८ वैशाख २०८१ शनिबार
समाज

इलाममा बिहीबारदेखि युवा महोत्सव

युवा महोत्सवका लागि सिँगारिएको इलाम।    तस्बिर/नागरिक

इलाम – १ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा सुरु हुँदैछ। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको छ। 

महोत्सवका लागि इलाम बजारलाई फूलमालाले झकिझकाउ पारिएको छ। कार्यक्रमस्थलहरूमा स्टेज निर्माण गरी सिँगारिएको छ भने चोकबजारमा विभिन्न स्टल राख्ने तयारी पनि गरिएको छ। मुख्यमन्त्री शेरधन राईले बिहीबार इलाम चोकबजारमा महोत्सव उद्घाटन गर्दैछन्। आयोजक जिल्ला युवा समितिले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारीबारे जानकारी गराएको छ। १ नम्बर प्रदेशका १४ वटै जिल्लाका युवाको प्रतिनिधिमूलक सहभागिता रहने महोत्सवमा विविध कार्यक्रम आयोजना गरिँदैछ।

महोत्सवको पहिलो दिन बिहान सदरमुकामको ठूलो टुँडिखेलबाट १० वटा जातीय परम्परागत झाँकीसहितको र्याली चोकबजारसम्म ल्याइने छ। समितिका अनुसार बिहान ८ बजे इलाम चोकबजारमा म्याराथनसमेत आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पनि सहभागी हुनेछन्। मध्याह्न १२ बजे मुख्यमन्त्री राईले महोत्सव उद्घाटन गर्ने र साँझ ‘प्रदेश नम्बर ८’ नाटक मञ्चन गर्ने कार्यक्रम रहेको समिति अध्यक्ष नवराज शंकरले बताए। 

उद्घाटनका अवसरमा जिल्लामा रहेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने १२ व्यक्तित्वलाई सम्मानसमेत गरिने उनले बताए। ‘पत्रकारिता, पर्यटन, व्यापार, सामाजिक संघ–संस्था, खेलकुद, साहित्य, चित्रकला, गायन, महिला उद्यमलगायत क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिने छ,’ उनले भने, ‘२० हजार युवाले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अनुमान छ।’ महोत्सवमा यो प्रदेशका विभिन्न जिल्लाको पहिचान झल्किने किसिमका २५ स्टलसमेत राखिने छ। 

शुक्रबार बिहान युवा कवि सम्मेलन, दिउँसो प्रदेशस्तरीय युवा सम्मेलन, साँझ सांस्कृतिक कार्यक्रम, युवा परिषद् र जिल्ला युवा समितिबीच अनुभव आदान–प्रदान तथा गायक कर्णदासको एकल साँझ कार्यक्रम राखिएको छ। युवा गजल मेला, राजनीतिक दल र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल, सांस्कृतिक कार्यक्रम, उद्यमीबीच अनुभव आदान–प्रदानसहित शनिबार महोत्सव समापन गरिने उनले बताए। ‘महोत्सवले युवाको प्रतिभा प्रोत्साहन, वर्तमान अवस्था र युवाका लागि गर्न सकिने कार्यक्रमबारे इलाम घोषणापत्र जारी गर्नेछ,’ अध्यक्ष शंकरले भने।

महोत्सव आयोजनाका लागि विभिन्न उपसमिति निर्माण गरिएको छ। आउँदो आर्थिक वर्षदेखि जिल्लास्तरमा युवा समिति नरहने भएकाले चालू आर्थिक वर्षको अन्त्यमा विशेष महोत्सव आयोजना गर्न लागेको समिति अध्यक्ष शंकरले जनाए। ‘आउँदो वर्षदेखि युवा समितिको संरचना संघ, प्रदेश र स्थानीय तहमा मात्रै हुने छ,’ उनले भने, ‘समितिको अवधि सकिने बेला उदाहरणीय काम गर्न लागेका हौं।’ 

प्रकाशित: १३ असार २०७५ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App