१५ चैत्र २०८० बिहीबार
समाज

अवैध नशालु औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

भक्तपुर- किशोर र युवाहरुलाई लागुऔषधका रुपमा प्रयोग गर्ने नशालु अवैध औषधि बिक्री गरिरहेको अवस्थामा भेटिएपछि आज भक्तपुरको सूर्यविनायकमा एक औषधि पसलमा शिलबन्दी गरिएको छ। 

सूर्यविनायक नगरपालिकाले आज आकस्मिक रुपमा गरेको औषधि पसलको अनुमगनका क्रममा विभिन्न नामका अवैध औषधिसहित बरामद गरेपछि सूर्यविनाक नगरपालिका–६ पाण्डुबजारमा रहेको तेजस्वी फार्मेसी शिलबन्दी गरेको छ। 

नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी, औषधि व्यवस्था विभागका निरीक्षक, नगरपालिकाको बजार निरीक्षक, जनप्रतिनिधि र पत्रकारसहितको टोलीले मंगलबार गरेको औषधि पसलको अनुगमनका क्रममा झोलामा पोका–पोका बनाएर बिक्रीका लागि राखिएको औषधि बरामद गरेको थियो। 

यो फार्मेसीबाट अवैध औषधि बिक्री भइरहेको र कलिला किशोर एवं युवाले नशाका रुपमा औषधि सेवन गर्ने गरेको गुनासो आएपछि नगरपालिकाले आकस्मिक रुपमा पसलमा अनुगमन गरेको तिम्सिनाले जानकारी दिए। 

भक्तपुर नगरपालिका साबिक १४ बस्ने डी. फार्मेसी उत्तीर्ण गरी औषधि पसल सञ्चालन गर्दै आएकी रिना श्रेष्ठले सञ्चालन गरेको उक्त पसलबाट टोलीले ट्रेनडल १०० एमजी, ५० एमजी, क्लोनाज, क्लस्पलगायतका पाँचवटा ब्राण्डका अवैध औषधिहरु बरामद गरेको छ। 

सूर्यविनायक नगरपालिका–५ का वडाध्यक्ष रामेश्वर भुजुले यो पसलबाट अवैध औषधि बिक्री भइरहेको र किशोर तथा युवाहरुले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको गुनासो आएको बताए। 

औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक राम शर्मा पौडेलले पसल शिलबन्दी गरी वयानका लागि पसल सञ्चालकलाई २४ घण्टाभित्र विभागमा बोलाएको बताउँदै त्यसपछि आवश्यक कारबाही शुरु गरिने बताए। रासस

प्रकाशित: १ श्रावण २०७५ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App