१५ चैत्र २०८० बिहीबार
समाज

तनाव व्यवस्थापनमा अब्बल बन्दै महिला

वैदेशिक रोजगारीका कारण घरमा उत्पन्न तनाव कम गर्ने अभ्यास गर्दै खाल्लेकी महिला। तस्बिर : दमन/नागरिक

खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेकी नन्ददेवी बस्नेतका पति रोजगारीको सिलसिलामा विदेश पुगेका छन्। पति बिदेसिएपछि धेरै समयसम्म एक्लो महसुस गरेकी उनले अहिले आफ्नो काँधमा आइलागेको जिम्मेवारी परिवारका सदस्यसँग मिलेर पूरा गर्न थालेकी छन् । घरभित्र र बाहिरका हरेक काम परिवारका सदस्यसँग समन्वय गरेर सम्पन्न गर्दा बोझ र तनाव दुवैबाट मुक्त हुने उनी बताउँछिन्।

यस्तै, विदेशबाट पतिले पठाएको पैसाका विषयमा परिवारका सदस्यबीच झगडा हुन नदिन खाल्लेकी मुना बस्नेतले हिसाबकिताब पारदर्शी राख्न थालेकी छिन्। विदेशबाट आएको पैसाको हिसाब र परिवारसँग सम्बन्धित घरभित्र तथा बाहिरका समस्या सासूससुरालगायतलाई सुनाउन थालेपछि विवाद हुन छाडेको र सहज समाधान हुन थालेको उनको अनुभव छ।

वैदेशिक रोजगारीका कारण निम्तिने समस्या र तनाव व्यवस्थापन गर्न मनोसामाजिक परामर्श दिन थालिएपछि समाजमा सकारात्मक सोचको विकास

वैदेशिक रोजगारीका कारण निम्तिने तनाव र समस्या समाधान गर्न गाउँमै सञ्चालित मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि नन्ददेवी र मुनाको पारिवारिक व्यवस्थापन क्षमतामा परिवर्तन आएको हो। ‘घरको काम विभाजन गरेर गर्न थाल्यौं, हिसाबकिताब पनि परिवारका सबै सदस्यलाई जानकारी गराउन थाल्यौं,’ नन्ददेवीले भनिन्, ‘जसका कारण परिवारमा झगडा र तनाव हुन छाडेको छ। परामर्श कक्षामा सहभागी भएपछि हामी आफैंले परिवर्तन भएको महसुस गरेका छौं।’

मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट लाग्ने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला अहिले संयुक्तरुपमा तनाव व्यवस्थापनमा लागेका छन्। आक्षेप र पारिवारिक समस्याका कारण अप्ठेरोमा परेका महिला मनोसामाजिक परामर्श लिएर तनाव व्यवस्थापनमा लागेको स्थानीय विमला विश्वकर्मा बताउँछिन्। वैदेशिक रोजगारीका कारण घरपरिवारमा निम्तिने समस्याले अप्ठेरोमा परेका बेला परिवारकै सदस्यबाट साथ नपाउँदा कतिपय महिला डिप्रेसनको सिकार भएको, कतिपय महिलाले ज्यानै गुमाएको र परिवारसमेत विखण्डन भइरहेको तथ्यलाई ध्यानमा राखेर मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको बालसेवा समाज खोटाङले जनाएको छ।

पति विदेश भएका महिलाहरूलाई मनोसामाजिक परामर्श दिनेक्रममा अरुको कुरा काट्न नहुने, परिवारका सदस्यसँग मिलेर बस्नुपर्ने, विदेशबाट पतिले पठाएको पैसाको हिसाब पारदर्शी राख्नुपर्ने, घरको काम बाँडेर गर्नुपर्ने, तनाब हुँदा पानी पिउनेलगायत विषयमा जानकारी दिइएको छ। यस्तै, सहभागीलाई तनाव व्यवस्थापनका लागि तनावरहित व्यायम गर्नसमेत सिकाइएको मनोसामाजिक परामर्शकर्ता गायत्री तामाङ आचार्यले बताइन्। ‘मनोसामाजिक परामर्श सेवापछि पति विदेश भएका कारण आफूले भोग्नुपरेका समस्या समाधानका लागि महिला भेला भएर छलफल गर्छन्, समस्या पहिल्याउँछन् र समाधानका उपाय खोज्छन्,’ तामाङ आर्चायले भनिन्, ‘महिलाले कुरा काट्न छाडे, परिवारका हरेक सदस्यसँग सुमधुर सम्बन्ध कायम गरेर सुखदुःख साटासाट गर्न थाले, निराशा त्यागेर जीवनलाई सुखी बनाउनेतर्फ लागेका छन्। उनीहरू अहिले तनाव व्यवस्थापनमा अब्बल बन्दै गएका छन्।’

