७ वैशाख २०८१ शुक्रबार
समाज

साउदीमा मृत्युदण्डको सजाय पाएका उमेश नेपाल फर्किने

जनकपुरधाम– पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीस्थित जेलमा रहेका नेपाली  नागरिक उमेश यादवलाई क्षमादान गराउने प्रयास सफलता नजिक पुगेकोे छ। पीडित परिवारले क्षतिपुर्ति (ब्लडमनि) बुझ्ने प्रक्रियाको टुंगो लागेसँगै उमेशलाई सुरक्षित स्वदेशफिर्तिको बाटो खुलेको हो। 

करिब १२ वर्ष अगाडि धनुषाको कमला नगरपालिकास्थित पर्सा निवासी उमेश र पाकिस्तानी नागरिक मोहम्मद लतिफ वशीरबीच साउदीमा समान्य विवाद भएको थियो। वैदेशिक रोजगारको सिलसिलामा त्यहाँ पुगेका दुवैबीच समान्य विवाद भएको र झडपका क्रममा वशीरलाई चोट लागेर घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ। घटनालगत्तै प्रहरीको नियन्त्रणमा परेका उमेशलाई करिब दुई महिना अगाडि स्थानीय अदालतले घाँटी काटेर १० घण्टा झुण्ड्याउने (मृत्युदण्ड) सजाय सुनाएको थियो। 

साउदीको कानुन अनुसार मृत्युदण्डको सजाय पाएका उमेशलाई एक महिनासम्म अदालतको फैसलाबारे पुनर्विचार गराउन सक्ने समय दिइएको थियो। सोही अवधीभित्र युवा अभियन्ता सरोज रायले पाकिस्तान पुगेर पीडित परिवारसँग उमेशलाई क्षमादान गर्न सकिने आशयको जवाफ नेपाली दूतावासमार्फत साउदी अदालतलाई बुझाए। उक्त पत्रको आधारमा सुरु भएको क्षमादान प्रक्रिया अन्तिम चरणमा पुगेको रायले बताए। 

रायका अनुसार वशीरको मृत्यु भएको डेढ वर्ष नपुग्दै उनकी पत्नी अर्को विवाह गरेर घरजम बसालेकी छिन्। वशीरका आमाबाबु पहिले नै बितिसकेका थिए। वशीरकी पत्नीले निकाह गरेको कागजात दिएपछिमात्र प्रक्रिया अघि बढ्ने कानुनी जटिलता थियो। उक्त समस्याको समाधान खोज्न राय पुनः पाकिस्तान पुगेका छन्। उनले त्यहाँ वशीरपत्नीलाई भेटेर अर्को विवाह गरिसकेको भनि स्थानीय भाषा अनुसार निकाह पत्र लेख्न लगाएका छन्। सोही पत्रको आधारमा वशीरका पाँच दाजुभाईले संयुक्त रुपमा क्षमादान पत्र लेख्ने र ब्लडमनि बुझ्ने सहमति भएको रायले फोनमार्फत जानकारी दिए। उनका अनुसार यो कुरो मिलेसँगै उमेशलाई बचाउन सहज भएको छ।

स्रोतका अनुसार उमेशलाई साउदी अदालतले ‘हरापा’ सम्बन्धी कानुन लगाएर मृत्युदण्डको सजाय तोकेको छ। अदालतले अन्तिम फैसला सुनाउनु अघिसम्म पीडित परिवार सम्पर्कमा नआएको कारण उक्त कानुनको प्रयोग गरिएको हो। ढिलै भएपनि पीडित परिवार अदालतको सम्पर्कमा पुगेपछि ‘किसास’ भन्ने नियम तहत आममाफीको बाटोमा लगिने छ। हराफामा क्षमादानपत्रको कुनै महत्व नरहने हुँदा किसासमा लगेर मुद्दा टुंग्याउन नेपाली दूतावासको तर्फबाट पहल भइरहेको रायले जानकारी दिए। उनका अनुसार मुस्लिम मुलुकमा रमजानको कारण सरकारी कार्य अवरुद्ध भएको तर, अब पीडित परिवारको तर्फबाट आवश्यक सम्पूर्ण कागजात अदालतमा पुगेको केही दिनमै उमेशलाई रिहा गरिने उनले बताए। 

यसैबीच, उमेशलाई सजायमुक्त गराउन ब्लडमनिवापत ७० लाख रुपैयाँ माग भएको भन्ने निराधार समाचार र चन्दावापत संकलित रकमको दुरुपयोग सम्बन्धी आरोपलाई पाकिस्तानस्थित नेपाली दूतावासले खण्डन गरेको छ। दूतावासले विज्ञप्ती जारी गर्दै पहल नेपालका संयोजक रायमार्फत आएको ३० लाख रुपैयाँ दूतावासको खातामा रहेको र उपयुक्त समयमा पीडित परिवारलाई जिम्मा लगाइने जनाएको छ। 

‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पीडित पाकिस्तानी परिवारले ब्लडमनिवापत ७० लाख रुपैयाँ मागेको भन्ने भ्रामक सामाचारले पीडित परिवारलाई चोट पु-याएको र उमेशको रिहाइकालागि देखाइएको मानवीयताका सम्बन्धमा प्रश्न उठाइएको भनि पीडित परिवारका सदस्य नुर नवीले दूतावासमा पेश गरेको गुनासोलाई सम्बोधन गर्न यो विज्ञप्ती जारी गरिएको छ’, इस्लामावादस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। त्यस्तै, ब्लडमनिवापतको रकम दूतावासको खातामा सुरक्षित रहेको पनि जनाइएको छ।   

प्रकाशित: ४ असार २०७५ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App