७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

रसुवा – नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा विद्यालय छनौट गरी नमुना विद्यालयको रुपमा विकास गर्ने कार्य सुरु भएको छ।शैक्षिक गुणस्तर सुधार गर्नका लागि ल्याइएको कार्यक्रममा निर्देशिका अनुसार मापदण्ड पूरा गर्न नसक्दा रसुवाका सामुदायिक विद्यालय ‘नमुना विद्यालय’ बन्नबाट वञ्चित भएका छन्।

जिल्लामा सञ्चालित माध्यमिक तहको १० वटा सामुदायिक विद्यालयमध्ये नौँ वटा विद्यालयले नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ ले तोकेको मापदण्ड पुर्याउन नसक्दा छनौटमा नपरेका हुन् ।जिल्लाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय मावि भने यसअघि नै छनोटमा परिसकेको छ । एसियाली विकास बैँकको सहयोगमा उक्त विद्यालय निर्माण हुन लागेको हो । तर, विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत छनोट गर्न लागिएको विद्यालय भने मापदण्ड पूरा नहुँदा छनोट हुन सकेको छैन्।

नमुना विद्यालय छनोटको समयसीमा भित्र कुनै पनि विद्यालयले निवेदन नदिएका शिक्षा विकास तथा समन्वय इकाई रसुवाका प्रमुख बालकृष्ण सिंखडाले बताए । ‘विभागले एक साताभित्र नमुना विद्यालयका लागि निवेदन पेश गर्न पत्राचार गरेको थियो, प्रमुख सिंखडाले भने, निर्देशिकामा तोकिएको मापदण्ड पूरा गर्न नसक्दा कुनै पनि निवेदन परेन् ।’निर्देशिकामा नमुना विद्यालय छनोटका लागि माध्यमिक विद्यालय हुनुपर्ने, पर्याप्त जग्गा भएको हुनुपर्ने, विद्यालय सुरक्षित स्थानमा रहेको हुनुपर्ने, लिखित प्रतिबद्धता र सिफारिस पेश गर्नुपर्ने तथा विद्यार्थी सङ्ख्यालाई आधार मानेको छ।

निर्देशिकामा तोकिएको अन्य मापदण्ड पूरा भएपनि १० रोपनी जग्गा हुनुपर्ने र प्रतिकक्षा ४० जना विद्यार्थी हुनुपर्ने मापदण्डका कारण विद्यालय छनौट हुन नसकेको प्रमुख सिंखडाको भनाई छ । निर्देशिकाको नमुना विद्यालय छनोटका न्युनतम सर्तहरुको ‘ख’ मा भौतिक र शैक्षिक पूर्वाधार निर्माणका लागि विद्यालय हाताभित्र वा हातासँग जोडिएको तराईमा भए न्युनतम दुई विघा र हिमाली, पहाडी तथा उपत्यका क्षेत्रमा भए न्युनतम १० रोपनी जग्गा हुनुपर्ने व्यवस्था छ।

शिक्षा नियमावली (आठौँ संशोधन) २०७१ को परिच्छेद १५ को विद्यार्थी संख्या, भर्ना र कक्षा चढाउने व्यवस्था अनुसार सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतः उपत्यका तथा तराई,पहाड र हिमाली क्षेत्रमा क्रमशः ५०, ४५ र ४० हुनुपर्नेछ।

जग्गा पर्याप्त भएपनि शिक्षा नियमावलीमा तोकिएको विद्यार्थी नपुगेको कारण नमुना विद्यालयका लागि आवेदन नदिएको आमाछोदिङ्मो गाउँपालिका गोल्जुङस्थित पार्वतीकुण्ड माविका प्रधानाध्यापक अमरलाल यादवले बताए ।
‘हाम्रो विद्यालयमा १४ रोपनी छरिएको जग्गा छ, प्रधानाध्यापक यादवले भने, नियमावलीमा तोकिए अनुसार प्रतिकक्षा ४० जना विद्यार्थी छैन् ।’ यसभन्दा अगाडि विद्यार्थी सङ्ख्या पुग्ने भएपनि अहिले घटेको उनले बताए।

सामुदायिक विद्यालयमा समान शैक्षिक पहुँच, नयाँ सूचना प्रविधिको प्रयोगसहित आधुनिक शिक्षण विधि मार्फत शैक्षिक गुणस्तर सुधार गर्नका लागि नमुना विद्यालय छनौटको कार्यक्रम ल्याइएको हो । रसुवामा पाँच वटा स्थानीय तह रहेका छन् । पाँच वटा स्थानीय तहमा १० वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन्।

नमुना विद्यालय छनोटका लागि पहिलो चरणमा आवेदन मागेको भएपनि निवेदन नपरेको तथा परेपनि न्युनतम आधार पूरा हुन नसकेका कारणले नमुना विद्यालयको रुपमा ११ वटा जिल्ला छनोटमा परेका थिएनन्।पहिलो चरणमा छनोट हुन नसकेपछि रसुवा सहित पाँचथर, महोत्तरी, कपिलबस्तु, म्याग्दी, मुस्ताङ, मुगु, हुम्ला, जाजरकोट, बैतडी र कञ्चनपुरमा दोस्रो पटक असार १ गते विभागले पत्राचार गरेको थियो ।

दुई पटकसम्म पत्राचार गर्दा समेत जिल्लामा नमुना विद्यालय छनौट हुन नसक्नुमा अव्यवहारिक शिक्षा नीति रहेको देखिन्छ ।शिक्षा नियमावलीमा भएको विद्यार्थी सङ्ख्या सम्बन्धी व्यवस्था र नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ ले तोकेको जग्गा सम्बन्धी व्यवस्था संशोधन नगरेसम्म नमुना विद्यालय लगायतका अवसरबाट विद्यालयहरु वञ्चित हुँदै जाने देखिन्छ ।

प्रकाशित: ८ असार २०७५ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App