७ वैशाख २०८१ शुक्रबार
समाज

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

रौतहट– सञ्चालनको अनुमति नै नलिएका र अनुमति लिएको भन्दा बढी कक्षा संचालन गर्ने विद्यालयहरुमाथि गौर नगरपालिकाले कारबाही गर्ने भएको छ। अनुमति नलिएका विद्यालयहरुलाई नगरपालिकाले बन्द गराउन लागेको हो।

जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन विद्यालयहरु खोलिएका छन्। नगरपालिकाले अनुमति नदिएको भए पनि दर्जनभन्दा बढी विद्यालयले अभिभावकलाई ठगेर कक्षा संचालन गरिरहेको पाइएको छ। 

शिक्षा ऐन अनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एकको मात्रै अनुमति पाउने र त्यस पछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेको पाएमा एक तह थप गर्दै जाने प्रावधान रहेको छ। तर यस वर्षदेखि संचालनमा आएका विद्यालयहरुले एकै पटक ८ र १० कक्षासम्म पनि विद्यालय संचालन गरेको पाइएको छ।

सरकारी नियमलाई लत्याउँदै सिधै अभिभावक ठगिरहेका विद्यालयहरुको बारेमा गुनासो बढेपछि गौर नगरपालिकाको सार्वजनिक सूचना नै जारी गर्दै अभिभावक ठग्ने काम तत्काल बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिएको थियो । नगरपालिकाको निर्देशनलाई अटेर गरेका विद्यलायहरु माथि कारवाहीको प्रक्रिया अगाडि बढाएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताएका छन्। ‘हामीले तीन पटकसम्म सार्वजनिक सूचना गरेर अनुमति बगैर खोलिएका विद्यालय बन्द गर्न अनुरोध गरेका थियौं’, मेयर गुप्ताले अगाडि भने, ‘नगर शिक्षा समितिको बैठकबाटै निर्णय भइसकेकोले अब एक साता भित्रमा सबै अवैध र गैरकानूनी निजी विद्यालहरु बन्द हुन्छ।’

आफू खुशी विद्यालयको स्तर वृद्धि गर्ने र एउटा विद्यालयमा पढाएर अर्को विद्यालयको सर्टिफिकेट समेत दिने गरेको भेटिएकोले गैरकानूनी बोर्डिंग स्कूलले विकृति बढाएको स्थानीय बुद्धिजिवीहरुको भनाई छ। गौर २ का उत्तम साहले घरैपिच्छे खोलिएका विद्यालयहरुले विकृति बढाएको आरोप लगाएका छन्।

कोचिङ्गका नाममा पनि भ्रामक प्रचार गरेर एउटै विद्यार्थीबाट बिस हजारभन्दा बढी रकम उठाएर व्यापार गरेको भेटिएपछि विद्यालयको समयमा कोचिङ्ग संचालन गर्नेहरुलाई पनि कारवाही गरिने नगर स्रोतको दाबी छ। कोचिङ्ग कक्षा भन्दै केही निजी विद्यालयले १० कक्षासम्म विद्यालयनै संचालन गरेको पनि पाइएकोले नगरपालिकाको ध्यान गएको हो। जथाभावी विद्यालय संचालन गरेर शैक्षिक विकृति निम्तिएकोले अनुमतिबेगर संचालनमा रहेका विद्यालयहरु बन्द गरिने शिक्षा शाखा प्रमुख नन्दकिशोर गुप्ताले बताएका छन्। 

जिल्लामा अनुमतिबिना करिब एक सय विद्यालयहरु संचालनमा रहेको अनुमान छ।

प्रकाशित: २० असार २०७५ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App