८ वैशाख २०८१ शनिबार
समाज

डंगोललाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

तस्विर : मनिषा द्वा

काठमाडौं– एक दशकदेखि विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण डंगोललाई २०७४ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डंगोललाई पुरस्कार प्रदान गरे। पुरस्कार राशी ५० हजार रुपियाँ रहेको छ।   

विज्ञान तथा प्रविधिका विभिन्न विषयवस्तुलाई छापा तथा रेडियोको माध्यमबाट सरल र बोधगम्य भाषा–शैलीमा सम्प्रेषण गरेर योगदान पु-याएबापत डंगोललाई पुरस्कृत गरिएको नास्टले जनाएको छ। रिभोसाइन्स म्यागेजिन तथा रिभोसाइन्स डटकमका सम्पादक रहेका डंगोल नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे) का सचिव समेत हुन्। उनले यसअघि बिबिसी नेपाली सेवामा विज्ञान संवाददाता भएर तीन वर्ष काम गरिसकेका छन्। भाैतिक शास्त्रमा स्नातकाेत्तर  गरेका डंगाेलले विज्ञान ,प्रविधि, वातावरण , उर्जा ,परम्परागत प्रविधि अादि विधामा रिपाेर्टिङ गर्दै अाएका  छन् । यसैबीच, उक्त अवसरमा नास्टले विज्ञान क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धाताहरूलाई समेत पुरस्कृत गरेको छ। 

नेपालको वनस्पति विज्ञान तथा च्याऊ अनुसनधानमा चार दशकदेखि अनवरत रूपमा सक्रिय रहेर काम गरेबापत डा. महेशकुमार अधिकारीलाई विज्ञानतथाप्रविधि प्रज्ञा  पुरस्कार प्रदान गरिएको छ। खानी तथा भूगर्भ विभागका डा. सोमनाथ सापकोटाले विज्ञान पुरस्कार तथा पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका डा. हेमराज पन्तले  प्रविधि पुरस्कार प्राप्त गरेका छन्। विज्ञान तथा प्रविधि युवा पुरस्कार पाउनेमा गोल्डेनगेट इन्टरनेशनलकलेज, काठमाडौंका डा. नारायणप्रसाद गैरे, इन्टरनेशनल वाटर म्यानेज्मेन्ट इन्स्टिच्यूट, नेपाल कार्यालयका  डा. विष्णुप्रसाद पाण्डे, नेशनल कलेज, निस्ट, काठमाडौंका डा. प्रमोद पौडेल, आइयूसिएनका डा. दीपनारायण शाह र कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलालीका डा. प्रेम सिंह साउद छन्। 

प्रज्ञा प्रतिष्ठान विज्ञान तथाप्रविधि प्रवद्र्धन पुरस्कार रोबोटिक्स क्लब, पुल्चोक क्याम्पस,त्रि.वि. र नेपाल एष्ट्रोनोमिकल सोसाइटीका सुरेश भट्टराईले प्राप्त गरेका छन्। नेशनल कलेज, निस्ट, काठमाडौंका डा. विष्णुप्रसाद मरासिनी र महेन्द्र मोरंग बहुमुखी क्याम्पस, विराटनगरका डा. सुजितकुमार शाहले द वल्र्ड एकेडेमी अफ साइन्स पुरस्कार पाएका छन्। वनस्पतिशास्त्र केन्द्रीय विभाग, त्रिविका प्रतिक्षा चालिसे र जैविक प्रविधि केन्द्रीय विभाग, त्रिविका रोशन नेपालले थेसिस लेखनका लागि दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार पाएका छन्। 

मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेसका डा. रामकुमार अधिकारी, प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. मुकेशकुमार चालिसे,  रसायनशास्त्र केन्द्रीयविभाग, त्रिविका प्रा.डा. अमरप्रसाद यादव र जैविकप्रविधि केन्द्रीय विभाग, त्रिवि प्रा. डा. रजनी मल्लले नबिल विज्ञान तथा प्रविधि पुरस्कार पाएका छन्। थेसिस लेखनका लागि फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका मोहन महतो, मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार ऊर्जा अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, भुवनेश्वर प्रविधि पुरस्कार, हिमालयन ब्रिक प्रालि., बबरमहल र जीतबहादुर नकर्मी धातु प्रविधि पुरस्कार उर्मिला आरन उद्योग, भोजपुरले प्राप्त गरेका छन्।

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले विज्ञान क्षेत्रको विकासबिना मुलुकमा समृद्घि नआउने बताउँदै नास्टलगायत संस्थाले व्यावहारिक अनुसन्धानमा जोड दिनुपर्ने बताए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै वैज्ञानिक अनुसन्धानमा निरन्तर लागिरहन आग्रह गरे। 

प्रकाशित: २१ असार २०७५ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App