१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जसले धेरैलार्इ जीवन दिए उनै असहाय

दमक- सन् १९९१ मा भुटान छाडेका नेपालीभाषीको पछि लाग्दै डा. भम्पा राई भारत हुँदै नेपाल आए । शरणार्थी जीवन व्यतीत गर्नुपर्ला भनेर उनले कुनै पल पनि सोचेका थिएनन् ।

२७ वर्षदेखि शरणार्थीीको सेवामा लागेका भुटानका रोयल डाक्टर अहिले आफै थलिएका छन् । भुटानी राजपरिवारका निजी चिकित्सकका रूपममा सेवा गरेका उनको भुटानबाट बाहिरिनुअघि राम्रै सान, मान र दाम थियो । भुटानमा रहँदा खानलाउन पर्बाह थिएन, थिम्पु जेनरल हस्पिटलमा उच्च ओहोदाको डाक्टरी पेसा छाडेर छाप्रामा बसेका शरणार्थीलाई निःशुल्क सेवा दिन आएका उनी अहिले आफै थलिएका छन् । अनि थलिएको ज्यानले मृगौला खराब भएकी श्रीमतीको स्याहारमा लागेका छन्।

भारतको सिलिगुडीको आनन्दथोक अस्पतालमा उपचार गराइरहेका डाक्टर भम्पाको आन्द्राको दोस्रोपटक शल्यक्रिया भएको छ । दिसा र पिसाबबाट रगत जान नरोकिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भुटानीकै निःशुल्क उपचार गरिदिने डाक्टर नै थलिएपछि शरणार्थी पनि अहिले समस्यामा परेका छन् । शरणार्थीको स्वदेश फिर्तीको अगुवाइ गर्दै आएका उनको ५७ वर्षीया श्रीमती उर्मिला त पुरानै रोगले थला परेकी छिन् । उर्मिलाको दुवै मृगौला काम गर्न नसक्ने अवस्थामा छन् । औषधिले पनि काम नगरेपछि डायलासिसले उनको जीवन थामिएको छ।

स्थानीयसँगै शरणार्थीको करिब २७ वर्ष सेवा गरेका भम्पा भन्छन्, ‘दाताले दिएका भरमा बस्ने शरणार्थीको उपचारका लागि भुटानका सबैथोक छाडेर यहाँसम्म आएँ, अब उनीहरूकै सेवामा बिताउँछु । ७२ वर्षीय उनका लागि अहिले उनको आन्द्रा नै बाधक बन्यो । उनी राम्रोसँग काम नगर्ने गरी थलिएका छन् । दिनरात शरणार्थीका लागि खटिने डाक्टर राईको उपचारका लागि सबैले सहयोग जुटाउनुपर्छ, ‘भम्पाको उपचारमा सहयोग गर्दैआएको दमक रेडक्रसका सभापति प्रकाश बुढाथोकीले भने, ‘भुटानीमात्रै हैन, उनले आर्थिक अवस्था दरिलो नभएका नेपालीका लागि पनि ज्यान दिएरै सहयोग गरे।’

आफ्नै निजी गाडीमा झिटीगुन्टा हालेर आएका उनी झापाको कन्काई तीरमा बिजोग खेपेर बसेका भुटानी शरणार्थीको भीडमा मिसिए । भुटानको राजपरिवारले पनि विश्वास गरेका राई आएपछि शरणार्थीमा पनि आशाको सञ्चार भयो । शरणार्थी हुँदा पनि मानव भएर बाँच्न पाउने अधिकारका बारेमा उनले शिविर व्यवस्थापन, बसोबास, सहायता प्रदानलगायतका विषयमा पहल गरे । उनीसहितकै पहलमा झापा र मोरङमा ७ वटा शिविर बनाइए ।

डाक्टर राई भुटानमा उच्च क्षमता भएका चिकित्सकमा गनिन्थे । उनी न्युरोसर्जन थिए । जानेको पेसा थियो, उनले दमकमा आएर डाक्टरी नै सुरु गरे । ‘पैसा त त्यसबेला नै कमाएको थिए,’ राईले भने, ‘स्वदेश फिर्ताको पर्खाइमा बसेका भुटानीको सेवा अहिले मुख्य धर्म हो ।’ यही प्रणका कारण २६ वर्षमा उनले हजारौंको संख्यामा बिरामीलाई निःशुल्क उपचार गरे । ‘पैसा कमाउनु मेरो लक्ष्य कहिल्यै थिएन । भुटानमा फलाफाल पैसा छाडेर नेपाल आएको हुँ,’ उनले कुनै बेला सुनाएका थिए, ‘तर, भुटानबाट लखेटिएका मेरा दाजुभाइले सामान्य बिरामी हुँदा अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले जानेको काम गर्नुलाई कर्तव्य ठानें।’

