८ वैशाख २०८१ शनिबार
समाज

मालपोत कर्मचारीले गरे अर्कैको नाममा जग्गा पास

कटारी मालपोत कार्यालय । तस्विरः महेश्वर

उदयपुर – सदरमुकाम त्रियुगा नगरपालिका ३ स्थित मोतिगडाको ७ कठ्ठा १९ धुर लोकमार्गको जग्गा व्यक्तिलाई बिक्री गरेको काण्ड मच्चिरहेका बेला उदयपुरकै पश्चिमी बजार कटारीस्थित मातपोत कार्यालयले एउटाको जग्गा अर्कैको नाममा रजिस्ट्रेशन पास गरिदिएको रहस्य खुलेको छ।

 जिल्लाको ताप्ली गाउँपालिका ५ रुपाटारका भक्तबहादुर ज्यूठकुरीको नामको १२ रोपनी ५ आना जग्गा किर्ते कागजात तयार गरी अर्को व्यक्तिको नाममा नामसारी भएको रहस्य दुई महिनापछि भर्खरै खुलेको हो ।

मालपोत कर्मचारीले मोटो रकम असुलेर जग्गाधनीलाई थाहै नदिई अर्को व्यक्तिको नाममा रजिस्ट्रेशन पास गरिदिएको रहस्य जग्गा धनी ठकुरीले ३ दिनअघि मात्र थाहा पाएका हुन् । आप्mनो जग्गा अर्कैको नाममा पास भएको हल्ला सुनेर सोधखोज गर्दै मालपोत कार्यालय पुगेका ठकुरीको जग्गा अरूको नाममा पास भएको देखेपछि उनी अचम्ममा परे ।

मालपोत पुग्दा आफ्नाे नामको सबै जग्गा अर्कैकोमा पाएपछि उनले ‘मेरो जग्गा हरायो’ भन्दै कर्मचारी र आफन्त गुहार्दै गरेको अवस्थामा उनी भेटिए । पुस्तौंदेखी भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा कसरी पुग्यो भनेर मालपोत कार्यालय आएका उनले आश्चर्यचकित हुँदै भने ‘हल्ला सुनेर हेर्न आएको साँच्चे मेरो जग्गा अर्कैको नाममा पो गईरहेको रहेछ ।’    

ताप्ली ५ रूपटारस्थित साविक रुपाटार कित्ता नम्वर ६÷घ २११, ९८, ३२०, ३२२, ३१८ र ४८ को ६ कित्ताको १२ रोपनी ५ आना जग्गा काठमाडौं महानगरपालिका ४ का प्रकाश सिंहठकुरी, प्रविणकुमार सिंह ठकुरी र हरिहर सिंह ठकुरीको नाममा पास भएको पाइएको छ । उनीहरू तत्कालीन पञ्चायत कालका जिल्ला पञ्चायत सभापति भक्तबहादुर सिंह ठकुरीका छोराहरू हुन् ।

उनै भक्तबहादुर सिंह ठकुरी र भक्तबहादुर सिंह ठकुरी एउटै व्यक्ति हो भन्ने सिफारिसको आधारमा मालपोतले उनको नामको जग्गा सिंह ठकुरी परिवारमा पास गरिदिएको खुलेको छ।बाजेको नाम नरबहादुर र सिंहको बाजेको नाम जंगबहादुर भन्ने व्यक्ति पनि एउटै हो भनी सिफारिस लिएर सिंहका छोराहरू प्रकाश, प्रवीण र हरिहर कुमारले ०७४ चैत २६ गते मालपोत कार्यलयबाट उनको जग्गा नामसारी गरी  लिएको पत्ता लागेको छ।

पीडितले आफ्नो जग्गा अर्को व्यक्तिको नाममा गएको थाहा पाएपछि मालपोतमा नामसारीमा संलग्न कागजपत्रको प्रतिलिपी माग गर्दा जग्गा फिर्ता गरिदिने आश्वासन पाएको बताए । ‘मेरो  जग्गा कसरी अर्काको नाममा गयो भनेर कागज माग्दा जग्गा फिर्ता दिने भनेका छन्’ उनले भने ‘मालपोतका हाकिमले हजुरको जग्गा हजुरकै नाममा फिर्ता गरिदिन्छौं भनेका छन्।’

जग्गा फिर्ता मात्र नभएर त्यस्तो कार्यमा संलग्न कर्मचारीलाई हदैसम्मको कानुनी कारवाही गर्नुपर्ने माग उनले गरेका छन् । सोमबार नै मालपोतमा निवेदन दिएर कारबाही माग गरे पनि कर्मचारीले हल्ला नगर्नू भन्दै थुम्थुम्याएको पीडितका आफन्त अर्जुन रास्कोटीले बताए । ‘जग्गा भक्तबहादुर ज्युको हो, उहाँ ज्युँदै हुनुहुन्छ’ रास्कोटीले भने ‘मृत्यु भईसकेका भक्तबहादुर सिंह ठकुरीको जग्गा भनेर छोराहरू प्रकाश, प्रवीण र हरिहरले किर्ते गरेर कर्मचारीको सहयोगमा जग्गा हडपेछन्।’

मालपोतका निमित्त प्रमुख शान्तिराम अर्यालले जग्गा नामसारी आवश्यक कागजातको आधारमा भएको दाबी गरे । नामसारी गर्न चाहिने काठमाडौं महानगरपालिका ४ वडा कार्यालयको सिफारिस, यहाँको वडा कार्यालयको सिफारिस सबै मिलेर जग्गा पास भएको उनले बताए । रिमालले कर्मचारीले पैसा लिएर पास गरिदिएको आरोप लाग्नु स्वभाविक भएको भन्दै जग्गा फिर्ता गरिदिने तयारी भईरहेको बताए।

‘भक्तबहादुर सिंह ठकुरी उदयपुरकै भए पनि लामो समयदेखि छोराहरू काठमाडौं बस्दै आएका रहेछन्’ उनले भने ‘बाउको सेखापछि उनको नाममा भएका जग्गाहरूको खोजी गर्दै जाने क्रममा भुलवंश यो जग्गा उनीहरूको नाममा पर्न गएको रहेछ ।’ अर्यालले जग्गा लिने सिंह र ज्यु परिवारबीच नजिकको नाता सम्बन्ध भएको पनि खुलेको भन्दै भोली नै आएर उनको जग्गा फिर्ता गरिदिन सिंह दाजुभाई सहमत भएको बताए । उनले कर्मचारी र आफुहरूबाट गल्ती भएको स्वीकार्दै माफीसमेत मागेका छन्।

 

प्रकाशित: ७ असार २०७५ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App