१६ जेष्ठ २०७७ शुक्रबार
समाज

गंगामायाको जीवन रक्षाको लागि आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले छोराको हत्यामा संलग्नहरुलाई कानुनी कार्वाहीको माग गर्दै अनसनमा रहेकी गंगामायाको जीवन रक्षाका लागि संवेदनशील हुन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताहरुद्वारा हत्या गरिएकोमा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षको लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन भएको छैन । हत्यामा संलग्नहरुले विगत ३० दिन देखि आमरण अनसन बसेकी अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बन्दै गएको भन्दै जीवनरक्षाको लागि आग्रह गरिएको छ ।

मानवअधिकार रक्षाको लागि आयोगले गृह सचिव प्रेम कुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफलको गरेको छ।गृहसचिव र प्रहरी महाबाट सर्वोच्चको आदेशको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन गरिएको प्रयास र विधिको शासन कायम राखी दण्डहीनता अन्त्य गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रसंघकाे पनि चासाे

यसैबीच संयुक्त राष्ट्रसंघले पनि गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गरेको छ। नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भेलरी जुलियान्डले गंगामाया अधिकारीको स्वास्थ्यका लागि चिन्ता व्यक्त गर्दै बिहीबार विज्ञप्तिमार्फत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको जनाएकी छन्।

‘छोरा कृष्णप्रसाद अधिकारीका हत्यारा छविलाल पौडेलको पक्राउको माग गर्दै उनी पटकपटक अनशन बस्दै आएकी छन्। उनको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको छ। उनको जीवन रक्षाका लागि सबैलाई सहयोग गर्न आग्रह गर्छु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। भेलरीले नेपाल सरकार र मानवअधिकार संस्थाहरूलाई गंगामायाको जीवन रक्षाका लागि सहयोग गर्न अनुरोध गरेकी छन्। छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै अनशन बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो। उनको शव अहिलेसम्म शिक्षण अस्पतालको शवगृहमै छ । गंगामाया एक दशकदेखि न्यायका लागि लडिरहेकी छन्।

 

प्रकाशित: १५ असार २०७५ ११:३८ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App