अढाई दशकसम्म उनले डाक्टरी पेसालाई सेवाकै रूपमा प्रस्तुत गरे । अहिले बिरामी श्रीमतीको अनुहार हेर्दै थलिएका राई भन्छन्, ‘उपचार नगरौं आफ्नै आँखा अगाडि श्रीमती मर्दैछिन्, गरौं उपाय छैन ।’ उनका आँखा रसाए । नथामिने शरीरलाई उनले जसोतसो अडेस लगाए । । उर्मिलाको स्वास्थ्य समस्या अढाई वर्षअघिकै हो । औषधिले रोगलाई जित्दै आएको थियो । तर, अहिले त औषधिले पनि काम गर्न छाड्यो । अहिले सातामा दुईपटक डाइलासिस गर्नुपर्छ । मृगौला फेर्नलाई त ६० लाख रुपैयाँभन्दा बढी लाग्छ । अढाई दशकसम्म शुल्क लिएर उनले उपचार गरेका भए ६० लाख रुपैयाँ ठूलो रकम थिएन । तर अहिले मृगौला फेर्ने कुरा त टाढै जाओस्, डायलासिस गराउन पनि उनलाई धौधौ परेको छ ।

शरणार्थी भए पनि उनी दमकमा डेरा गरी बस्दैछन् । ‘उपचारमा समस्या भएपछि दुःख गरी किनेको जापानिज कार पनि अढाई लाख रुपैयाँमा बेचेँ,’ आँसु पुछ्दै उनले भने, ‘अहिले मागेर डाइलसिस गर्न र आफ्नै फलोअपका लागि जाँदैछु ।’ अहिले उनी आफ्नो साधन बेचेकोमा पछुताउँदैछन् । ‘साथीभाइले नपत्याउने, शरणार्थीको अभिभावक युएनएचसिआरले समेत गाडी पत्याएन,’ उनले सुनाए, ‘अहिले जेनतेन साथीभाइसँग मागेर काम चलाउदैछु ।’
उनको क्लिनिकमा अचेल शरणार्थी उपचारका लागि आउने क्रम पातलिएको छ ।

एक लाखभन्दा बढी विभिन्न देशमा पुनस्र्थापना भएर पुगेपछि स्वदेश फिर्तीका पक्षधर उनीकहाँ फाट्टफुट्ट शरणार्थी आइरहन्छन् । पुनर्वास सुरु हुनुअघि दैनिक दर्जनौं बिरामी शरणार्थी उनीकहाँ उपचारका लागि आउँथे, मनको बह पोख्न पनि उत्तिकै आउँथे । उनले भने, ‘त्यो भीड देख्दा धेरैलाई लागेको थियो कि डाक्टर राई खुब कमाउँदैछन् भन्ने । जतिखेरै मान्छेको भीड । त्यति भीड लाग्ने अरू क्लिनिकमा धेरै कमाइ पनि हुन्थ्यो । तर, मेरो कुरा धेरैलाई थाहै भएन ।’ उनको कुरा भनेको चाँहि निःशुल्क उपचार हो । हुन त शरणार्थीका लागि आम्दा अस्पतालमा निःशुल्क उपचार हुन्थ्यो । तरm आम्दा पुग्नुअघि धेरैजसो चाँहि राईकोमा आउँथे ।

भुटानी शरणार्थीलाई भुटानै फर्काउनुपर्छ भन्ने अभियानका मुख्य अगुवा उनी आफैंले नै स्थापना गरेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष पनि हुन् । ‘भुटान सरकारले अब बाँकी रहेका शरणार्थीका लागि स्वदेश फिर्ती गराउन तयार हुनुप¥यो,’ राईले भने, ‘त्यसका लागि भारतसहितको वार्ताको आवश्यकता छ । उनले शरणार्थी तेस्रो मुलुक पुनर्वास गरेर समस्या समाधान नहुने उल्लेख गरे।

भुटानबाट सँगै आएका राईका बुबाआमा पनि नेपालमै बिते । आमा विष्णुमा २०५४ र बुबा आइतराज २०६४ मा झपामै बिते । भुटानको राजसी जागिर छाडेर नेपाल आएका शरणार्थी डाक्टर अहिले आफ्नो र श्रीमती उर्मिलाको जीवनका लागि सहयोग खोजिरहेका छन् । निसन्तान राई दम्पतीका लागि अस्पतालमा कुरुवा बस्ने पनि कोही छैनन् । डा. भम्पासँग अहिले सामान्य औषधि सेवन गर्नलाई समेत पैसा छैन । सिलिगुडीमा हुने आफ्नो फलोअप उपचार र श्रीमतीको औषधि तथा डायलासिसका लागि समेत अहिले उनले सहयोगका लागि आग्रह गर्नुपरेको छ ।

‘मैले पैसा कमाउन चाहेको भए अहिलेसम्म धेरै कमाइसक्थें । तर, मैले त्यतातिर ध्यान दिइनँ ,’ राईले भने, ‘भुटानमा सर्वस्व गुमाएका दाजुभाइको सेवाका लागि नै अहिलेसम्म लगिरहें ।’ उनले सेवालाई कमाइको उपाय बनाएनन्, सधैं निस्वार्थ सेवा नै गरे । ‘जिन्दगीमा पैसा अहिले पो चाहियो त,’ राईले भने, ‘यत्रो दमक छ, आठवटै मुलुकमा छरिएका दाजुभाइ छन्, पक्कै म ठीक भएर पुनः सेवामा फर्कनेछु, अनुहार उज्यालो पार्दै उनले भने ।

प्रकाशित: २१ असार २०७५ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App