१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्रामीण सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन

धादिङ- वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेको छ। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले बिजोग बनेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक, त्यहि माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ। वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ। सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ।

यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु। अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भए पनि गन्तव्यसम्म पुर्‍याउँछन्। जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपरेको रुविभ्याली गाउँपालिका २ का सुल्फा तामाङले बताए। ‘गन्तव्यमा पुग्नु पनि छ’, तामाङले भने ‘त्यसैले कहिले बिग्रिएको बाटो सम्माउदै कहिले गाडी धकाल्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।’ पानी परेपछि न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ। अरु समयमा तीन/चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्नुपरेको यात्रुहरुको भनाई छ। ठाउँ–ठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छाडेका छन् न सडक मर्मततर्फ कुनै पक्षको ध्यान गएको छ।

यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु। अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भए पनि गन्तव्यसम्म पुर्‍याउँछन्।

प्राविधिकको स्टमेटवीना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण जिल्लाको ग्रामीण क्षेत्र कुरुप र यात्राका लागि खतरा बन्दै गएका छन्। प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ। गाँउबस्तीमा पर्ने असरबारे ख्याल नगरी बनाइएका धेरै मोड र साँघुरा सडकका कारण विकासभन्दा बढी विनास भएको स्थानीयले बताएका छन्। ‘विगतमा हचुवाका भरमा सडक खनिए’ तामाङले भने, ‘ती अहिले जोखिममा छन्, कतिपयमा यातयात समेत संचालन हुन सक्ने अवस्था नै छैन।’ सवारी साधनहरुले यात्रु मात्र होइन साथमा कोदालो, साबेल लगायतका बाटो खन्ने सामग्री समेत बोकेर हिड्नुपर्ने बाध्यता छ।

२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गको रुपमा निर्माण सुरु गरिएको धादिङबेसी–सल्यानटार सडक हरेक वर्ष सडक मर्मत सम्भारको लागि एक करोडको हाराहारीमा खर्च भइरहेपनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन। ग्रामीण क्षेत्रका बासिन्दाको सास्ती भने जस्ताको जस्तै छ। पैदल हिँड्दा दुई तीन दिन लाग्ने बाटोमा यातायात अवरुद्ध भएपछि उत्तरी क्षेत्रमा खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य वस्तुहरु ढुवानीमा कठिनाई हुनुका साथै सदरमुकामका मानिसहरुको सम्पर्क भन्दा टाढै बस्नु परेको छ।

गाउँ–गाउँमा सडकको पहुँच पुर्‍याउने होडबाजीका साथ निर्माण भएका सडकहरु न त प्राविधिक रुपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै। तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम रोकएको छैन। मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पुर्‍याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको नीलकण्ठ नगरपालिका १२ का नरबहादुर लम्सालले बताए। ‘सडकमा पानी जम्ने र सडक भत्किएर खाल्टाखुल्टी बनेको छ’ लम्सालले भने, ‘सडकको विजोग अवस्थाले गन्तव्यमा नै नपुगिएला कि भन्ने डर हुन्छ।’

धादिङबेसी–सल्यानटार सडक खण्ड, सांकोष–तिप्लिङ सडक खण्ड, आदामघाट–किराञ्चोक सडक लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ । बाटो बिग्रिएका कारण सवारी साधन चल्न सकेको छैन। यातायात सञ्चालनमा आउन नसक्दा यात्रुहरू समस्यामा परेका छन् । यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाटोको अवस्था यति जोखिम पुर्ण र बिग्रिएको छ कि सवारी साधनमा यात्रा गर्नुभन्दा पैदल हिड्न सुरक्षित र छिटो हुने गर्दछ।

बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ। सडकको अवस्था विग्रिएको कारण सवारी साधनमा बढी क्षति पुग्ने भएकाले यात्रुहरुबाट धेरै भाडा लिनुपरेको सवारीधनीहरु बताउँछन् । माल सामान ढुवानीमा बर्षा सुरु हुने वित्तिकै साविकको भन्दा तेब्बरसम्म भाडा बढ्ने गर्दछ। बर्षा सुरु भएको केही समयमा नै धादिङको उत्तरी क्षेत्रमा दैनिक उपभोग्य बस्तुहरुको मुल्य आकासिने गर्दछ भने उपभोग्य बस्तुहरुको अभाव समेत हुने गर्दछ। सडकमा सवारीका साधनहरु नियमित रुपमा चल्न नसक्दा बर्खाको समयमा उत्पादन हुने तरकारी लगायत अन्य कृषि उपजहरु विक्रीका लागि बजारसम्म ल्याउन समेत कठिन हुने गरेको किसानहरु बताउँछन्।

हिलाम्मे बाटोले उत्तरी क्षेत्रमा जाने यात्रुहरु मात्र होइन नगरभित्र बसोबास गर्नेहरु पनि आजित छन्। सडक नजिक घर हुनेहरु हिलो र धुलोको पीडामा बस्नु परेको छ। वर्षेनी मर्मतमा खर्च हुने गर्छ तर सडकको अवस्था विजोग हुने गरेको छ। ठेकेदारको लापरबाही र राज्यको अनुगमन निकाय फितलो हुँदा धादिङका ग्रामीण सडकहरु अवस्था निकै कमजोर देखिएको छ। सडक मर्मतमा स्यानीयबासीको सक्रियता देखिएपनि अनुगमन निकायले ध्यान नपुर्‍याउँदा सडकको अवस्था विजोग बनेको हो। प्राविधिक दृष्टिकोणले ट्र्याक खोल्नै नमिल्ने ठाउँमा समेत जथाभावी ट्र्याक खोल्नाले गाउँमा दुर्घटना हुने गरेको छ । बढी मोड, ठाडो, उकालो र ओरालो हुने भएकाले ग्रामीण सडकमा दुर्घटना हुने गरेको छ।

प्रकाशित: १७ असार २०७५ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App