७ वैशाख २०८१ शुक्रबार
समाज

सम्झौता चरणमा खानेपानी आयोजना

इलाम- सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ। २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ।

आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन भएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए। ‘मुहान र  विभिन्न स्थानमा राखिने टंकीको जग्गा व्यवस्थापन भएकाले अब सम्झौताको चरणमा पुगेका छौं,’ उनले भने, ‘जनसहभागिताको रकम पनि संकलन भइसकेको छ, केही थोरै रकम उठ्न बाँकी छ।’ आयोजनाका लागि उपभोक्ताले उठाउनुपर्ने ४ करोड २१ लाख रुपैयाँ संकलन भएको र प्रत्येक उपभोक्ताबाट १५ हजार रुपैयाँका दरले रकम उठाएको उनले जनाए। इलाम नगरपालिकाले पनि २५ प्रतिशत ऋणका लागि जमानत बस्ने भएको थापाको भनाइ छ। ‘अब आयोजना पक्का बन्छ भन्ने भनेर ढुक्क हुने बेला भएको छ,’ उनले भने, ‘एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधि केही दिनमै सम्झौताका लागि इलाम आउँदैछन्।’

उपभोक्ता समितिका अनुसार आयोजनाका लागि ४ पक्षबीज सम्झौता हुनेछ। उपभोक्ता समिति, इलाम नगरपालिका, नगर विकास कोष र एडिबीले सम्झौतापत्रमा हस्ताक्षर गर्ने उनले बताए । ‘सम्झौतापछि ग्लोबल टेन्डर खुला गरिने छ,’ अध्यक्ष थापाले भने, ‘टेन्डर खुलाएर दसैंअघि नै फिल्डको काम सुरु गर्ने लक्ष्यसहित काम भइरहेको छ।’

नगरपालिकाले नगर विकास कोषबाट कुल लागतको २५ प्रतिशत ऋण लिनुपर्ने प्रावधान आयोजनाको भएकाले नगरपालिकाले पनि त्यसको तयारी गरेको छ। नगर प्रमुख महेश बस्नेतले चालू आर्थिक वर्षको नगरसभाले सदरमुकामका लागि सञ्चालन गरिने आयोजनामा नगरले निर्वाह गर्नुपर्ने दायित्वबारे निर्णय गरिसकेको बताए। ‘अब उपभोक्ता समितिले काम अघि बढाउँछ, हाम्रो आवश्यकता परेका बेला हामीले गर्नुपर्ने सहयोग गर्छौं,’ प्रमुख बस्नेतले भने।

२० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको आयोजना अढाई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ। ८५ करोड ४३ लाख ९ हजार रुपैयाँ लगानीको खानेपानी आयोजनाका लागि ५ प्रतिशत अर्थात् ४ करोड २१ लाख रुपैयाँ स्थानीय उपभोक्ताको लागत सहभागिताको रकम हो । २ हजार ७ सय ९८ धारा र घडेरीसहित करिब ३ हजार उपभोक्ताबाट कम्तीमा १५ हजार रुपैयाँका दरले रकम संकलन गरिएको छ। उपभोक्ताले १५ हजार रुपैयाँ सहयोग गरेवापत् आयोजनाले घर–घरमा धारा निःशुल्क जोडिदिने, बढीमा १२ मिटर पाइप पनि निःशुल्क गरिदिने उपभोक्ता समितिको प्रतिबद्धता छ। १ वर्षसम्मको मर्मतको जिम्मा पनि आयोजनाले नै लिने भएकाले उपभोक्तालाई सहुलियत नै हुने अध्यक्ष थापाको भनाइ छ। स्कुल, कलेज, सरकारी कार्यालय, संघ–संस्थालगायतबाट चाहिँ त्योभन्दा बढी रकम संकलन गरिएको उपभोक्ता समितिले जनाएको छ।

एडिवीले कुल लागतको ७० प्रतिशत रकम बेहोर्नेछ भने २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट सहुलियत ब्याजदरमा ऋण लिनेछ। टेक कन्सल्ट प्रालि र इन्टिग्रेटेड नेपाल प्रालिले गत असोजमा आयोजनाको विस्तृत अध्ययन गरेका थिए। करिब ३० किलोमिटरमा रहेको गिताङ खोलाबाट १६ तथा मेवा र रातेखोला प्रतिसेकेन्ड १०–१० लिटर पानी सदरमुकाम ल्याउने योजना छ। नगरपालिकाकै सुम्बेकबाट ४ लिटर थपिएर ४० लिटर पानी सदरमुकाम ल्याइनेछ। आयोजना सम्पन्न भएपछि सदरमुकाममा चौबीसै घण्टा खानेपानी आपूर्ति हुनेछ। अहिले प्रतिसेकेन्ड ८ देखि १० लिटर खानेपानी आइरहेपनि उपभोक्ताको माग २२–२३ लिटरको छ।

आयोजना सञ्चालन भएपछि सदरमुकामका २० हजार ८ सय ४ उपभोक्ता लाभान्वित हुनेछन्। आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नेगरी आयोजनाको काम सुरु हुनेछ। आयोजना सम्पन्न भएपछि इलाम नपाको वडा ६, ७, ८ र ९ का बासिन्दा लाभान्वित हुनेछन्। आयोजनाको सुरुको वर्ष यहाँका २ हजार ८ सय ९६ घरका २१ हजार ४ सय ३३ उपभोक्तालाई दिनको सय लिटरका दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ।

प्रकाशित: १४ श्रावण २०७५ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App