८ वैशाख २०८१ शनिबार
समाज

चुरे संरक्षण गर्न साढे ९ करोड खर्च

मकवानपुर– चुरे क्षेत्रको संरक्षणको लागि मकवानपुरमा चालु आर्थिक वर्ष २०७४÷७५ मा ९ करोड ५३ लाख रुपैयाँ खर्च गरिएको छ। चुरेक्षेत्र संरक्षणमा क्रियाशिल झण्डै आधा दर्जन सरकारी निकायले उक्त रकम खर्च गरेका हुन्।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पहिरो रोकथाम तथा नियन्त्रण र चुरे क्षेत्रमा जलपुनर्भरण पोखरी निर्माणमा ३ करोड ६० लाख रुपैयाँ खर्च गरेको जिल्ला बन कार्यालय मकवानपुरका जिल्ला बन अधिकृत तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण इकाईका सचिव प्रल्हाद धितालले बताए।  त्यस्तै राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यालयले १ करोड ८३ लाख रुपैयाँ खर्च गरेको उनले बताए।

मकवानपुरका जिल्ला भू–संरक्षण कार्यालयले १ करोड ८३ लाख रुपैयाँ, जिल्ला वन कार्यालयले ७६ लाख ९१ हजार रुपैयाँ, पशु सेवा कार्यालयले ३३ लाख २३ हजार रुपैयाँ तथा जिल्ला कृषि विकास कार्यालयले ३६ लाख रुपैयाँ चुरे संरक्षणमा खर्चेका छन्। 

सबै कार्यालयहरुले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम मार्फत् एकीकृत रुपमा बजेट खर्चिएको जिल्ला बन अधिकृत धितालले दाबी गरे। मकवानपुरमा बकैया र शक्ति हिरामुनी नदी प्रणालीलाई केन्द्रित गरि राष्ट्रपति चुरे तराई मधेश संरक्षणको कामहरु भइरहेको उनले बताए।

कार्यक्रम अन्तर्गत् जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले तटबन्धन तथा नदी नियन्त्रण र भू–संरक्षण कार्यालयले गल्छी, पहिरो तथा खहरे रोकथामको क्षेत्रमा काम गरेको जिल्ला वन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले बताए। जिल्ला वन कार्यालयले वृक्षरोपण, विरुवा उत्पादन र हटस्पट निर्माण तथा जिल्ला पशु सेवा कार्यालयले गोठ सुधार, बायो ग्याँस र घाँस उत्पादनमा रकम खर्चेको उनले जानकारी दिए। उनका अनुसार कृषि विकास कार्यालयले साना सिँचाई, मौरी विकास, तरकारी विकास तथा भिरालो जग्गामा खेती प्रविधिलगायत क्षेत्रमा काम गरिरहेको छ।

प्रकाशित: २५ असार २०७५ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App