मनोसामाजिक परामर्श कक्षा लिएपछि बालबच्चालाई कुटपिट गर्ने, गाली गर्ने, विदेशबाट आएको रकम सदुपयोग नगर्ने, अर्काको कुरा काट्ने बानीमा सुधार आएको स्वयं ती महिलाले बताएका छन्। मनोसामाजिक परामर्शक्रममा घरको काम बाँडेर गर्ने, सुखदुःख साटासाट गर्ने, अरुका कुरा नकाट्ने, तनाव व्यवस्थापन गर्नेलगायत विषयमा जानकारी हासिल भएको सीता बस्नेतले बताइन्।

वैदेशिक रोजगारीका कारण अनावश्यक तनाव झेल्न बाध्य महिलाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ। पति वैदेशिक रोजगारीमा गएका खाल्लेका महिलालाई मनोसामाजिक परामर्श दिइएको छ। वैदेशिक रोजगारीका कारण निम्तिने तनाव कम गर्दै सुखी र उत्साहपूर्ण जीवन जिउने वातावरण निर्माणका लागि मनोसामाजिक परामर्श अभियान चलाइएको हो। ‘धेरै टेन्सन भएपछि के गरौं, के गरौं हुन्थ्यो। अहिले नराम्रो सोच फेरिएको छ,’ स्थानीय दुर्गा बस्नेतले भनिन्, ‘सकारात्मक सोच्दा सबै टेन्सन हटाउन सकिँदो रहेछ।’

पैसा कमाउने सपनामा ऋणको भारी बोकेर पति विदेसिएपछि घरव्यवहार चलाउने जिम्मा पत्नीको काँधमा आइलाग्छ। घरव्यवहार सम्हाल्न मेलापात र अर्मपर्मका लागि वरपरका आफन्तकै सहारा लिनुपर्ने हुन्छ। यो क्रम बढ्दै गएपछि समाजले ती महिलालाई शंकालु नजरले हेर्न थाल्छ, नानाथरी कुरा सुन्नुपर्छ महिलाले। पति साथमा नभएकै आधारमा आफूमाथि लगाइने गलत आक्षेपको प्रतिरोध गर्न नसक्दा सुन्दर सपना बोकेका कतिपय परिवार विखण्डन भइरहेका छन्। कतिपय महिला अनावश्यक तनाव झेल्न बाध्य छन्। त्यही तनावले गर्दा परिवारका अन्य सदस्यसँग झगडा हुने, पतिसँग फोनमा बाझाबाझ हुने, डिप्रेसनजस्ता समस्यमा महिलाले भोग्दै आएका छन्। कतिपय महिलाले त आत्महत्यासमेत गरेका छन्। तनावले गर्दा कतिपय महिलाले डिप्रेसनको औषधि सेवन गर्न थालेको पाइएको छ।

बाबुआमा वैदेशिक रोजगारीमा हानिएपछि त्यसको असर बालबालिकामा परेको छ। घरमा बाबु वा आमा वा दुवै नहुँदा कलिला बालबालिकाले एक्लो महसुस गर्छन। जसले गर्दा उनीहरूमा नकारात्मक सोच पलाउँदा दुःखद घटनासम्म हुने गरेका छन्। बालबालिकामा निदाएको समयमा बाबु–आमा खोज्ने, बर्बराउने, राम्ररी खाना नखानेलगायत समस्या देखिएका छन्। बाबुको अनुपस्थितिमा निराश आपफ्ना बालबच्चालाई कतारमा रहेका बाबुसँग बेलाबेलामा फोनमार्फत कुरा गराउँदै आएको खाल्लेकी सीता अधिकारीले बताइन्। चार वर्षकी छोरी झरना र ६ वर्षका छोरा आशीषले खाना खानुअघि बाबुसँग बोल्न खोज्ने गरेको उनले बताइन्। अर्की दुर्गा बस्नेतल पनि घरमा बाबु नदेखेपछि टोलाउने ११ वर्षकी छोरी एसिलालाई कतारमा रहेका बाबु इन्द्र बस्नेतसँग बारम्बार फोनमार्फत कुरा गराउनुपरेको बताइन्। ‘बालबच्चाले खाना खानेबेला, सुत्नेबेला बाबु खोज्ने गरेका छन,’ अधिकारीले भनिन्, ‘दिनमा एकचोटि बाबुसँग कुरा गर्न पाएनन् भने न्यास्रो मान्छन्।’ यस्ता विभिन्नखाले समस्या समाधान गर्न सुरक्षित आप्रवासन परियोजना (सामी) र बालसेवा समाज नेपाल खोटाङले मनोसामाजिक परामर्श दिन थालेको हो।

प्रकाशित: १७ असार २०७५ ००:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App