४ वैशाख २०८१ मंगलबार
समाज

भूकम्प पीडितलाई अनुदान वितरण रोकियो

सिन्धुपाल्चोक - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला तह परिवर्तित संरचनामा सञ्चालनमा नआउँदा भूकम्प पीडितलाई अनुदान वितरण रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पीडितले आवास निर्माण अनुदान पाउन सकेका छैनन्। 

यसअघि जिल्ला समन्वय समिति (तत्कालीन जिविस) ले अनुदान वितरण गर्दै आएको थियो । प्राधिकरणले संरचना बदल्दै जिल्लामा अनुदान वितरण र व्यवस्थापनसहित स्थानीय पूर्वाधार हेर्ने गरी छुट्टै निकाय जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) गठन गरेको छ । प्राधिकरणको गत चैत २० गतेको निर्णयमा साउन १ देखि यो इकाइ सञ्चालनमा आउने भनिएको थियो। तर जिल्लामा अझै नयाँ संरचनामा जानेबारे गृहकार्य थालिएको छैन। 

प्राधिकरणले नयाँ संरचनामा जाने निर्णय गरिसकेकाले त्यो कार्यान्वयनमा नआइञ्जेल अनुदान वितरण रोकिने इकाइका जिल्ला आयोजना व्यवस्थापन प्रमुख माधवजंग कार्कीले बताए । नयाँ संरचनामा जाने निर्णयसँगै प्राधिकरणले जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर कार्कीलाई इकाइ प्रमुखको जिम्मेवारी दिएको थियो। 

‘इकाइको कार्यालय व्यवस्थापन नै भएको छैन,’ कार्कीले नागरिकसँग भने, ‘प्राधिकरणले खर्चको अख्तियारीसमेत दिइसकेको अवस्था छैन ।’ परिवर्तित संरचनामा जान सरोकारवाला सम्वद्ध निकायबीच छिट्टै बैठक बसेर निर्णयमा पुग्ने उनले जानकारी दिए। जिससबाट हुँदै आएको अनुदान वितरणको कार्यप्रगतिसहतिको कागजात लिन र कोलेनिकाबाट जिससमा रकम निकासा हुँदै आएको लेखा प्रणाली इकाइ (जिमाली) मा ल्याउन समय लाग्ने उनले बताए। 

यसअघि सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयु) को प्राविधिक सिफारिसका आधारमा जिससले पीडितलाई अनुदान वितरण गर्दै आएको थियो । त्यस्तै भूकम्पमा क्षतिग्रस्त पूर्वाधारको काम गर्न जिल्ला प्राविधिक कार्यालय अन्तर्गत छुट्टै जिल्ला आयोजना कार्यान्वयन इकाइ थियो। 

यी सबै कामलाई सहजीकरण गर्न प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय थियो । प्राधिकरणको नयाँ निर्णयसँगै सचिवलय खारेज भएको छ । यसले गर्ने कामसहित  अनुदान वितरण र पूर्वाधारका काम एउटै इकाइ जिमालीले गर्ने जिल्ला आयोजना व्यवस्थापन प्रमुख कार्की बताउँछन् । प्राविधिक जाँच गर्ने र किस्ता सिफारिस गर्ने भवन डिभिजनको जिम्मेवारी भने यथावत छ। 

अनुदान वितरण रोकिए पनि भवन डिभिजनको आयोजना कार्यान्वयन इकाइले जिससमा सिफारिस पठाउन छोडेको छैन । सिफारिस नपठाउनु भन्ने सूचना कतैबाट नआएकाले नियमित काम गरिरहेको इकाइ प्रमुख टंक गौतम बताउँछन् । उनका अनुसार साउनयता मात्रै करिब १ हजार पीडितलाई विभिन्न किस्ता दिन जिससलाई सिफारिस पठाइएको छ। 

अनुदान वितरण रोकिएपछि जिससमा भूकम्प पीडित लाभग्राही गुनासो लिएर पुग्न थालेका छन् । ‘किन अनुदान आएन भनेर पीडित गुनासो गर्न धाइरहेका छन्,’ जिससका सूचना अधिकृत युगबहादुर खड्काले भने । प्राधिकरणको नयाँ संरचना सञ्चालनमा नआउँदा अन्यौल थपेको उनले बताए। उनका अनुसार प्रकृया नमिल्दा रोकिएका पूराना किस्ता निकासा दिने बाहेक अनुदान वितरणका सबै काम जिससले रोक्दै आएको छ। 

प्रकाशित: ७ श्रावण २०७५ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App