४ वैशाख २०८१ मंगलबार
समाज

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

गगनेखोलाको पहिरो पन्छाउदै स्काभेटर । तस्बिर : नागरिक

जुम्ला– तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रु अलपत्र परेका छन्। कर्णाली राजमार्गको कालिकोट खण्डदेखि जुम्लासम्म झण्डै आधा दर्जन स्थानमा पहिरो गएको हो। पहिरोका कारण जुम्ला, कालिकोटवाट सुर्खेत, नेपालगंज र सुर्खेत नेपालगंजदेखि जुम्ला कालिकोट आउने सयौं मालबाहक तथा यात्रुबाहक सवारी अलपत्र परेका छन्। 

कर्णाली राजमार्गको  सुनार खोला, कालेखोला, छेका, राँचुलीमा, गगने खोलामा पहिरो गएको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सुवासचन्द्र बोहोराका अनुसार गगनेखोला बाहेकको सबै स्थानको पहिरो पन्छाईसकेको छ। गगने खोलामा स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको उनले बताए। ‘राजमार्गको आधा दर्जन स्थानमा पहिरो जाँदा यात्रु र सवारी बीचमै अलपत्र परेका छन्। गगने खोलामा काम भइरहेकाले रातिसम्म सडक खुल्न सक्छ’, उनले भने।

कर्णाली राजमार्ग बन्द हुँदा जुम्लासम्म सवारी आउन सकेका छैनन्। सबै सवारी बीचमै रोकिँदा यात्राका लागि टिकट लिइसकेका यात्रु अलपत्र परेका हुन्। यात्रुले भने कर्णाली सरकारको ध्यान कर्णाली राजमार्ग प्रति नहुँदा सामान्य वर्षा हुने वित्तिकै पहिरोको सिकार हुनु परेको गुनासो गरेका छन्। उनीहरुले सडक खुलाउने विषयमा स्थानीय प्रशासनले तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्। शिक्षा सेवा आयोगको परीक्षाको तयारीका लागि नेपालगञ्ज जान लागेका बलबीर थापाले सरकारले वर्षायाममा पहिरो जाने सम्भावित ठाउँमा डोजर राख्नुपर्ने बताए। ‘पहिरो गएको एक दिनपछि स्काभेटर वा डोजर आउँछ, कसरी समयमै पहिरो पन्छाएर यात्रुहरु गन्तव्यमा पुग्न सक्छन्’, उनले प्रश्न गरे।

वर्षा लागेसंगै कर्णाली राजमार्ग अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उनले कर्णाली प्रदेश सरकारको ध्यान कर्णाली राजमार्गतिर केन्द्रित हुनुपर्नेमा जोड दिए। कर्णाली राजमार्गको दहिखोला र गगनेखोलामा वर्षेनी पहिरो जाने भएका कारण सरकारले पहिरो जाने सडकको विकल्प खोज्न ढिलाई गरेको आरोप कर्णालीवासीको छ।  

प्रकाशित: १९ असार २०७५ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App