७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको पक्षमा जुम्ली महिला सडकमा

जुम्ला– चिकित्सा शिक्षा र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुनु पर्ने माग गर्दै ११ दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा जुम्लाका महिला सडकमा उत्रिएका छन्। उनीहरुले तत्काल डा. केसीको जीवन रक्षा गर्नुका साथै जनताको पक्षमा उठाएका जायज माग पुरा गर्न सरकारलाई दबाव दिएका हुन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला नजिकैवाट निस्केको महिलाको जुलुस कृष्णमन्दिर विजयनगर हुदै वसपार्कमा गएर टुंगिएको थियो। 

‘डा. गोविन्द केसीको जीवन रक्षा गर, जनताको पक्षमा गरिएको माग पुरा गर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम शुरु गर’ लगायतका नारा लगाउँदै जुम्लाका महिला सडकमा निस्किएका हुन।  चन्दननाथ नगरपालिका ३ की हरी महतले, डा. गोविन्द  केसीका माग विपन्न, गरिव, दुखिका पक्षमा भएकोले सम्बोधनका लागि सरकार तयार हुनुपर्ने बताईन। उनले भनिन, ‘डा. केसी कर्णालीको जुम्लालाई अनशनको थलो बनाएर कर्णालीको स्वास्थ्य अवस्थालाई मजबुद बनाउन दबाब दिँदै हुनुहुन्छ, यसमा हामी सबैको ऐक्यबद्धताको खाँचो छ। डा. केसीको जीवन रक्षा र मागप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनका लागि चौतर्फी दबाब आवश्यक छ।’ 

‘अत्यधिक महंगोका कारण कर्णालीका नागरिकले आफ्ना छोराछोरीलाई स्वास्थ्य शिक्षा राम्ररी दिन सकेका छैनन, डक्टरी पढाएर विरामीको उपचार गरेको हेर्न चाहने सपना कर्णालीवासीको पनि छ’, उनले थपिन, त्यो सपना पुरा गर्नकै लागि डा. केसी अनशनमा छन, सबैले यहि बखत साथ दिनुपर्छ।’ उनका अनुसार डा. केसीको माग पुरा भएमा स्वास्थ्य सेवा र शिक्षा सर्वसाधारणमैत्री हुनेमा कुनै शंका हुनेछैन्। उनले धर्ति माता भएकै कारण जुम्लाका महिलाले डा. केसीको जीवन रक्षाको लागि सघर्षमा उत्रिएको बताइन।  
डा. केसीको पक्षमा सडकमा उत्रिएकी अर्की कमला बुढ्थापाले समग्र देशको स्वास्थ्य अवस्थामा विकृति मिसिएको भन्दै विकृति हटाउनको लागि डा. केसीको सत्याग्रह जारी रहेको बताईन। उनले भनिन, ‘सामूहिक हितका लागि डा. केसीले उठाएको माग सरकारले कुनै पनि हालतमा संवोधन गर्नुपर्छ।’

कर्णालीमा स्वास्थ्य अवस्था कमजोर हुदा कर्णालीवासीले उपचार नपाएर मर्नु परेको र कैयन दुर्गम ठाउँका नागरिकले स्वास्थ्य संस्था देख्न पाएर उपचार सेवा लिन नपाएको सुनाउँदै उनले थपिन, ‘ति स्वास्थ्य सेवा र शिक्षावाट वञ्चित नागरिकको हितको लागि डा. केसी एक कुशल अभिभावक बनेका छन्। एउटा अभिभावकलाई जसरी, छोराछोरी, गाउँ छिमेकले सहयोग गर्छन, त्यसैगरी डा. केसीलाई सहयोग गर्नुपर्छ।’ उनका अनुसार अब दैनिक सदरमुकाम खलंगामा महिला सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाका लागि माग गर्नेछन्। जुम्लामा रहेका ७ वटा गाउँपालिका र एक नगरपालिकाबाट महिलालाई जम्मा गरेर डा. केसीको माग पुरा गराउनका लागि सरकारको विपक्षमा आन्दोलनको आधिबेहरी सिर्जना गर्ने तयारी भइरहेको जानकारी दिइन। 

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमै अनशनरत छन्। उनको स्वास्थ्य अवस्था खस्कदो अवस्थामा छ। शरीरमा म्याग्नेसियमका कारण मुटुको चाल तलमाथि भइरहेको छ। डा. केसीको उपचारमा संलग्न डा. प्रविण गिरीले भने, ‘मुटुको धड्कन तलमाथि छ, जतिसुकै बेला मुटुले काम गर्न छोड्न सक्छ।’ उनका अनुसार डा. केसीलाई वाकवाकी लाग्ने, मांशपेशी बाँउडिने, शरीरमा चिनीको मात्रा कम हुँदै गइरहेको छ। सामान्य तया शरीरमा म्याग्नेसियमा मात्रा १ दशमलव ६ देखि २ दशमलव ६ हुनुपर्छ। तर डा. केसीको शरीरमा म्याग्नेसियमको मात्रा ० दशमलव ६ मात्रै छ। यो निकै खतरायुक्त अवस्था हो, डा. गिरीले सुनाए।

प्रकाशित: २६ असार २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App