२४ श्रावण २०७७ शनिबार
समाज

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं - साउनको सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने भक्तजनको भीड व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि नै लाम व्यवस्थापन, स्वयंसेवक एवं सुरक्षाकर्मी परिचालन, बत्ती व्यवस्थापन, आकस्मिक स्वास्थ्य उपचार सञ्चालन लगायत तयारी पूरा भएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए। “बिहान ३ बजेदेखि नै पिंगलास्थान, गौशालाचोक र उमाकुण्डबाट लाम लाग्ने व्यवस्था मिलाइएको छ, बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्नेछन्, ढकालले भने , दर्शनार्थीले छिटो पूजा एवं दर्शन गरेर फर्कन सक्ने गरी सबै व्यवस्था मिलाइएको छ।”

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो। 

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउ लगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास समेत रहेकाे छ। 

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको गाैतमले बताए। 

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्च तत्वले बनेको छ। यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ। रासस

प्रकाशित: ६ श्रावण २०७५ २०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App