७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

सर्लाही– पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

उक्त समूहले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन, लालबन्दी, नयाँरोड, नवलपुर, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिबास, बाराको निजगढ लगायत बजारमा मोबाइल एवं ल्यापटप पसलहरुमा चोरी गर्ने गरेको हरिवन प्रहरीको दाबी छ। सुराकीका आधारमा चोरी गरेको १५ थान मोबाइल र १ थान ल्यापटपसहित ५ जनालाई चोरी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर– २ का २७ बर्षीय माईते भन्ने धन बहादुर विश्वकर्मा, २१ बर्षका प्रकाश भन्ने पन्जा बहादुर ब्लोन, १८ बर्षीय रुप बहादुर रुम्बा छन्। यस्तै चन्द्रपुर– ४ का २१ बर्षीय गोरे च्याङबा भन्ने दुर्गा बहादुर ब्लोन र सर्लाही बागमती नगरपालिका–४ निवासी ३५ बर्षीय बाबु भनिने दिपकराज घिसिङ रहेका छन्। सुराकी एवं चोरी भएको मोबाइल ट्रयाक गरेर दुई जनालाई रौतहटको पौराई क्षेत्रबाट समातिएको र उनीहरुकै बयानका आधारमा बाँकी ३ जनालाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरुलाई सर्लाही जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले बताए।

पक्राउ परेका ५ जनाको बयान एवं विक्री भएको स्थानमा छापा मार्ने क्रममा हालसम्म १७ थान मोबाइल र १ थान ल्यापटप बरामद भएको र थप बरामदी कार्य जारी रहेको छ। ‘तराईमा चोरी गरेर काठमाडौं भाग्ने र उतै सामान विक्री गर्ने एवं काठमाडौंमा चोरी गरेर यता विक्री गर्ने गिरोह नै रहेछ’, प्रहरी निरीक्षक थापाले भने, ‘त्यसैले चोरी भएको सामानहरु बरामदीका लागि गम्भीर अुनसन्धान जारी राखेका छौं।’ पक्राउ परेका मध्ये २÷३ जनाको त विभिन्न पसलहरुमा चोरीको प्रयास गरिरहेको अवस्थामा सीसी क्यामेराले खिचेको भिडियो समेत सुरक्षित रहेको प्रहरीको भनाई छ। 

‘अहिले बरामद् भएका ३५ हजार रुपैंयासम्म पर्ने मोबाइल पनि ८÷१० हजारमै बिक्री गर्ने गरेको पाईएको छ’, थापाले भने, ‘निकै सस्तोमा पायौं भनेर किन्ने ग्राहकलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारीमा छौं।’

गत बैशाख १३ गते राती हरिवनको दुर्गा मार्केटमा रहेको मोबाइल पसलबाट ५६ थान मोवाइल, १ थान ल्यापटप र ७० हजार नगदसहित ६ लाख ५७ हजार बराबरको चोरी भएको थियो। त्यस्तै आधा दर्जन अन्य पसलहरुमा चोरी प्रयास भएको थियो। यसअघि पनि पटक–पटक हरिवन, लालबन्दी, नयाँरोड लगायत बजारस्थित मोबाइल र ल्यापटप पसलहरुमा चोरी हुँदै आएको छ।

यो समूहलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न बजार स्थित मोबाइल पसलमा हुने चोरीका घटनाहरु घटने प्रहरीको विश्वास छ।

प्रकाशित: १४ श्रावण २०७५ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App