६ देखि गुरुयोजना बनाएर काम अघि बढाइने बताए। ‘संग्रहालयको संरक्षण र प्रबर्द्धन गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको महत्वपूर्ण गन्तव्य बनाउँन सकिन्छ’, उनले भने।
 

प्रकाशित: १४ श्रावण २०७५ १४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App